बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

वर्षौँदेखि पानी तिर्खामा बाँचिरहेका शंकरपोखरीवासीको मेटिने भयो प्यास

वर्षौँदेखि पानी तिर्खामा बाँचिरहेका शंकरपोखरीवासीको मेटिने भयो प्यास


  • संजय रेग्मी
  • पुष १५ २०७९, शुक्रबार

पर्वत /‘हामी विद्यालय जाँदा त्यो आसपासको क्षेत्रमा पानी थिएन र अहिले पनि छैन । स्कुल नजिकै एउटी आमाले बिहानमा डोकोमा गाग्री राखेर पानी ल्याउनुहुन्थ्यो । एक घण्टा उकालो चढेर गएका हामी निःशुल्क त्यही पानीले तिर्खा मेटाउँथ्यौँ’, शंकरपोखरीको त्रिभुवन मा.वि.मा अध्ययन गरेर त्यहीँ शिक्षण गर्दै आइरहेका शिक्षक प्रकाश शर्मा रेग्मी भन्छन्, ‘बर्खाको बेलामा आकाशको पानी जम्मा गरेर घैँटामा राख्ने । त्यसैलाई फिल्टर गरेर खाने । कोहीले आधा घण्टा यात्रा गरेर डोकोमा बोकेर ल्याएर खाने । यहाँ एउटा मिनिरल वाटर अरूलाई सहयोग गर्न सकिएला तर झुक्किएर पानी पोखियो भने पनि पछुतो हुन्छ ।’

शंकरपोखरीको क्षेत्रमा सङ्घीय सांसद पुगुन् की प्रदेशका। जिल्लाका नेता पुगुन् की वडा तहका । स्थानीयवासीको सधैँको माग एउटै हुन्थ्यो, ‘तपाईँले भनेको मान्दै आएका छौँ । अब त पानी पिलाउनुहोस् । यो जमानामा पानी खान नपाएर काकाकुल भइयो ।’ पानीको समस्या शंकरपोखरीमा जस्तो छ त्यस्तो समस्या जिल्लामा सायदै होलान् । बिहान चार बजे नै उठेर कुवा, इनारमा पङ्क्तिमा बस्ने गृहिणी र पानीको खोजीमा जाँदा विद्यालय जाने समय नपाएका विद्यार्थी सबैको पिडा उस्तै छ । पिउने पानी त नपाइने शंकरपोखरीको विभिन्न टोलमा सरसफाइ र चौपायाका लागि पानीको व्यवस्थापन गर्नु निकै कठिन कुरा हो । शंकरपोखरी क्षेत्र डाँडामा रहेकोले पानीका स्रोत छैनन् । स्याङ्जाको नजिकै पर्ने डहरे देउरालीबाट पाइपमा आउने पानी बाँडिचुँडी खानुपर्ने बाध्यता ।

यस्तो समस्या भोगिरहेको शंकरपोखरीले अब एक महिनामा घर–घरमा र टोल–टोलमा पानीको धारा पाउने छ । निर्माण हुन लागे ११ सय ३१ वटा धारामा जुनसुकै बेलामा पनि पानी आएको हुने छ । जीवनभर पानीको सपनामा बाँचेका उनीहरूको सपना पूरा भएको हुने छ । अब नुहाउनको लागि एक हप्ता समय सार्नुपर्ने छैन ।

गण्डकी प्रदेश सरकारले १८ करोडको लागतमा २०७५ सालबाट निर्माण सुरु गरेको ‘बृहत् शंकरपोखरी खानेपानी तथा लिफ्ट आयोजना’ को काम पूरा हुनै लागेको छ । २० प्रतिशत स्थानीयवासीको जनश्रमदानमा निर्माण भइरहेको खानेपानी आयोजनाको सबै काम घाम महिनाभित्रमा पूरा हुने आयोजनाका अध्यक्ष शिव तिवारीले बताए ।

बहु वर्षीय आयोजनाअन्तर्गत लमाए खोलाको पानी लिफ्ट प्रविधिमार्फत तानेर शंकरपोखरीका विभिन्न गाउँमा बाँडिने छ । बेसीमा पर्ने लमाए खोलाबाट शंकरपोखरी र थापाठानाको उच्च भागमा रूपमा रहेको लिमिकोटसम्म ६४५ मिटर लामो पाइप राखेर खोलाको पानी ‘लिफ्ट’ मार्फत तानिएको छ । पानी वितरण गर्ने क्षेत्रको अग्लो स्थान लिमिकोट भएकाले त्यही ठाउँबाट शंकरपोखरी र थापाठानाका विभिन्न टोलमा पानी पठाउन लागिएको हो । केही दिन अगाडी गरिएको परीक्षणमा ‘लिफ्ट’ बाट पानी सहजै चढेपछि पानीको सपना पूरा हुन लागेको हो ।

