बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

व्यवसायी मार्ने नीति फिर्ता गरः बागलुङ उद्योग वाणिज्य

व्यवसायी मार्ने नीति फिर्ता गरः बागलुङ उद्योग वाणिज्य


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७९, शुक्रबार

बागलुङ /  नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति र त्यसपछि आएको चालु पूँजीसम्बन्धी मार्गदर्शन व्यवसायी मार्ने नीति भएको बागलुङका व्यवासयीले बताएका छन् । बागलुङ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनमार्फत् कोभिडबाट तहसनहस भएको व्यवसायलाई नेपाल राष्ट्र बैकले ल्याएको नीतिले थप संकटमा परेको बताएका हुन् ।

चालु पूँजी मार्ग निर्देशन २०७९ लाई आधार बनाएर नेपालका बैंक तथा वित्तीय संस्थाले पटक–पटक ब्याजदर बढाउने काम गर्दा व्यवसायी मारमा परेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले जिकिर गरे । किस्ताबन्दी रुपमा सेवा शुल्क लिएर कर्जा नवीकरण गराउने, कर्जा नवीकरणको अवधिलाई त्रैमासिक बनाएर पटक–पटक शुल्क असुल गर्ने तथा बाहिर आकर्षण देखाएर निक्षेप संकलन गर्ने तर कर्जा लगानी नै नगर्ने चाल गरेको व्यवसायीले टिप्पणी गरेका हुन् ।

ऋणीको जग्गा वा सम्पत्ति बैंकले धितो सुरक्षण गर्दा पूर्वमूल्यांकन रकमलाई एक्कासी अवमूल्यन गरिएको पनि व्यवसायीको गुनासो छ । ‘पहिला ५ करोड मूल्यांकन भएको धितो अहिले १ करोड पनि गरिंदैन’, महासचिव ऋषिराम गौतमले भने,‘व्यवसायीले गरेको लगानी डुब्दा साथ दिनुपर्ने बैंकहरु त्यहीबेला दुःख दिने गरी आएका छन् ।’

कर्जा भुक्तानकी लागि थर्काउने, तर्साउने र मनोमानी जरिवाना तोक्ने प्रवृत्तिले देशभरका लाखौं व्यवसायी धरासायी बन्ने उनीहरुले बताए । बैंक तथा वित्तीय संस्थाको कुल कर्जाको ८० प्रतिशत देशभरका ५० जना व्यपारीको हातमा रहेकोले साना तथा मझौला व्यापारी सबैभन्दा बढी समस्यामा परेको उनीहरुले बताए ।

‘अहिले १० लाख ऋण लिएर व्यवसाय गर्नेलाई पनि दिइएको छैन’, संघका सदस्य महेन्द्र शर्माले भने, ‘नियोजित रुपमा बैंकले नाफा मात्रै कमाउने, व्यवसायीलाई मार्ने र माथि उठ्नै नदिने नीति बन्दा पनि सरकार मुकदर्शक बनेको छ ।’ व्यवसायीले तत्काल बैंकको नीति सच्चिनुपर्ने माग गरेको हो । त्यसकालागि व्यवसायीले गण्डकी प्रदेशस्तरीय छलफल राखेको बताए ।

शुरुवातमा कुनै उद्योग वाणिज्य संघ वा व्यापारीले गरेको देखिए पनि देशभरको समस्या भएको भन्दै राज्यको ध्यानाकर्षण गराउन उनीहरुले माग गरे । कुनै व्यक्तीले बढी व्याज लिएमा मिटर व्याजी भनेर कारवाही गर्ने सरकारले १८ देखि २४ प्रतिशतसम्म व्याज लिने बैंकलाइृ कालो सूचिमा राख्न नसकेको भन्दै व्यवसायीले सरकार बढी जिम्मेवार नबनेमा व्यवसायीहरु पेशाबाट पलायन हुने पनि चेतावनी दिए । कतिपय साना तथा मझौला व्यापारीले पेशा छाडिसकेको उनीहरुले सुनाए ।

कोरोना संक्रमण र लामो समय भएको लकडाउन, रुस युक्रेन युद्द लगायतका कारणले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि तथा नेपालको निर्यात नहुन्ुले पनि यो परिस्थिति सिर्जना भएको कतिपयको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->