पोखरा/ साइकल सिटी पोखराको आयोजनामा हुने टुर दी पोखराको तयारी पुरा भएको छ । पोखरालाई साइकल सिटीको रुपमा विकास गर्न र साइकलको महत्व बुझाउनका लागि सन् २०१५ देखि सुरु गरिएको टुर दी पोखराको छैटौं संस्करण बुधबारदेखि सुरु हुन लागेको हो । विदेशी साइकल पर्यटक तथा अन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
सोमबार कार्यक्रमको अन्तिम तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले साहसिक खेलको राजधानी पोखरामा साइकलको इभेन्टलाई नौलो रुपमा पस्कन लागेको बताए । उनले कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विभिन्न इभेन्ट गरिएको बताए । कार्यक्रमअन्तर्गत मंसिर ७ गते बागलुङ कालिका देखि विन्ध्यवासिनी मन्दिरसम्म साइकल ¥यालीको आयोजना गरिनेछ । ९ गते खुल्ला रक्तादान, साइकल ¥याली, सुस्त साइकल प्रतियोगिता र सांगीतिक कार्यक्रमको आयोजना गरिने दुटर दि पोखरा २०२२ का संयोजक राजन गोङ्गजुले जानकारी दिए ।
दोस्रो मेयरकप साइकल दौडमा ६० बढी खेलाडी सहभागी
टुर दि पोखराअन्तर्गत नै पोखरा महानगरपालिकाको आयोजनामा दोस्रो मेयरकप साइकल दौड प्रतियोगितासमेत हुँदैछ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा बुधबार हुने प्रतियोगितामा ६० भन्दा बढी खेलाडीको सहभागिता हुनेछ ।
३ विधाको प्रतियोगिता तर्फ इलाइट महिला तथा पुरुषको विजेताले समान ३०/३० हजार रुपैयाँ, दोस्रोले समान २०/२० हजार रुपैयाँ तथा तेस्रो हुनेले समान १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
मास्टर्स (४० वर्ष माथि) तर्फको महिला तथा पुरुषतर्फको विजेताले १०/१० हजार रुपैयाँ, दोस्रोले समान ७ हजार रुपैयाँ, तेस्रोले पाँच तथा सान्त्वना हुने दुई /दुई जनाले समान पाँच/पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा कास्कीसहित काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङजा, तनहुँ लगायतका जिल्लाबाट सहभागिता रहेको प्रतियोगिता संयोजक राजन गोङजुले जानकारी दिए । इलाइट तर्फ हुने ५० किलोमिटरको साइकल दौड पोखरा २१ स्थित युवा वर्ष आधारभुत विद्यालय कमेरे नजिकैबाट सुरु भइ मट्टिखान, धवारकोट, बाघखोर, भालुडाँडा, हुँदै पुनः कमेरेमा पुगेर समापन हुनेछ । उक्त रुटको दुई फन्को लगाएपछि निर्धारित दूरी पूरा हुनेछ ।





