बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

धौनिढोका अभियान्त केसी साइकल यात्रामा पुगे म्याग्दी

धौनिढोका अभियान्त केसी साइकल यात्रामा पुगे म्याग्दी


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७९, शनिबार

बागलुङ, ८ असोज – पर्यटन अभियन्ता सगरमाथा आरोही कृष्ण केसीले बिहीबार पोखराबाट सुरु गरेको धौलागिरी निलगिरी कालीगण्डकी (धौनिढोका) साहसिक साईकल अभियान कास्की, पर्वत, बागलुङ हुँदै आज म्याग्दी पुगेको छ । केसीले असोज ११ गते पर्ने ४२ औं विश्व पर्यटन दिवसको सन्दर्भ पारेर धौलागिरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले यो अभियान सुरु गरेका हुन् । धौलागिरी, नीलगिरी, ढोरपाटन र कालीगण्डकी अर्थात् धौनिढोकालाई जोड्ने गरी धौलागिरी वातावरणमैत्री पर्यटकीय चक्रपथ बनाउने उद्देश्यले अभियान थालिएको केसीले वताए ।

केसीले बिहीबार पोखरा ३१ बेगनास तालदेखि ढोरपाटनसम्म साइकल यात्राको सुरुवात गरेका हुन् । केसीलाई बागलुङ समाज पोखराले एक कार्यक्रम गरी शुभकामनासहित बेगनासतालबाट बिदाइ गरेको थियो । पर्यटन प्रवद्र्धनका लागि सगरमाथा आरोहण गरिसकेका केसी लोलुफेरा अभियानका समेत अभियन्ता हुन् ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले केसीको प्रशंसा गर्दै अभियानलाई शुभकामना दिएका थिए। उनले भने, ‘उहाँ आँट गरेपछि काम गर्ने कर्मठ मान्छे हो । पर्यटन प्रवद्र्धन गर्ने हो भने यो क्षेत्रका सबै सम्पदाको विकास जरुरी छ ।’ व्यक्तिको प्रयासले मात्र विकास सम्भव नहुने भएकाले सकारात्मक पहलहरुलाई स्वागत गर्दै सबै तहका सरकारले एकीकृत रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री खगराज अधिकारीले बेगनासताल, बराह क्षेत्रको विकास गर्दै जानुपर्ने बताए । उनले पर्यटनको विकास कुनै खास क्षेत्रमा मात्र भएर नपुग्ने भएकाले सबै क्षेत्र, सरकार र सरोकारवालाको प्रयास जरुरी हुनेमा जोड दिए ।
समारोहमा पर्यटन अभियन्ता केसीले पर्यटन प्रवद्र्धन आफू निरन्तर लागिरहेको बताए । यस्तो कार्यक्रम र सरोकारवालाको चासोले आफूलाई थप उत्साह मिलेको उल्लेख गरे । उनले धौलागिरी वातावरणमैत्री पर्यटकीय चक्रपथ बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।

बागलुङ समाजका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष कुलचन्द्र शर्मा, निवर्तमान अध्यक्ष सुनिल पाँण्डे, पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेल लगायतले केसीलाई नेपालको राष्ट्रिय झन्डा, बागलुङ समाजको लोगो अंकित टिसर्ट हस्तान्तरण गर्दै बिदाइ गरेका थिए । केसीले म्याग्दीको दरवाङहुँदै ढोरपाटन पुग्ने वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->