पर्वत/ निकटस्थहरुसँग कांग्रेस नेता अर्जुनप्रसाद जोशीले भन्नेगरेका थिए,‘मैले टिकट पाएँ भने मलाई हराउँछन ।’ पर्वत कांग्रेसको फरक धारलाई उनले लगाएको सोही आरोप अर्काधारका नेताहरुले उनै जोशीलाई लगाउँछन ।
गठबन्धनबाट चुनाव लड्ने भनेपछि पर्वत कांग्रेसको भागमा प¥यो । टिकटमा चाहिँ सदाझैँ दर्जन बढी आकांक्षी थिए । आकांक्षा राखेतापनि जोशी भइञ्जेल टिकट पाइँदैन भन्ने आम कार्यकर्तासम्मको मनोविज्ञान छ, पर्वतमा । एक प्रतिनिधिसभा क्षेत्र रहेको पर्वतमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेश (ख) पायो । (क) चाहिँ माओवादीको भागमा प¥यो ।
स्थानीय तहको मतपरिणाम अनुसार सबै क्षेत्रमा गठबन्धन बलियो नै थियो । अन्य जिल्लामा स्वतन्त्रहरुले उल्लेख्य मत ल्याउँदा पर्वतमा भने त्यस्तो भएन । तर, प्रतिनिधिसभामा अर्जुनप्रसाद जोशी हारे । पर्वत (ख) मा कांग्रेसका ऋषिकेश तिवारी हारे । (क) मा माओवादी केन्द्रका सुदीप कुँवर हारे ।
साविकको धौलागिरी अञ्चलका चारमध्ये तीन जिल्लामा गठबन्धनले क्लिन स्विप गर्दा पर्वतमा चाहिँ गठबन्धन नै बढारियो । कारण चाहिँ सत्ता गठबन्धनको आन्तरिक कलह नै हो ।
बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार प्रतिनिधिसभामा एमालेका पदम गिरीले दोश्रो जीत हात पारे । उनले जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका हुन । गिरीले २९ हजार ८७२ मत ल्याउँदा जोशीले २७ हजार ६०९ मत ल्याए । ०७४ को चुनावमा पनि गिरीले जोशीलाई नै हराएका हुन ।
त्यतिबेला गिरी ३९ हजार २७५ मत पाएर प्रतिस्पर्धी जोशीलाई पराजित गरेका थिए । जोशीले २०७४ को निर्वाचनमा २६ हजार ८१९ मत प्राप्त गरेका थिए । जोशीलाई गिरीले १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए ।
त्यतिबेला माओवादीसहितको गठबन्धनको बलमा चुनाव जितेका गिरीले अहिले कांग्रेससहितको गठबन्धनका उम्मेदवारलाई हराए ।प्रदेशसभा (क) मा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका सुदीप कुँवरलाई पराजित गरेका हुन। भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा माओवादीका सुदीप कुँवरले १३ हजार ७४२ मत प्राप्त गरे ।
प्रदेशसभा (ख) मा नेकपा एमालेका बस्यालले कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गरेका हुन् । बस्यालले १४ हजार १३२ मत ल्याउँदा तिवारीले १२ हजार २१० मत ल्याए ।
मतपरिणाम सार्वजनिक भइनसक्दै पर्वतमा गठबन्धनका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोश पोख्न थालिसकेका थिए । पर्वत कांग्रेसमा संघीयता कार्यान्वयन हुनुअघि दुइवटा निर्वाचन क्षेत्र थिए । ती क्षेत्रमा दुवै कांग्रेसका उम्मेदवार भएको खण्डमा एक क्षेत्रका उम्मेदवारले अर्का क्षेत्रका उम्मेदवारलाई हराउन लागिपरेकोे आरोप जहिले लाग्ने गथ्र्यो । सोही आरोप र असन्तुष्टि कार्यकर्ताहरुले पोखिरहेका छन ।पर्वत कांग्रेसका पूर्व सभापति खिमप्रसाद भुषाल यसलाई दुर्भाग्यको संज्ञा दिन्छन । कार्यकर्ताहरुले अन्तरघात भयो भनेर आक्रोश पोखेतापनि पार्टीले समिक्षा गर्नुपर्ने र कमजोरी पहिल्याउनुपर्ने उनको भनाइ छ ।
‘मैले उम्मेदवारहरुलाई पनि पार्टी बैठक राख्न भनेको छु, वर्तमान कार्यसमितिले समीक्षा गराउला’, उनले भने, ‘जो सत्तामा गयो, पदमा पुग्यो, राजनीतिमा चासो राख्नेहरुको त भविष्य अन्धकार होला नि । पार्टीको कमजोरी भए, त्यसको व्यवस्थापनलाई पनि औँल्याउनुप¥यो ।’
पर्वत कांग्रेसभित्रै एक पक्ष र अर्को पक्षले हराउन लागेको र गठबन्धनको सहयात्री दल माओवादीले पनि भोट नहालेको चर्चा कार्यकर्ता पंक्तिमा व्याप्त छ । तर, यसरी एकले अर्कालाई आरोप लगाउनुपूर्व समिक्षा नै गरेर निकास निकाल्नुपर्ने उनले बताए । ‘पार्टीको कमजोरी हो कि, व्यक्तिको कमजोरी हो कि, गठबन्धनको गाँठो नपरेको हो कि ? यहाँ विभिन्न हल्ला त आउँछन । माओवादीले पनि भोट हालेन भन्छन, एकले अर्कालाई हिलो छ्यापेर हुँदैन भनेको छु’,उनले भने ।
