बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दशैँको वेलामा पहिरोबाट घर जोगाउने चिन्ता

दशैँको वेलामा पहिरोबाट घर जोगाउने चिन्ता


  • संजय रेग्मी
  • असोज २१ २०७९, शुक्रबार

पर्वत/‘टीका लगाएर रमाएर बस्नुपर्ने वेलामा पानीले यहाँबाट उठीबास नै बनाउँछ कि जस्तो भयो। यसपालि दशैँ होइनु दशा आएको रहेछ,’ जिल्लाको बिहादी गाउँपालिका–५ उरामकी धनकुमारी थापाले भनिन्, ‘गाउँलेहरू मिलेर अहिलेसम्म घर त जोगाइदिए, अझ केके हुने हो निधो छैन ।’

लगातारको वर्षाको कारण थापाको घर पछाडिबाट पहिरो झरेर घरलाई क्षति बनाउने अवस्था थियो । चाडबाडको बेला भएका कारण छिमेकीहरू पनि एकै ठाउँमा रहेका कारण उनको घरमा यो समाचार तयार पार्दासम्म क्षति हुन भने पाएको छैन । दशैँको दिनमा दिनभर वर्षा भएका कारण दसैँको भोलिपल्ट टीका थाप्न आफन्त आउने प्रतीक्षामा बसेको थापा परिवारमा एकाएक भागाभाग भयो । पछि घर पछाडिबाट बग्दै आएको लेदो र पहिरो तत्कालै गाउँलेले पन्छाए ।

उरामकै बगालेस्थित मुक्तिप्रसाद भट्टराईको घरको आँगन नजिकैबाट जमिन भासिएर जाँदा उनको घर उच्च जोखिममा परेको छ । उरामकै गोराङस्थित नारायण काफ्लेको घर पछाडि पनि ठूलो पहिरो खसेको छ। स्थानीयको सहयोगमा पहिरो पन्छाएर तत्कालका लागि घरलाई खतरामुक्त गरिएको छ ।

गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बास नै उठाउने अवस्था आएपछि दशैँको खुसीमा रमाएकाहरू एकाएक पिरमा परेको गाउँपालिकाकी उपाध्यक्ष मिना शर्मा तिवारीले बताइन् । पहिरोको समस्या भएका र जोखिममा परेका घरहरूमा पुगेर नागरिकलाई सुरक्षित राख्ने प्रयासमा जुटेको उनको भनाइ छ ।

यता फलेवास नगरपालिकाका विभिन्न स्थानमा पनि पहिरोका कारण कतिपय घरका भित्ताहरू भत्किनुका साथै कतिपय घर उच्च जोखिममा रहेका नरपालकाकी उपप्रमुख शोभा क्षेत्रीले बताइन् । चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण नगरपालिकाका विभिन्न स्थानमा क्षति भएको र सकेसम्मका ठाउँमा अवलोकन गरेको भए पनि सबै ठाउँमा पुग्न नसकेको बताइन् ।

‘अहिलेको दशैँको टीका राम्रोसँग लगाउन पनि दिएन झरीले । धेरै ठाउँमा जमिनामा भ्वाङ परेर पक्की र सामान्य दुवै खालका घरमा क्षति भएको छ । कतिपय घरका भित्ता नै भत्किएका छन् । पहिरोले घरमा हानेको छ,’ उनले भनिन्, ‘अझै पनि वर्षा नरोकिएका कारण यो ठाउँमा यतिको क्षति भएको छ । यो ठाउँमा यति घर पहिरोको जोखिममा रहेका छन् भन्ने यकिन कुरा आइसकेको छैन। तर सकेसम्म पालिकाभर नै पुग्ने प्रयास गरिरहेकी छु ।’

जिल्लाका अन्य स्थानीय तहहरूमा पनि पहिरोका कारण घर गोठमा क्षति भएको छ । ग्रामीण क्षेत्रबाट सदरमुकाम जोड्ने सडक अवरुद्ध भएका छन् भने उत्पादनयोग्य जमिनमा पहिरो गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->