‘लगातार केही दिनको परीक्षण गर्दा लमाए खोलाको पानी सङ्कर पोखरीमा रहेको ट्याङ्कीमा चढ्यो । कति पानी आइरहेको छ भन्ने कुरा केही दिनमा थाहा हुन्छ । प्राविधिकहरूले प्रति सेकेन्ड ८ लिटर आएको हुनुपर्ने भन्नुभएको छ । मुख्य काम पूरा भएको छ । अब त धारा बनाएर ट्याङ्कीको पानी धारामा पठाउने काम मात्र बाँकी छ’, अध्यक्ष तिवारी भन्छन्, ‘बिद्युत् लाइनमा समस्या आउने हो की ? पाइपमा लिकेज आउने हो की ? पत्तै नपाइने समस्याले केही समय चिन्ता दिने हो की ? भन्ने पिर हामीलाई लागेको थियो। तर परीक्षण गर्दा एकै पटकमा पानी माथि आयो । कहीँ पनि प्राविधिक समस्या आएको छैन। प्राविधिक काम सकेर अब सामान्य काम मात्रै बाँकी रहेका छन् ।’

पञ्चवर्षीय योजनाका रूपमा चलेको आयोजनाको काम अहिले चौथो वर्षमा चलिरहेको छ । ‘लिफ्ट’ बाट पानी खस्ने मुख्य ट्याङ्कीबाट पानी जाने शाखा ट्याङ्की निर्माणको काम पनि पूरा भइसकेको छ । सात वटा शाखा ट्याङ्कीबाट जडान गरिने ‘च्याम्बर’ बाट ११ सय ३१ वटा धाराहरूमा पानी पठाइने छ । अब ‘च्याम्बर’ निर्माण र धारा निर्माणको काम बाँकी रहेको र त्यो काम एक महिनामा पूरा हुने आयोजनाका सचिव कमल भुसालले बताए ।

‘फलेवास नगरपालिका–२ थापाठानाको दुर्बुटी, सिम्ले, घैयार, शंकरपोखरीको साबिकको ९ नं. बाहेक सबै वडामा यो पानी पुग्छ । यो वर्ष प्रदेशबाट २० लाख रुपैयाँ मात्रै आएकाले काम धमाधम अगाडि बढ्न सकेन । निर्माण कम्पनीलाई ४०÷४५ लाख तिर्न नै बाँकी रहँदा पानी काम सक्न लागेका छौँ’, उनले भने, ‘एक हप्ताभित्रमा घर–घर र टोलमा धारा निर्माणको काम सुरु हुन्छ । नागरिकले त पुराना धारामा हालेर भए पनि पानी खाइहालौँ भन्नुभएको छ । यता लिफ्ट चलेसँगै विद्युत् खपत भएको छ । समितिसँग पैसा भएको अवस्था छैन । कोही ठाउँमा १५ घरको एक धारा छ कोही ठाउँमा एक घरको एक धारा छ । पानी वितरणलाई कसरी मिलाउने, रकम उठाउने कुरा कसरी गर्ने भन्ने बारेमा निर्णय भएको छैन ।’

नयाँ ट्याङ्की र धारा बन्ने काम माघसम्म पूरा हुने भएकाले त्यस अगाडि नै गाउँमा रहेका पुराना ट्याङ्कीमा पानी खसालेर भए पनि जतिसक्दो छिटो उपभोक्तालाई सहज पार्न खोजिएको सचिव भुसालले बताए । शंकरपोखरीवासी पानीका लागि मिनेट मिनेटमा तड्पिरहेका कारण तत्कालका लागि पुराना ‘सप्लाई’ मा पानी हाल्न लागिएको उनको भनाइ छ ।

‘लिफ्ट’ को पानी शंकरपोखरीका ७४६ घरमा पुग्ने छ । बाँकी थापाठानाको घैयारतिरको क्षेत्रका घरमा लिफ्टको पानी यही आयोजनाले काम गर्ने छ । धारा निर्माणको काम सकेपछि करिब पाँच हजार जनसङ्ख्यालाई पानीको सहज आपूर्ति हुने वडाध्यक्ष अर्जुनबहादुर कार्की बताउँछन् । वर्षौँदेखि पानीको समस्यामा रहेका शंकरपोखरी र थापाठानावासीको पानीको समस्या हल हुनु शंकरपोखरीको प्रमुख समस्याको हल हुन लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->