पर्वत कांग्रेसभित्र गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि टिकटका आकांक्षीले टिकट नपाएपछि या नेतृत्व निकट व्यक्तिमात्रै टिकट पाएपछि हराउन लागेको भन्ने व्यापक चर्चा थियो । वडास्तरदेखि नै कार्यसमितिले कारवाहीको लागि भनेर सिफारिस गरेतापनि हालसम्म त्यसको छलफल नै हुन नसकेको उनले बताए ।
२०७४ मा पर्वतका सातमध्ये तीन पालिका जितेको कांग्रेसले २०७९ मा दुई नगरपालिका सहित तीन गाउँपालिका जितेको थियो । तर, प्रमुृख जित्दै गर्दा उपप्रमुख÷उपाध्यक्ष पाएको माओवादीका उम्मेदवार सबैले भने जित हात पार्न सकेनन । उक्त नतिजापश्चात स्थानीय तहमा पनि गठबन्धन गरेको माओवादी केन्द्र पनि कांग्रेससँग रुष्ट बनेको थियो ।
पर्वत कांग्रेसमा अर्जुनप्रसाद जोशीको एक पक्ष र त्यसबाहेकको अर्को पक्ष सक्रिय छ । गत मंसिरमा सम्पन्न जिल्ला अधिवेशन पश्चात अर्जुन जोशीका भाई युवराज जोशी अहिले पर्वतका जिल्ला सभापति छन । जिल्ला अधिवेशन लगत्तै वैशाखको स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँटमा आफ्ना मान्छेलाई मात्र टिकट दिएको आरोप उनीमाथि लाग्यो भने, टिकट नपाएका फरक धारका नेताहरु चाहिँ आफ्नै उम्मेदवार हराउन लागेको आरोप छ ।
अर्जुन जोशीको लगातार हार
¬२०५६ सालको निर्वाचनमा पर्वत १ बाट भवानीशंकर पौडेलले टिकट पाएका थिए । कांग्रेस जिल्ला अधिवेशनको बेला बाह्रखरीसँगको कुराकानीका क्रममा आफूले टिकट पाएर चुनाव प्रचारप्रसार थालिएको तर आफ्नो टिकट खोसिएको उनले बताएका थिए ।
उनले आफूले पाएको टिकट खोसेको भनेर अर्जुनप्रसाद जोशीलाई संकेत गरेका थिए । उनै जोशीको संसदीय यात्रा त्यही चुनावबाट सुरु भयो । २०५६ को निर्वाचनमा जितेर संसदीय यात्रा थालेको जोशीले ०६४ र ०७० को संविधासभा निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिँदै ह्याट्रिक गरे ।
त्यतिबेला सुशिल कोइराला निकट भएर राजनीति थालनी गरेका जोशीले १३ औँ महाधिवेशनमा भने गुट परिवर्तन गरेर शेरबहादुर देउवा क्याम्पमा मिसिए ।
देउवा क्याम्पमा मिसिएपश्चात उनको हारको श्रृंखला सुरु भयो । त्यतिबेला उनले गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यको चुनाव लडे र हारे । पुनः कांग्रेस गण्डकी प्रदेश सभापतिको निर्वाचन लडे । त्यसमा पनि उनी पराजित बने ।
०७४ को निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा व्योहोरेका हारलाई बदला लिने उनको दाउ थियो । तर, यसपटक पनि उनी सफल भने हुन सकेनन ।
विद्यार्थी राजनीतिबाट उदाएका पदम, जसले एमालेलाई जितैजित दिलाए
पदम गिरी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन । पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियू सभापति हुँदै जिल्ला फर्केर पार्टी राजनीतिमा सहभागि भए । एमालेको नवौँ जिल्ला अधिवेशनमा उनले जिल्ला अध्यक्ष जितेका थिए । माधव नेपाल पक्षीय अरु पदाधिकारी र सदस्यहरुले चुनाव जित्दा गिरीले मात्र ओली समूहबाट चुनाव जितेका थिए ।
नेकपा विभाजन बनेर एमाले ब्युँतिदा पनि माधव नेपालको समानान्तर कमिटी पर्वतमा थियो । भक्त कुँवर माधव नेपाल पक्षीय एमालेको जिल्ला अध्यक्ष थिए ।
पछि नेकपा एकीकृत समाजवादी बनेपछि माधव नेपाल पक्षका धेरै नेता कार्यकर्ता भने एमालेमै रहे । एमालेमा १० भाई पक्षधरहरुले टिकट नपाउँदा पर्वतमा भने समानान्तरबाट जिल्ला अध्यक्ष बनेका भक्त कुँवरले प्रदेश (क) को टिकट पाए । यसले एमालेलाई आन्तरिक रुपमा पनि एक बनाउन मद्धत ग¥यो । अर्कातर्फ गिरी अध्यक्ष बन्दा उनीसँग प्रतिष्पर्धा गरेका राजु पौडेललाई एमालेले सर्वसम्मत अध्यक्ष पनि बनायो ।
विद्यार्थी राजनीतिबाट जिल्ला नेतृत्वमा पुगेका पदम गिरी एमाले अध्यक्ष ओलीको विश्वासपात्र पनि मानिन्छन । ०७४ को निर्वाचनमा थुप्रै आकांक्षीहरुलाई पछि पार्दै उनले टिकट हात पारेका थिए । युवा नेताको छवि बनाएका गिरीले यसपटक पनि टिकट पाए । टिकट मात्र पाएनन, पर्वतलाई उनले यसपटक पनि एमालेको लालकिल्ला बनाउन सफल रहे ।





