आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एमाले अध्यक्ष ओलीले सम्झिए पोखरा

एमाले अध्यक्ष ओलीले सम्झिए पोखरा

‘यो विद्धानहरुको भूमिमा जन्मिनु असाध्यै भाग्यमानी लाग्यो’


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७९, शनिबार

पोखरा/ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्यवादी भएको दाबी गरेका छन् । उनले आफू निकम्मा भाग्यवादमा म विश्वास नराख्ने र सत्यको पक्षपाती भएको जिकिर पनि गरे ।
‘मैले योगमा जोड दिएको छु । सत्यको मार्ग अपनाएको छु । योगी हुँ भन्ने तर छलछाम गर्ने ? त्यस्तो योगी हुँदैन । यदि योग गर्ने हो भने सत्यमा अडिन्छु । सत्य धारण गर्छु, सत्यमा विश्वास गर्छु । असत्यको बाटो हिँड्दिन भनेर कबुल गर्नु पर्छ । अनि मात्रै योग सुरु हुन्छ । तसर्थ मैले दार्शनिक हिसाबले वस्तुवादी दर्शन, यथार्थवादी दर्शन, तथ्यवादी दर्शन, जे सत्य हो त्यो कटुसत्य हो’,उनले भने ।

पोखरामा जारी नेपाल साहित्य सम्मेलनअन्तर्गत शुक्रबार अराजनीतिक विषयमा गफिन आइपुगेका उनले भने,‘ सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श र मन्त्र हो ।’ ओलीले नेपालमा जन्मन पाएकामा भने आफूलाई सधैँ भाग्यमानी ठान्ने गरेको पनि बताए ।

‘म छानेर नेपालमा जन्मिएको होइन । तर यो देशमा जन्मिनु, यो शिवभूमिमा जन्मिनु, यो बुद्धभूमिमा जन्मिनु, यो व्यासभूमि, यो विद्धानहरुको भूमिमा जन्मिनु असाध्यै भाग्यमानी लाग्यो मलाई । त्यसरी मैले आफूलाई भाग्यमानी मानेँ र गीतमा लेखेँ’,उनले भने ।

ओलीको पोखरा प्रसंग

म पोखरा जेलमा थिएँ । पोखरामा खर्पन बोक्ने चलन थियो जस्तो लागेको थिएन । पोखरा जेलको गेटमा एक जना खपर्नमा साग बोकेर आएँ । मैले उनलाई देखेपछि उनी भएर यो कविता लेखेँ । म त जेलभित्र बन्दी थिएँ । मै भएर त म यो कविता लेख्न सक्तैनथेँ । मैले आफूलाई खर्पन बोक्नेमा परिणत गर्नुपथ्यो । मैले त्यो व्यक्तिको रुपमा आफूलाई रुपान्तरित गरेर यो कविता लेखेको थिएँ ।

कविता लेख्नुअघि मैले खर्पन बोकेको मान्छेको चित्र बनाएँ । त्यसपछि कविता लेखेँ । मेरो बानी के छ भने उहिले भूमिगत कालदेखि जहाँ जहाँ पुग्यो मेरो लेखाइ, कहिले कथा, कहिले निबन्ध, कहिले कविता, कहिले गीत लेख्दा बोकेर हिँड्न सम्भव हुँदैनथ्यो । जहाँ पुग्थेँ त्यहाँ लेख्थे त्यहीँ छोड्थेँ । अहिले माननीय हुनुभएको छ केआर खम्बुजी । जो २६, २७ सालको आन्दानकारी हुनुहुन्थ्यो ।

पछि, त्रिभूवन विश्वविद्यालयमा ३५, ३८ सालसम्मै त्यहाँको सबैभन्दा परिचित विद्यार्थी उहाँ नै होला । सम्पर्क सूत्र उहाँ नै होला । त्यस्तो चिनिएको व्यक्तित्व हुनुहुन्थ्यो । पछि उहाँले जर्मनीबाट पिएचडी गर्नुभयो । उहाँसँग मेरो लामै संगत भएको थियो । उहाँ विराटनगर आउँदा माधव नेपाल पनि त्यही कलेजमा पढ्नु हुने रहेछ । केआर खम्बुले नै मलाई माधव नेपालसँग परिचय गराउनुभएको थियो । उहाँसँग पनि मेरा कतिपय कविता छुटेका रहेछन् । उहाँको संस्मरण पछिल्लो समय निस्कियो, छायाँका लस्करहरु ।
पिएचडीपछि उहाँ क्याम्पसमा पढाउँदै गर्दा नेत्रज्योति गयो । त्यस स्थितिमा उहाँले छायाका लस्करहरु लेख्नुभएको हो । त्यो पुस्तकमा मेरो अर्को एक जना साथी, जसकोमा मैले दुईचार पटक आश्रय लिएको थिएँ । उहाँकोमा मैले कविताहरु छोडेको रहेछु ।

र, त्यतिबेला मैले मेरो नाम कालीचरण भनेर लेखेको रहेछु, भूमिगतकालमा । त्यो कविताहरु छापिएको छ । ती कविता प्रकाशनका लागि भूपनिधि पन्तलाई धन्यवाद । म त लेख्यो, छोड्यो, हिँड्यो । त्यसमा कसैले मसला बेचोस् कि जेसुकै गरोस् । कुनै अर्थ राख्दैनथ्यो । म सुरक्षित गर्न सक्दिनँथे ।

जेलमा अनेक कृति लेखेँ । सयौं कविताहरु लेखेँ तर जेलमा खोसिन्थ्यो, लुटिन्थ्यो । लेखेर के गर्ने खोसेर लैजान्थ्यो भनेर निरास हुन्थेँ । अलिअलि हतोत्साहित पनि भएको हो । लेखेर के गर्ने ? दुःख गर्यो लुटेर लग्यो । त्यसपछि कुनै ग्रहण ग्रन्थ लेख्नेतिर लागिएन । छोटा निबन्ध र फुटकरहरु मात्रै लेखेँ । यसै प्रसंगमा पोखरा जेलमा हुँदाखेरी कतिपय यस्ता कविता लेखेको हुँला । भूपनिधि पन्तजी, जो २०४२ सालको आन्दोलनमा उहाँलाई पनि पक्रेर ल्याएको थियो । अलिक समय जेलमेट हुनुभएको थियो । मैले लेखेँ, छोडेँ वा उहाँले यत्तिकै राख्छु भनेर माग्नुभयो मलाई याद छैन ।

तनहुँका भन्ज्याङ पत्रिकाका सम्पादकसँग चिनजान भएको थियो । भन्ज्याङका सम्पादक विश्वबन्धु भण्डारी, त्यस पत्रिकाका सुरुवातकर्ता। भन्जाङ पत्रिका निकाल्दा उहाँ पनि जेल परेकोले त्यहीँ चिनजान भयो । उहाँको भूपनिधिजीसँग कुरा भएछ । अनि मसँग पनि केपी ओलीको कविता छ भनेर कुरा भएछ । यो कविता भन्ज्यांग, पहिले अखबारजस्तो, बिस्तारै साहित्यिक पत्रिकामा उहाँले प्रकाशित गर्नुपर्छ । त्यसपछि यो खर्पन कविता चर्चामा आयो ।

४१ सालमा लेखिएको यो कविता ३५ वर्षपछि भूपनिधिजीले उजागर गरिदिनुभयो । मैले पेन्सिलले स्केच बनाएर पेन्सिलले नै लेखेको कविता हो । मैले कविता लेख्ने भूपी शेरचनको कविताजस्तो लेख्छन्, हेर्छन् फेरि केर्छन् भन्ने कविताजस्तो मेरो बानी छैन । मेरो त्यस्तो चलन छैन । म त लेख्छु, छोड्दिन्छु ।

बालेनलाई मेटल तबला

ओलीले माटोको तबला फुटेको जानकारी पाएपछि आफूले काठमाडौंका मेयर बालेन साहलाई तबला उपहार दिएको पनि बताए । उनले भने,‘ मलाई के जानकारी थियो भने, बालेन साह अर्थात् बालेन्द्र साह गएको स्थानीय निर्वाचनबाट जितेको मेयर तबला बजाउने गनुहन्छ । उहाँसँग माटोको तबला थियो । तवला सार्दा फुट्यो । मसँग अलिक बलियो तबला थियो । मसँग मेटल तवला थियो, यतायता सार्दा पनि नफुट्ने तबला लैजाऊ भनेर दिएँ ।’ पत्रकार अखण्ड भण्डारीले बालेनको मनमा के खेलिरहेको थियो होला ? भन्ने जिज्ञासा राखेकोमा अध्यक्ष ओलीले केही रोकिँदै भने,‘यो छुट्याउन गाह्रो छ । उहाँको घरमा के थियो त म कसरी बुझुँ, मलाई उपहार दिन मनलाग्यो मैले दिएँ ।’

नजान्ने खेलाडी पाएँ भने हराउँछु

ओलीले आफूले कमजोरलाई हराउने गरेको पनि बताए । कुन खेलमा विज्ञता छ भन्ने प्रश्नको उत्तर दिने क्रममा उनले भने,‘विज्ञता केलाई भन्ने ? फुटबल, भलिबल, टिटी, क्यारेमबोर्ड खेल्छु । नजान्ने पाएँ भने हराउँछु ।’ यद्यपि, उनले यो प्रसंगलाई राजनीतिसँग जोडेका भने हैनन् । – नेपाल साहित्य सम्मेलनमा अभिव्यक्त ओलीका विचार पृष्ठ २ मा । सं.)

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->