
मानिसलाई वर्तमानमा बाँच्न सिकाउने एउटा कला यात्रा हो । यात्राले ब्यक्तिलाई सामाजिकिकरण गर्न सहयोग गर्दछ । विश्ववन्धुत्वको भाव सिकाउँदछ । ओइलिएका मनहरु फक्राउँदै लुकेका सँस्कृतिको उजागर गर्दछ । यात्रा पर्यटन पर्वद्धनसँगमात्र नभएर ब्यक्तिको सोच,सभ्यता र उद्विकाससँग पनि जोडिएको हुन्छ । जिवन आफैमा एउटा यात्रा हो र यात्रा सिकाइको पाठशाला । हरेक यात्राहरुमा अनौठा अनुभवहरु जोडिएका हुन्छन् । विर्सनै नसकिने पलहरु गाँसिएका हुन्छन् । त्यसैले त यात्राहरु आँफैमा अद्भूत र अलौकिक हुन्छन् । जिन्दगी र यात्राको सामिप्यता बडो गज्जबको हुन्छ । प्राकृतिक सौन्दर्यतासँग लडिबुडी खेल्नुको मज्जै बेग्लै हुन्छ ।
लामो समयको शैक्षिक भ्याकेसनलाई उपलब्धिमुलक बनाउनु थियो त्यसैले हामीहरु कास्की जिल्लाको सिकलेस जाने निर्णय गरेका थियौँ । प्रकृतिको अनुपम उपहारसँग खेल्दै, नयाँ सँस्कृतिको खोजी गर्ने, लुकेको समाज र सभ्यताको अध्ययन गर्ने हाम्रो यात्राको उद्देश्य थियो ।

सोमवारको बिहान । नेपाली पात्रो अनुसार विक्रम सम्वत २०७९ असोज २४ गते । मेरो घर अगाडी शिवधारा चोक विहान ८ बजे टेक्सी आएर टक्क अगाडी रोकियो । साथी विक्रमले टेक्सीको चाँजोपाँजो मिलाइसकेको रहेछ । शिव,विक्रम निशान र म टेक्सी चढ्यौँ र पोखरातिर सुइकियौँ । काँडे पुगेर चिया खायौँ । कास्कीको काउखोला पुगेर ओर्लदा बिहानको ११ बजेको थियो । टेक्सीलाई बाइबाइ गर्दै नजिकैको किराना पसल छि¥यौँ र केही ड्राइ फुड किन्यौँ । झोला प्याक गर्नु अगाडी विक्रमले सामान्य मेडिसिन किनिसकेको थियो । सबै झोलाहरु जिपको छतमा बाँधेर त्रिपालले ढाकियो र सिकलेस तिर लागियो । अविरल वग्दै थियो काउखोला । बाटोमा जिप आफ्नै गतिमा थियो । मेरा आँखा हरियाली जंगल र त्यसको बिचबिचमा रहेका सुन्दर वस्तितिर केन्द्रित थिए ।
काउखोलाबाट उत्तरतिर लागेको आधा घण्टा नबित्दै वादलले प्रकृतिको सुन्दरतालाई कुरुप बनाइदिएको थियो । मौसम पूर्वानुमान शाखाले गराएको सूचना अनुसार केही समय पछि बादल फार्ने विश्वास थियो । वादलसँगै सामान्य झरी परिरहेको थियो । डोजरे विकासले खनेका गाउँतिरका बाटाहरु,त्यसमा पनि रातो माटो भएकोले बाटो चिप्लो थियो तर ड्राइभरले गाडीलाई कतै चिप्लन दिएनन् । हल्लिदै र ढल्किदै हाम्रो यात्रा निरन्तर अगाडी बढीरहेको थियो।

