पर्वत / जिल्लाको व्यस्त सडकमा पर्ने कुश्मा नपा–८ चुवाको दोबिल्लामा मोदी खोलामा बनेको मोटरेबल पुल गत वर्षदेखि चर्चामा आइरहेको छ । नेतादेखि प्रशासनको क्षेत्रसम्म पहुँचमा रहेको जिल्ला भए पनि सवारीका टायर पुलमा परेको भ्वाङमा अड्किएर बस्नुपर्ने बाध्यता रहँदा यो पुलले चर्चा पाएको हो ।
निर्वाचनका वेला जनतालाई आश्वासन बाँड्ने नेताहरूको नजर पुलको मर्मत वा पुनःनिर्माणको रोजाइमा नपर्दा नेतादेखि कर्मचारीसम्म आलोचित बने । अब उक्त पुलको पुनःनिर्माणका बारेमा जनप्रतिनिधिको चासो बढेको छ। फलेवास नपालाई सदरमुकाम कुश्मा बजार र फलेवासबाट पोखरा, काठमाडौंलाई जोड्ने पुलको विषयमा फलेवास नगरपालिकाले चासो दिएको हो । नगरप्रमुख गंगाधर तिवारीले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा पटक–पटकको पहलपछि गत सोमबार दोबिल्लामा नयाँ मोटरेबल पुल निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन भएको छ ।
विभागले चालू वर्ष सडकको विस्तृत परियोजना प्रतिवेदन पेश गर्ने गरी योजना पेश गर्न एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको हो । उक्त कन्सल्टेन्सीका इन्जिनियर चन्द्रदेव बोहोराले दोबिल्ला पुलको स्थलगत निरीक्षण सहित सम्भाव्यता अध्ययन शुरु गरेका छन् ।
आगामी एक साताभित्र सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएलगत्तै पुलको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने बोहोराले बताएका छन् । पुल जीर्ण भएकोबारे सडक विभागमा कैयौँपटक दबाब दिएपछि फलेवासका नगरप्रमुख गंगाधर तिवारीले पुल निर्माण शुरु गर्ने आश्वासन पाएका थिए । पुरानो पुलको उत्तरतर्फ सँगै जोडेर नयाँ पुल निर्माण गर्नेबारे कन्सल्टेन्सीका प्राविधिकहरूसँग कुराकानी भएको नगर प्रमुख तिवारी बताउँछन् ।
अध्ययनका क्रममा फलेवास नपा–४ का वडाध्यक्ष एवं फलेवास नगरपालिकाका प्रवक्ता अच्युत तिवारी, कुश्मा नपा–८ का वडाध्यक्ष सुरेन्द्र केसी, ११ का वडाध्यक्ष बाबुराम पौडेल र स्थानीय बासिन्दाको समेत उपस्थिति थियो । त्यस अवसरमा पुल निर्माणमा दुवैतर्फ आसपासको जग्गा व्यवस्थापन, बिग्रिएको सडक सुधार लगायतका विषयमा समेत पनि छलफल भएको छ ।
वडा नं. ८ र ११ का वडाध्यक्षले पुलको दुवैतर्फ पर्ने जग्गा व्यवस्थापन लगायतका विषयमा आफूहरूले सहकार्य र सहयोग गर्ने बताएका छन् । फलेवासका सबै वडा समेट्ने पुल भएकोले निर्वाचित भएलगत्तैदेखि दोबिल्ला पुलको पुनःनिर्माणका लागि आफूले सम्बन्धित निकायमा पहल गर्दै आइरहेको नगरप्रमुख तिवारी बताउँछन् ।
२०५६ सालमा ट्र्याक खुलेको दोबिल्ला फलेवास सडकमा यो अस्थायी बेलीब्रिज शैलीको पुल २०६३ सालमा डिजाइन गरिएको थियो । शुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताले दबाब दिए पनि केही समयका लागि भन्दै तत्कालीन जिल्ला विकास समितिले कमजोर पुल डिजाइन गरेको स्थानीयको आरोप छ ।
यस्ता पुलमा बिछ्याइएका फलामे पाताको बढीमा पाँच वर्ष आयु हुने भए पनि लामो समयसम्म पाता नफेर्दा अहिले पुल नै धराप बनेको छ ।





