पोखरा/ फेवाताल पुछारका रैथाने गणेशबहादुर भट्टराई उमेरछँदा बक्सि«का राष्ट्रिय खेलाडी थिए । खेल्नु र घुम्नु उनको शोख । बैंस लाग्नुअघि नै काका योगेन्द्रबहादुर भट्टराईले बैदामको मुख्य क्षेत्रमा संचालनमा ल्याएको होटलमा रत्तिएका भट्टराई स्वयं कालान्तरमा रेष्टुरेण्ट व्यवसायमा होमिए ।
लेकसाइडमा संचालित बुम¥याङ रेष्टुरेण्टलाई चल्तिको बनाए । सिजनमा उनको रेष्टुरेण्टमा खुट्टा हाल्ने ठाउँ हुँदैनथ्यो । तर, मंसिरको अन्त्यतिरबाट भने सुख्खा । कारण थियो– पर्यटकहरु क्रिसमस र अंग्रेजी नयाँवर्ष मनाउन स्वदेश फर्कन्थे कि भारततिर लाग्थे ।
‘अंग्रेजी न्यूइयर मनाउन टुरिस्टहरु गोवा जान्थे, गोवामा मैले त्यो बेला मानव सागर नै देखेको थिएँ’,उनले करिब २५ वर्ष अगाडितिर फर्कँदै भने,‘ गोरालाई नेपालमै राख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर कसरी भन्ने फुरेकै थिएन ।’
भट्टराई राजपरिवारसँग पनि नजिक थिए । राजा वीरेन्द्र पुस–माघतिर जाडो छल्न पोखरा आउँथे । राजासँग गणेशको रत्नमन्दिरमै भलाकुसारी हुन्थ्यो । रसिक राजाले एकदिन गणेशलाई भनेछन्,‘ टुरिष्टलाई यो बेला पनि यहीँ राख्न सकिँदैन ?’
राजाको जिज्ञासालाई गणेशले ‘हुकुम’ सम्झिए । गोवाको म्युजिक फुड फेस्टिभल देखेका गणेशले साथीभाइसँग सरसल्लाह गरे । रेष्टुरेण्ट एण्ड बार एसोसियसन पोखराको अध्यक्षसमेत रहेका उनले सडक महोत्सवको थिति बसाले । सडकमै खाने, नाच्ने र रमाउने परम्परा सुरु भयो ।
हो,पोखरामा २४ वर्षअघि सुरु भएको ‘पोखरा स्ट्रिट फेस्टिभल’ अहिले नेपाल चिनाउने पर्यटकीय ब्राण्ड बनेको छ । सडकमा हुने देशकै ठूलो महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन दिलाएको छ । यही महोत्सवको २४ औं संस्करण बुधबार पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु भएको छ ।
‘सडकमै खाऔ, सकडमै नाचांै, सडकमै रमाऔं भन्ने नारासहित सुरु भएको महोत्सवकै छेकोमा लेकसाइडलाई सिंगारिएको छ । चुलोहरु सडकै सारिएको छ । विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । ‘नेपाली संस्कृतिलाई पश्चिमा संस्कृतिसँग फ्युजन गरेर हामीले सडक महोत्सवलाई ब्राण्ड बनाएका छौँ’,गणेश भन्छन्,‘पर्यटकको लागि मनोरञ्जन चाहिन्छ, हामीले महोत्सवलाई नेपाल चियाउने झ्याल पनि बनाएका छौँ ।’
लेकसाइडको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा संचालित महोत्सव पुस १७ गतेसम्म चल्नेछ । आयोजक संस्था रेवानका अध्यक्ष नरेश भट्टराईका अनुसार सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरन्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम यसभित्र समेटिएका छन् । महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । उद्घाटनअघि झाँकीसहितको ¥याली पनि निकालिएको थियो ।
घुम्न आउँदै हुनुहुन्छ ?
अंग्रेजी नयाँवर्षको छेकोमा पोखरा घुम्न आउँदै हुनुहुन्छ भने तपाईंले केही कुरा भने ख्याल गर्नुपर्ने हुन्छ । नयाँवर्षको छेकोमा यहाँका प्रायः होटल र लजहरु भरिभराउ हुने सम्भावना बढी रहन्छ । अतः होटल बुक गरेर आउँदा राम्रो । गोजी हेरेर पाँचतारेदेखि सामान्यसम्मका होटल बुक गरिहाल्नुहोस् । तपाईंसँग आफ्नै सवारी साधन छ भने लेकसाइडको मुख्य क्षेत्रभन्दा बाहिरका होटल सस्तो पर्नसक्छ ।
बेगनासताल,पञ्चासे,धम्पुस,घान्द्रुक र होमस्टे रोज्ने छुट पनि यहाँलाई छ । रातभर मनोरञ्जन चाहने हो भने पोखराको पृथ्वीचोक, न्यूरोड,महेन्द्रपुल क्षेत्रका सामान्य होटलमा बसेर लेकसाइड पुग्न पनि सकिन्छ । खानाको हकमा तपाईंले बाटैभर संसारका सवैजसो देशका भान्छा देख्न सक्नुहुन्छ । यहाँ पनि गोजी हेरेर रोज्ने छुट तपाईंसँगै हुन्छ । रेवानले सडक महोत्सवको बेला छुटको पनि व्यवस्था गरेको छ । छुट माग्न पनि नबिर्सनुहोस् । यो बेला बाटोमा ट्राफिकको समस्या बढी हुन्छ । सचेत हुनुहोस् । ड्रिक र ड्राइभ निषेध छ है !





