बागलुङ/नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ बागलुङले कात्तिक १ गतेदेखि भएको बैंक ओभरड्राफसम्बन्धी नीति, बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर सच्याउन र महंगी नियन्त्रण गर्न माग गरेको छ । बुधबार बागलुङ बजारमा पत्रकार सम्मेलन गर्दै महासंघले व्यवसायीको ढाड सेक्ने र उपभोक्तालाई मुल्य बृद्धिको मार पर्नेगरी आएका नीतिहरुमा पुनर्विचार गर्न सरकारसँग माग गरेको हो ।
कोरोना महामारीका कारण थलिएर भर्खरै तंग्रिन लागेका व्यवसायीमाथि बिभिन्न बहानामा मार पर्नेगरी नीति ल्याइएको व्यवसायीको आरोप छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर वृद्धि गरेपछि महासंघले आपत्ति जनाउँदै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
महासंघले ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्ने, स्थानीय तथा संघीय सरकारले राहत र कर छुटका कार्यक्रम ल्याउनुपर्ने लगायतका माग राख्दै संघर्षका कार्यक्रम गर्ने निर्णयमा पुगेको अध्यक्ष भवनराज बरालले बताए । आन्दोलनअन्र्तगत पहिलो चरणमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
बिहिबार ज्ञापनपत्र बुझाउने र माग सुनुवाई नभए चरण्बद्ध संघर्षका कार्यक्रम गर्ने बरालले बताए । ‘राहत आउला भनेको आहात हुनेखालको नीति पो आयो’, बरालले भने ‘यसले ठूला व्यवसायीको संरक्षण र साना तथा मझौला व्यवसायीको घाँटी निमेठ्ने काम गरेको छ ।’ सरकारी नीति र बैंक तथा वित्तीय संस्थाको गतिविधिकै कारण व्यवसाय पलायन हुने अवस्थामा पुगेको महासंघको ठहर छ ।





