पोखरा/ बुद्ध एयरले पोखराबाट बनारस हप्तामा ३ सिधा उडान गर्ने भएको छ ।
निर्माणको अन्तिम चरणमा पहिलो उडानको रुपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्ने भएको हो । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र नागरिक उड्डयन प्राधिकरणको कार्य प्रगतिअनुसार सन् २०२३ को जनवरी महिनादेखि उडानका लागि तयार हुँदैछ ।
हाल बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा काठमाडौं–बनारस– काठमाडौं हवाइ सेवा सञ्चालन गर्दै आएको छ । बुद्धले आइतबार, मंगलबार, बिहीबार उडानको तालिका बनाएर जनवरीबाटै उडान सुरु गर्ने योजना बनाएको जानकारी दिएको छ । एयर ट्राफिक सर्भिस रुटको लागि नेपाल सरकारको भारतीय सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्वीकृति प्राप्त हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन २ उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा ३ उडानका लागि हाम्रो तर्फबाट पनि प्रक्रिया यथाशीघ्रअगाडि बढाइने जनाएको छ ।





