पर्वत / जिल्लाको पैयुँ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने योजनाका साथ स्थानीय तहभित्रका स्वास्थ्यकर्मीहरूलाई आन्तरिक सरुवाको तयारी थालेको छ।
स्वास्थ्य क्षेत्रको सुधारलाई आफूहरूले पहिलो प्राथमिकतामा राखेका कारण गाउँ कार्यपालिकाको बैठकबाट स्वास्थ्यकर्मीहरूलाई अदलीबदली गरेर नयाँ जोसका साथ काम लाग्न प्रेरित गर्न लागिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज) ले बताए। एउटै व्यक्ति लामो समयसम्म एकै स्थानमा रहेर काम गर्दा एउटै शैलीको मात्रै प्रयोग हुने भएकाले उनीहरुलाई वडाकै एक स्थानबाट अर्को स्थानमा अथवा एउटा वडाबाट अर्को वडामा सार्ने गरी तयारी भइरहेको हो।
‘एकै स्थानमा रहेर एकै व्यक्तिले लामो समयसम्म काम गर्दा मोनोटोनस हुन्छ। हरेक व्यक्तिको काम गर्ने जोस र शैली फरक फरक हुने भएकाले एक ठाउँको ज्ञान र सीपलाई अर्को ठाउँको विकासको लागि प्रयोगमा ल्याउन सकिन्छ भनेर कार्यपालिकाको बैठकबाट यो निर्णय गरिएको हो’, उनले भने, ‘हाम्रो स्थानीय तहमा लगभग ५० जनाभन्दा धेरै स्वास्थ्यकर्मीहरू हुनुहुन्छ। उहाँहरूको शैली अब अर्को ठाउँमा प्रयोगमा आउँदा स्वास्थ्यमा सुधार हुन्छ भन्ने अपेक्षा हाम्रो हो। हामी सबैभन्दा पहिले स्वास्थ्य क्षेत्रमा केही गर्न खोजिरहेका छौँ।’
गाउँ सभाबाट शिक्षकहरूलाई पनि प्रभावकारिताको आधारमा आन्तरिक रूपमा सरुवा गर्ने कुरा भएको भए पनि तत्कालका लागि शिक्षकहरू सरुवामा भने गाउँपालिका नजाने अध्यक्ष ठकुरीको भनाई छ। नागरिकको स्वास्थ्य भएमा मात्रै उसले शिक्षा आर्जन गर्ने, श्रम गर्ने लगायतका कामका लागि योग्य हुने भएकाले सुरुवामा स्वास्थ्यकर्मीहरूको सरुवाका लागि तयारी भइरहेको हो।
सरुवाको गर्नको लागि के–के मापदण्ड तय गर्ने, ठाउँ र आवश्यकताको विश्लेषण लगायतका मापदण्डको तयारीको लागि गाउँपालिकाले काम गरिरहेको र कम्तीमा पनि दुई वर्ष एकै ठाउँमा बसेका स्वास्थ्यकर्मीलाई सरुवा गर्ने गरी तयारी भएको छ। आन्तरिक सरुवाले कतिपय घर पायक मिलाएर बसेका स्वास्थ्यकर्मीहरूलाई समस्या पार्न सक्ने प्रश्नबारे बोल्दै अध्यक्ष ठकुरीले केही कुराको सुधारको लागि केही कुराको त्याग गर्न सक्नुपर्ने बताए।
‘यो निर्णय स्वास्थ्यकर्मीहरूलाई चित्त नबुझ्न सक्ने एक ठाउँको कुरा हो। जो घर छाडेर बसिरहनुभएको छ उहाँहरूलाई त जसै घर छाड्नु परेपछि अर्को ठाउँमा सर्दा समस्या नहोला तर घरबाट पायक परेको अवस्थामा चित्त नबुझ्न सक्छ’, उनी भन्छन्, ‘हामीले जे गरिरहेका छौँ हाम्रै ठाउँको लागि गरिरहेका हौँ। यहाँका नागरिकको स्वास्थ्य अवस्था माथि उठ्नु भनेको हाम्रै बाबा आमा, दाजुभाइ र छोराछोरीको अवस्थामा सुधार हुनु हो। आफ्ना मान्छेको राम्रोको लागि आफ्नै मान्छे तयार नहुने हो भने अरू को तयार भइदिन्छ?’
स्वास्थ्य क्षेत्रमा यो कार्यक्रम लागू गरिसकेपछि क्रमिक रूपमा अन्य क्षेत्रमा पनि यसरी काम गर्ने योजनामा गाउँपालिका छ। कर्मचारीलाई पालिका भित्रका अन्य स्वास्थ्य संस्थामा सरुवा गर्दा कार्य सम्पादनमा राम्रो नतिजा आउने विश्वासका साथ कार्यपालिकाको बैठकले सरुवा गर्ने निर्णय गरेको अध्यक्ष ठकुरीको भनाइ छ।





