बागलुङ/ठुला ठुला बारीका पाटा । गह्राभरी कोदो । छेउमा कोशेवाली भटमास र मकैका जस्तै बिरुवा देखिने अग्ला जुनेलाका बिरुवा । कात्तिकमा कोदो पाक्दा भरीलो देखिएको बारीका पाटा छेउछाउमा लगाइएको भटमास र जुनेलोले बारीको शोभा दिएको छ ।
तरकारीको छाक टार्न भटमासले काम दिन्थ्यो भने जुनेलो हिउँदको खाजा, धर्मकर्मका काममा प्रसाद बनाउन पनि प्रयोग गरिन्छ । जैमिनी नगरपालिका १ को कुश्मीसेरा स्थित फलाँटे कृषि सहकारी संस्थाले बाँझो जमिनमा व्यवसायिक जुनेलो खेती थालेपछि यो परिवर्तन र किसानमा रौनक आएको हो । जुनेलो रैथाने बाली हो तर आजकल लोप जस्तै भैसकेको छ । बहुउपयोगी भएपनि जुनेलो खेती गर्न किसानले छोडेकाले बीउ जोगाउनै संकटमा परेको थियो । पछिल्लो समय सहकारीले यो अभियान चलाएपछि संरक्षण शुरु भएको हो ।
रैथानेबाली जुनेलो संकटमा पर्न थालेपछिसहकारीले बिउ जगाउने प्रयत्न गरेको हो । गत जेठमा लगाइएको जुनेलो पाकेपछि किसानले फसल भित्राएका छन् । सहकारीका पदाधिकारीपनि किसानको खुसीमा रमाएका छन् । कुश्मीशेराको झब्रीखेतमा रहेको १५ रोपनी बाँझो बारीमा जुनेलो लगाईएको सहकारीका अध्यक्ष मोती प्रसाद शर्माले बताए । जैमिनी नगरपालिकाभरी नै खेतीहुन छोडेको जुनेलोको सहकारीले बिउ जगाएको अध्यक्ष शर्माले बताए ।
स्थानीयले जनशक्तिको अभावमा केही बर्षदेखि यहाँ रहेको बारीमा खेतीपाती गर्न छोडेका थिए । बाँझो जग्गा भाडामा लिएर सहकारीको उद्देश्य अनुसार खेती थालिएको हो । रैथाने बालीको संरक्षण र सहकारीमार्फत कृषक सदस्यहरुको आय बृद्धिकालागि व्यवसायीक खेती थालिएको थियो । गत जेठ महिनामा लगाईएको जुनेलोले खर्च कटाएर मुनाफा दिन थालेको अध्यक्ष शर्मा बताउँछन् । ‘यो वर्ष आठ क्वीन्टल जुनेलो फलाउने लक्ष्य हो, पाकेको जुनेलो काटेका छौं, हामिले लक्ष अनुसारनै उत्पादन गरेका छौं’, शर्माले भने ‘रैथानेबाली संरक्षणमा यो हाम्रो पहिलो प्रयास हो ।’ जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशिल छन् ।

बीउ लगाउने, गोडमेल गर्ने र सिंचाईं गर्ने काममा सहकारीका सबै सदस्यले समान हिसाबले श्रमदान गरिरहेको सहकारीका कोषध्यक्ष त्रिबिक्रम आचार्यले बताए । ‘यो वर्षको उत्पादनबाट हुने आम्दानी सहकारीको पुँजी बृद्धिमा लगाइने छ’ आचार्यले भने ‘अर्को वर्षदेखि हुने आम्दानी, खर्च कटाएर सहकारीका सदस्यहरुले दामासाहीले पाउँछन् ।’ सहकारीले रैथाने बाली जुनेलोको बीउ फेरी जगाएकोमा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले खुसी व्यक्त गरे । ‘साम्राज्यबादीहरुले किसानबाट जमिन र बिउ खोस्ने प्रयत्न गरेका छन्, रैथानेबाली बिस्थापन गरेर बिकसित बालीका लागि प्रोत्साहन गर्छन्’ पुनले भने ‘सहकारीको यो प्रयास जैमिनीमा नमुना हो, अरु किसानले पनि सिक्नेछन् ।’
सहकारीले एक लाख रुपैयाँ खर्चेर १५ रोपनी बारी उपयोगमा ल्याएको हो । दश किलो बीउ ४ सय ५० रुपैयाँ प्रतिकिलोका दरले खरिद गरेर लगाइएको सचिव रामप्रसाद आचार्यले बताए । रामेछापबाट बीउ ल्याइएको हो । ‘यो रैथाने बाली हो, पहिले हामीलाई बिउँ पाउनै कठिन भयो’ सहकारीमा आवद्ध कृषि प्राबिधिक रबिन्द्र शर्माले भने ‘बजारमा बिउँको अभाव छ, हामीले केही वर्ष बिउँकै रुपमा उत्पादन गर्छौं र बिक्रीका लागि पनि सोही अनुसारको बजारको खोजी भैरहेको छ ।’ उत्पादन भएको सबै जुनेलो बिउका लागि माग भैरहेको शर्माले बताए ।
केही वर्षअघिसम्म अस्मिता कृषक समुहमा आवद्ध भएर मुला तथा केराउको बीउ व्यवसायीक उत्पादन गरेका किसान सहकारीमा आबद्ध भएर नयाँ उत्पादनको अनुभव र थालनी गरेका हुन् । जुनेलो उत्पादन बढाउँदा किसानको आम्दानीपनि बढ्ने कृषि ज्ञान केन्द्र बागलुका प्रमुख भानुभक्त भट्टराइले बताए । रोपेको ६० दिनमै उत्पादन दिने र सिचाइँको सुविधा कम भएपनि हुने उनले बताए । कुनै समय नेपालको पहाडी क्षेत्रको मुख्य खाद्यबालीको रुपमा रहेको जुनेलो लोप हुने अवस्थामा पुगेको भन्दै सहकारीले थालेको संरक्षण राम्रो भएको उनको भनाइ छ ।

धार्मिक कार्यमा प्रयोग हुने जुनेलो विधिन्न औषधी बनाउन पनि प्रयोग गरिन्छ । जुनेलोको सेवनबाट पित्त, मुत्र तथा पेट सफा हुनुका साथै स्फूर्ति बढ्ने आयुर्वेदिक चिकित्सकको भनाइ छ । माग बढ्न थालेपछि पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा रहेका कृषकहरू जुनेलो खेतीतर्फ आकर्षित बन्दै गएका छन् । होटल रेस्टुरेन्टमा पनि जुनेलोको परिकार बन्न थालेको हो । न्यानो हावापानी मन पराउने जुनेलो मकैजस्तै खाद्यान्न बाली हो । सहकारीले रैथाने बालीको रुपमा रहेका कोदो र फापरको पनि ब्राण्ड थाल्ने भएको छ । सहकारीमा आवद्ध किसानहरुले व्यक्तिगत खेतबारीमा उत्पादन गरिरहेको कोदो र फापरलाई सहकारीले खरिद गरेर पिठो बनाएर बजार पठाउने योजना ब नाएको शर्माले बताए ।