ड्राइभर सहित हामी गाडीमा १० जना थियौँ । केहीबेरको मौनता पछि मेरो आडमा बसेको एक युवासँग कुराकानीको सुरुवात म आँफैले गरेँ र हाम्रो यात्राको उद्देश्यको बारेमा बताएँ । सिकलेसका स्थानिय युवा ललित गुरुङ कोरी डाँडामा सानो होटल ब्यबसाय संचालन गर्दै रहेछन् । हाम्रो यात्रालाई सहजिकरण गर्ने उनको नम्रताले हामी निर्धक्क थियौँ भने उनले कोरी डाँडाको लागि गरेको निमन्त्रणा र न्यानो आतिथ्यताको आश्वासनले हामीलाई थप कौतुहल बनाइरहेको थियो । उनी कोरी डाँडा जाने तरखरमा थिए । हामी हुगु हुँदै कापुचे जाने या कोरी जाने अन्यौलमा थियौँ ।
यात्रा निरन्तर थियो । हामी गफमा मस्त थियौँ । हाम्रा गफहरु सुनेर सहयात्रीहरुको मुस्कान छचल्किरहेको थियो । आँखाहरुले सामिप्यता खोजिरहेका थिए । सिक्लेसका वार्ड अध्यक्ष देवीजङ गुरुङ र वार्ड सचिव हामी सँगै हुनुहुन्थ्यो । सरकारले नागरिकता दिने उमेर, नावालिक उमेर र विवाह दर्ताको उमेरमा स्पष्ट कानुन निर्माण गर्न नसक्दा जनप्रतिनिधिले झेल्नुपरेको असहज परिस्थितिको अनुभव हामीलाई वार्ड अध्यक्षले शेयर गर्नुभएको थियो । आफुलाई फेमिनिष्ट भन्न रुचाउने मित्र निशानका नारीवादी तर्कहरुलाई आत्मसाथ गर्दै हामीहरु सेक्स र बलत्कारको बारेमा समाज, कानुन र ब्यक्ति स्पष्ट हुनुपर्ने निष्कर्षमा पुगेका थियौ । उक्त बहस निकै रोचक र सान्दर्भिक थियो ।
झण्डै २ घण्टाको यात्रा पछि हामी चिप्ली पुग्यौँ । दिउँसोको १ बजिसकेको थियो । सुन्दर संरचना सहित व्यवस्थित रुपले होटल संचालन गरिएको रहेछ । रेन्वो ट्राउट माछाको सुपसँग खाना खायौँ र यात्रालाई निरन्तरता दियौँ ।

झण्डै ४ घण्टाको यात्रा पछि पोखराबाट ४२ कि.मि. टाढा रहेको सिकलेस नजिक पुग्यौँ । बगैँचाका फुलहरुझैँ ढकमक्क फुलेको गुरुङ वस्तिको प्रवेशद्धारमा लेखिएको थियो,मादी गाउँपालिका वडा नम्वर १ सिकलेसमा यहाँहरुलाई हार्दिक स्वागत छ । प्रवेशद्धार नजिकै गाडी रोक्यौँ र सामूहिक फोटा खिच्यौँ । पारी देखिने ताङतिङ गाउँले हामीलाई हेरेर हाँसिरहेको थियो । सिकलेस पुगेर ओर्लदा दिउँसोको ४ बजेको थियो । वार्ड अध्यक्ष,वार्ड सचिव लगायत साथीहरुसङ्ग विदा भयौँ र ललित गुरुङको पछि लाग्यौँ । गुरुङले हामीलाई आइसल्यान्ड होमस्टे लगे । कोठामा झोलालाई थन्काइ नसक्दै कालो चियाले आमाले स्वागत गर्नुभएको थियो । मनमा कौतुहलता थियो । उक्त कौतुहलता मेट्न लाग्यौँ गुरुङ वस्तीतिर।
मादी गाउँपालिका वडा नम्वर १, सिकलेस, गुरुङहरुको वाहुल्यता रहेको बाक्लो वस्ति रहेछ । घरसंग घर जोडिएको, मनसंग मन जोडिएको । सुन्दर वस्ति, जहाँ गुरुङहरुको आफ्नै भाषा थियो । आफ्नै संस्कृति थियो । आफ्नै चालचलन र रितिरिवाज थियो । एकिकृत वस्ति भएकोले वाक्लो जनसंख्या । विकास निर्माणका काम गर्न निकै सजिलो । पशुपालन र कृषि त्यहाँको मुख्य उत्पादन । बैँक तथा वित्तिय सँस्थाको पहँुच पुगिसकेको रहेछ । वाड अध्यक्षले बताए अनुसार शसस्त्र जनयुद्धकालमा माओवादीलाई पालेको वस्ति । शान्तिको शुरुवात भएको शान्ति दिप अवलोकन ग¥यौँ । गुरुङहरुको स्तुपा दर्शन गरियो । सिस्नोको पुवाबाट धागो तान्दै गरेको र भाङ्रो बुन्दै गरेको देख्यौँ । उक्त भाङ्रो गुरुङहरुको चाडपर्वमा अनिवार्य लगाउनुपर्ने सँस्कार रहेछ । त्यो महङ्गो पनि पर्दो रहेछ । मेहनत अनुसारको मूल्य । वस्तिको बिचमा भ्यू—टावर बनाइएको रहेछ । उक्त टावरबाट गाउँलाई नियालेर हेर्दा निकै मज्जा लाग्यो । केहिवेरको घुमाइ पछि होमस्टे फर्कियौँ ।
साँझ सम्म मौसम खुली सकेको थियो । ललित भाइले कुखुराको भाले मुन्टाए । २ केजीको रहेछ । आमाले बाँसको ठेकोमा मोइ पार्दै थिइन् । हामी अगेनाको डिलमा कम्मल ओच्छाएर आगो ताप्दै थियौँ । कोही दुध खाँदै कोही दारु खाँदै निकै मिठा गफ ग¥यौँ । यो दुध र दारुको कम्बिनेसन कस्तो अचम्मको ? कापुचे जाने भनेर हिडेको हामी कोरी डाँडा जाने निर्णयमा पुग्यौँ र बिहान सबेरै उठ्ने प्रतिवद्धताका साथ निद्रादेविको काखमा पुग्यौँ ।

भोलिपल्ट बिहान कोरीको बाटो पछ्याउँदै हामी ओरालो झ¥यौँ र झण्डै १ घण्टाको ओरालो पछि हामी सिकलेस हाइड्रो पावर पुग्यौँ,जहाँ मादिको दोभान थियो । झण्डै ४ घण्टाको उकालो सामना गरेपछि हामी तस भन्ने ठाउँ पुग्यौँ । हाम्रो वास त्यही हुनेवाला थियो । निगालो बाँसको चुयाले बुनेको मान्द्रोले छाएको छाना र काठले बारेको घना जङ्गलको बिचमा एउटा मात्र होटल थियो । दिउँसोकोे ४ बजे पुगेको त्यस दिन र रात हामीले गर्नु सम्म रमाइलो गरिएछ ।
मान्छे सामाजिक प्राणी हो । स्वभावैले उ राजनीतिक प्राणी पनि हो । राजनीतिबाट अलग हुनै नसकिने । प्रकृतिको सौन्दर्यतामा रमाउन हिडेको हामी । खोला, नाला, वन, जङ्गल हिमाल र पहाडका काखमा खेल्न हिडेको हामी तर राजनीतिले हामीलाई पछ्याइरहेको थियो । चुनावको बेला भएर पनि होला साथिहरुलाई एक पछि एक कल आइरहेका थिए । पछिल्लो समय राजनीतिक नेतृत्वले गरेको विचारको बेइमानी र सत्ता टिकाउनकै लागि गरिएको हर्कतप्रति निकै वितृष्णा थियो । वहसले राजनीतिक मोड लिन पुगेछ ।
नेपालमा विचारको राजनीति सकिएकै हो ? मैले कुराकानिको पोयो बाटेँ । नेताहरुले जनता ढाँट्ने काममात्र गरेर हामी माथी ठुलो बेइमानी गरेका छन् । शिवले कुराको चुरो समातेर बहसमा सहभागी भए । नेतृत्वको अहंकारले लोकतान्त्रिक सँस्कारका पर्खालहरु भत्काइदिएको छ । राजनीतिक दलहरुको वैचारिक स्खलनले मुलुक दुर्घटनामा जाने त होइन ? थोरै भावुक हुँदै निशानले थपे । राजनीतिक दलहरुले स्पष्ट विचार दिन सकेनन् भने मुलुक प्रतिगमनको शिकार बन्ने कुरामा दुई मत रहेन । विचारको बहस खै ? विक्रमको यो प्रश्नले हामीलाई झस्कायो ।

