पोखरा/ नेपाल साहित्य सम्मलेनकोपहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग ‘घरबाट स्कुलसम्म’ शीर्षकमा फिस्टेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गरे । उनीहरूले बालबालिकाको विकासक्रममा अपनाउनु पर्ने संवेदनशीलतालगायत विविध पक्षहरूबारे अन्तरक्रिया गरे ।
एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको भनाइ छ । उनले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताइन् ।
सरकारी नियमन, मापदण्ड नबनाइदिँदा अहिले स्कुल नै वर्गीय उत्पादन हुने देखिन्छ । सिकाइको खाडल त्यहीबाट सुरु भएको देखिन्छ,’ डा दाहाल भन्छिन्, ‘निजी विद्यालयको सिको गरेर अंग्रेजी बनाउने, प्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन् । यो एकदमै विभेद छ, वर्गीकरण छ ।’कार्यक्रममा वरिष्ठ संगीतकार गोपाल योञ्जनका गीतहरूको सांगीतिक प्रस्तुतिसमेत भयो। उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरे । त्यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायत गायकहरूले उनको गीत गाए ।फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको संग्रह गोपालय समेत उक्त कार्यक्रममा लोकार्पण गरियो ।





