बागलुङ/ वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाख रुपैयाँको दुध बिक्री गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले एकै बर्षमा ४४ लाख बढीको दूध बिक्री गरेका हुन् ।
साविक कुश्मीशेरा गाविस– ३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सहभागितामा सहकारी सुरु गरिएको थियो । यो वर्ष मात्रै सहकारीले दुध निर्यातबाट ४१ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ भने गाउँमै दूध बिक्री गरेर झण्डै ३ लाख रुपैयाँ आम्दानी गरेको संस्थाका अध्यक्ष विकास पौडेलले बताए ।
अधिकांश शेयर सदस्य वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेको सहकारीले व्यवसायीक पशुपालनमा जोड दिँदै आएको छ । विदेशमा हुने मेहनत आफ्नै माटोमा गर्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सहकारीले प्रस्तुत गरेको पौडेलले बताए ।
‘हाम्रो सहकारीमा आबद्ध अधिकांश किसानले दुई वा दुईभन्दा बढी गाइबस्तु पाल्नुभएको छ, धेरै युवा साथीहरुको व्यावसायिक फार्म छ’ पौडेलले भने ‘विदेशबाट फर्केपछि आम्दानीको स्रोत नै दूध हो ।’ सहकारीको दूध पोखरा, बागलुङ बजार र कुश्मालगायतका बजारमा बिक्री हुने गरेको सहकारीका सह–सचिव गुरुप्रसाद शर्माले बताए ।
सहकारीले उत्पादन गरेको दूधमा जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले उत्पादन प्रोत्साहन दिँदै आएका छन् । बितेको एक वर्षमा दुवै निकायबाट एक लाख २७ हजार ६ सय ११ रुपैयाँ उत्पादन प्रोत्साहन सहकारीले पाएको छ । ‘बजार टाढा हुँदा ढुवानीमा समस्या छ, बर्षामा दुध बजार पु¥याउनै कठिन छ’ शर्माले भने ‘समयमा दूधको भुक्तानी पाउने र बाह्रै महिना बजारको समस्या नहुँदा उत्पादन अझै बढी हुन्छ ।’
शेयर सदस्यले अनिवार्य दुध उत्पादन गर्नुपर्ने व्यवस्था सहकारीले गरेको छ । बार्षिक २ सय ५० लिटर दुध उत्पादन नगर्ने शेयर सदस्यलाई जरिवाना लगाउने र धेरै उत्पादन गर्ने शेयर सदस्यलाई उत्पादनका आधारमा प्रोत्साहन दिने गरेको छ । जैमिनीमा उत्पादित दूधको मूल्य किसानले ६५ देखि ७५ प्रतिलिटर पाउँछन् भने सहकारीले ८० देखि ८५ रुपैयाँ प्रतिलिटरमा बजार पठाउने गरेको छ ।