प्रसङ्ग बाम लोकतान्त्रिक गठवन्धनका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालसंग जोडियो । मैले बहसलाई थप लम्याउन खोजेँ । भुसाल ब्यक्ति मात्र होइन एउटा विचार पनि हो । संसदिय राजनीतिक व्यवस्था र पुजीवादको चरित्रलाई वस्तुगत विश्लेषण गर्दै समाजवादी यात्राको स्पष्ट रोडम्याप दिन सक्ने । माक्र्सवादको सही ब्याख्या मात्र होइन समाज सामाजिक व्यवस्था, उत्पादन सम्वन्ध, राष्ट्रिय पुजीको संकलन र परिचालनको लागि नीति निर्माण गर्दै त्यहाँ सम्म पुग्ने खुड्किलाको खोजि गर्ने र नीतिमा भन्दा बढी कार्यक्रममा समस्या देख्ने कम्युनिष्ट आन्दोलनका एउटा बौद्धिक नक्षेत्र घनश्याम भुसालको बैचारिक योगदानलाई पार्टीले किन कदर गर्न सकेन ? के उनको विचार अब, सत्ता केन्द्रित भएकै हो ? माओवादीको प्रचण्डपथ र काङ्ग्रेसको प्रजातान्त्रिक समाजवादको फ्युजन हुँदै हाइव्रिडको रुपमा उदियमान हुन खोजेको भुसालको राजनीतिक निर्णयले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला? मुलुकको लागि यो आवश्यकता हो या उम्मेदवारको सत्ता प्रतिको आशक्ति? नेपालमा आशालाग्दा वैचारिक नेतृत्वहरु किन यसरी पतन हुँदै गइरहेका छन् ? यो विचारको बहसले हाम्रो धेरै समय खाइदिएछ । होटलका भाइले खाना खान डाके । खाना खायौँ र सुत्यौँ ।
भोलीपल्ट विहानै हामी तसबाट कोरी तर्फ लाग्यौँ । अर्को २ टिम पनि हामी सँग जोडियो । हामी जति माथि लाग्थ्यौँ उति चिसो बढिरहेको थियो । केहिबेरको उकालो पछि सिढीहरु मानिसले बनाएको भन्दा पनि पानी बगेर आफ्नो बाटो आफै बनाएजस्तो देखिन्थ्यो । जुकाको आक्रमण बाट मित्र निशान बढि चिन्तित थिए । विक्रम, शिव र मलाई जुका त्यति चिन्ताको विषय बनेन । च्याप्प समात्दै फाल्दै गरियो । उकालोमा लट्ठि एउटा खुट्टा सरह हुदो रहेछ । त्यसैले हामीलाई गन्तव्यमा पु¥यायो ।

झण्डै ६ घण्टाको निरन्तर उकालो पछि हामी अल्पाइन फोरेष्ट पुग्यौँ । जहाँ वोट विरुवाको कमी थियो । पाखाहरु नाङ्गै देखिन्थे । समुन्द्र सतहबाट ३८५० मिटर उचाइमा रहेको कोरी डाँडा पुग्न हामीलाई निकै सकस प¥यो । हामी थकित थियौँ । कोरी डाँडा पनि थाकेको जस्तो लाग्यो । वादलको घुम्टो ओढेर बसेको । एक छिन मन खिन्न भयो । आजको वास यहिँ विताउनु छ । भरे भोली सम्म मौसम खुल्ने आशामा होटल भित्र पस्यौँ र कालो चिया खायौँ । अगेनाको माथी भेडाको सुकटी झुण्डाएको रहेछ होटलको भाई नविन गुरुङलाई सुकुटी बनाउन लगायौँ र मज्जाले खायौँ ।
