बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

मर्न थाले अलैँचीका बोट

मर्न थाले अलैँचीका बोट

फुसारियम’ नामक ढुसीको संक्रमणले अलैँचीका बोट मरेका हुन् ।


  • संजय रेग्मी
  • मंसिर १२ २०७९, सोमबार

पर्वत / जिल्लाको मोदी गाउँपालिका–४ क्याङको खुईजरी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । मजुवापाखा कबुलीयती बनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल दिने क्रममा छन् । तर अलैँची लगाएको बन क्षेत्रमा पुग्दा उनी सुस्केरा हाल्छिन् । कारण हौ दैनिकजसो सुक्दै गएका अलैँचीका बिरुवा ।

सीमा गोठ मजुवापाखा कबुलीयती बन तथा कृषक समूहमा आबद्ध रहेका कृषकहरूले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरेका हुन् । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन् । यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए । तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू निराश भएका छन् । उनीहरूले नयाँ बिरुवा रोप्दै गरेको भए पनि परिपक्व भएका बिरुवा रोगको सिकार हुँदै गएपछि उनीहरूको पाँच वर्षदेखिको मिहिनेत र लगानी खेर जाने अवस्थामा पुगेको छ ।

‘लगभग पाँच लाख भन्दा बढीको लगानी भइसकेको छ । अब अलैँची उत्पादन गरेर लगानी उठाउने र आम्दानी गर्ने बेला हुन लागेको थियो । तर दुई वर्ष अगाडि बिरुवाका पात सुक्दै जाने समस्या देखियो । त्यसले अहिलेसम्म पनि छाडेको छैन,’ समूहकी कोषाध्यक्ष वीरमाया पुन भन्छिन्, ‘रोपको तीन वर्षमा राम्रो उत्पादन दिने भनेको हो । अहिले पाँच वर्षसम्म पनि उत्पादन लिन पाइएको छैन। पारी पट्टीको क्याङ गाउँमा पनि यस्तै भएको छ भन्छन्। पहिले २५ क्विन्टल फलेकोमा अहिले १५ क्विन्टल जति होला भनेका छन् ।’

समूहकी अध्यक्ष डममाया पुनका अनुसार बिरुवामा सुरुमा पात सुक्ने र पछि लाँक्रा नै मर्ने समस्या देखिएको थियो । समस्या समाधानको लागि प्रयास नभएको पनि होइन । तर हरेक विधिले उपचार गर्दा पनि समस्याको समाधान नभएको पुन बताउँछिन् । ‘हामीले लगभग एक हेक्टर क्षेत्रफलमा अलैँची रोपेका छौँ । सुरुमा बिरुवाहरू राम्रो भएर हुर्किँदै आए तर पछि पात सुक्दै जाने र अन्तिममा लाँक्रा नै मर्ने समस्या देखियो,’ उनी भन्छिन्, ‘समस्या समाधानको लागि कृषि ज्ञान केन्द्रबाट टोली आएर सबै हेर्नुभएको हो। सरसफाइ र केही औषधिले केही कम भएको भए पनि बिरुवा सुक्ने क्रम रोकिएको छ ।’

समस्या देखिएको भनेर गुनासो आएपछि कार्यालयबाट पुगेको प्राविधिक टोलीले कृषकहरूसँगै मिलेर बगानको सामूहिक सरसफाइ गरेपछि केही काम भएको तर रोग नियन्त्रणमा नआएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनिता थापा बताउँछिन् ।

परीक्षण गरेर हेर्दा ‘फुसारियम’ ढुसीको संक्रमण रहेको देखिएपछि विषादी छर्केर केही कम गराएको भए पनि फेरि पनि समस्या उस्तै रहेको उनको भनाइ छ । ‘मोदी गाउँपालिकामार्फत केही नमूना परीक्षणका लागि काठमाडौं पठाएको हो। ढुसी देखिएर विषादी छर्के पनि रोग नियन्त्रणमा आएन। अब फेरि पनि केही नमुना काठमाडौँ पठाउन लागेका छौँ,’ थापाले भनिन, ‘यदि भाइरस भएर यति धेरै फैलिएको हुनुपर्छ। त्यस्तो हो भने बगैँचा नै नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ। हामीले अलैँची ब्लक कार्यक्रममार्फत अलैँची विज्ञलाई नै ल्याउने प्रयास गर्न लागेका छौँ ।’

परीक्षणको लागि काठमाडौँ पठाइने भाइरलको रिपोर्ट र विज्ञको सल्लाह अनुसार नै थप प्रयास गर्ने कार्यालयको तयारी छ । तत्कालका लागि जिल्लामा उपलब्ध प्राबिधिकहरुलाई पठाएर विषादी प्रयोगको तरिकाको बारेमा सिकाउँदै सरसफाइ नियमित गरिएको विषादीहरू निःशुल्क उपलब्ध गराइएको कार्यालय प्रमुख थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->