बिस्तारै मौसम खुल्दै गयो । निलो आकाश । जुनेली रात । जुन हाम्रै टाउका माथी थियो । जुनको प्रकाशले माछापुच्छ«े हिमाल मन्द गतिमा मुस्कुराइरहेको थियो । लमजुङ हिमाल हाँसेको झन मन प¥यो । अन्य हिमालहरुको चम्किलो आभाले कोरी डाँडा शान्त र सौम्य देखिन्थ्यो । दक्षिण्ीा भेगमा तिहार तिर जिम फालेको बेला देखिने जस्तै झिलिमिलि पोखरा बजार अत्यन्तै रमणीय लाग्यो । रात्री सिनहरु मोवाइलमा कैद गरियो र खाना खाइवरी टेन्ट मूनी सिलिपिङ ब्यागभित्र छिरियो । खुला आकाश हेर्न हिडेको हामी त्यो सिलिपिङ भित्र सुत्न निकै सकस भयो । निशान र म एक छिन बाहिर निस्केर चिसो हावा खाँदै थियौँ कुकुरले पुच्छुर हल्लाउदै गरेको आत्मिएता वडो गज्जवको लाग्यो । मानविय विकासक्रमको पहिलो जनावर कुकुर एक्लोपनाको साथी पनि हो । यहि भन्दै पुन ब्याग भित्र छिरियो ।
बिहान ५ः ३० को आलारामसंगै उठियो । सुर्योदयको समय थियो । जग्गाको भुवनोटले गर्दा घाम पनि उत्तर तिरबाट उदाए झैँ लाग्ने । सुर्यका किरणहरुले हिमाललाई चुम्वन गर्दै गए, हाम्रो मन पनि उजेलो हुँदै गयो । हिमालको आभाले अनुहारमा कान्ति छाएझैँ लाग्यो । सानो पाटन लटरम्म फुलेको फुल र हिमालको काखमा रहेको कोरी डाँडा निकै अद्भूत र अलौकिक लाग्यो । आँखामा मात्र नभएर मित्र निशानको आइफोनमा समेत धेरै तस्विरहरु कैद गरियो ।

कोरी डाँडा यो त्यति चलन चल्तिमा आएको पर्यटकिय स्थल होइन र यो भर्जिन ट्रेक पनि होइन । आज भोली धेरै युगल जोडीहरुको गन्तव्य बन्दै गएको छ भन्ने कुरा हामी सङ्गै गएका २÷३ जोडी प्रेमका प्रतिकहरुले पुष्टि गरेका थिए । बिहानको खाना सवेरै खायौँ र ओरालो लाग्यौँ । २ दिनको उकालो १ दिनमा झर्ने योजना थियो । करिब ९ घण्टा हिडेर सिकलेस आइ वास वस्यौँ र त्यसको भोलीपल्ट पोखरा हुदै बागलुङ आयौँ र यात्रा सिध्यायौँ ।
यो यात्राले हामीलाई धेरै कुरा सिकाएको छ । सिकलेस गुरुङ आमाले दिएको भैसिको मोही हामीले सँधै सम्झने छौँ । तस पुग्दा हामीलाई स्वागत गर्न आएका भोटे कुकुरलाई हामीले निकै मिस गरेका छौँ । व्यवसाय सँगै पदयात्रीको कठिनतासँग जोडिएर सेवा गर्ने युवा ललित गुरुङ र भाइ नविन गुरुङलाई धन्यवाद । कोरी डाडामा यात्री कुरेर वसेका व्यवसायीहरुको होटल कहिल्यै रित्तो नहोस् । सिकलेस वाड अध्यक्षले गर्नुभएको डिजिटल प्येमेन्ट टु क्यास प्रतिको सहयोगले निकै आभारी छौँ । कोरी डाँडा प्रकृतिको अनुपम नमूना हो । प्रकृतिको सौन्दर्यतामा रमाउन चाहने साथीहरुलाई कोरी डाँडा एकचोटी पुग्न अनुरोध गर्दै यात्रा अवधिभर मिठो साथ र न्यानो माया प्रदान गर्ने मित्रहरु निशान, विक्रम र शिवलाई धन्यवाद ।





