म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङको बेंसीमा कृषिउपज भण्डारण गर्न े चिस्यान केन्द्र सञ्चालन गरिएको छ । किसानको सुविधाका लागि सुन्तला जोन कार्यक्रमसँगको साझेदारीमा स्थानीय प्रेमबहादुर गुरुङले चिस्यान केन्द्र सञ्चालन गरेपछि यस वर्ष उत्पादन भएको सुन्तलाले राम्रो मुल्य पाएको छ ।
सिजनमा उत्पादन हुने सुन्तललाई केन्द्रले बोटमै बाहिरी जिल्लाका ब्यापारीको तुलनामा प्रतिकेजी १५ देखि २० रुपैयाँ मुल्य बढी दिएपछि स्थानीय किसान उत्साहित भएका छन् । स्थानीयस्तरमा सुन्तलाको उत्पादन बढेपछि सुन्तला जोन कार्यक्रमबाट करिब साढे ११ लाख र व्यक्तिगत ११ लाखको लगानी गरी कुल २३ लाखमा सञ्चालन गरिएको चिस्यान केन्द्रमा हालसम्म झन्डै चार टन सुन्तला संकलन गरिएको छ । १० टन क्षमताको केन्द्रमा पुस महिनामा सुन्तलाले भरिने गुरुङले बताए । नारच्याङबाट नियमित सुन्तला निर्यात हुने गरेकोमा केन्द्र सञ्चालनमा आएपछि अब सुन्तलाको सिजनमा व्यापारीले बजारमा नपाउने गरी भण्डारण गरिएको छ ।
घरापका प्रेम तिलिजाले गतवर्षसम्म बाहिरी जिल्लाबाट बोटमै आउने व्यापारी र स्थानीयलाई बगानबाट प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरेकोमा यसपटक ७० रुपैयाँमा चिस्यान केन्द्रले लिएको बताए । तिलिजाले जस्तै नारच्याङ बास्कोटका तमबहादुर पुनले पनि यसबर्ष सुन्तलाको उचित मूल्य पाएको बताए । सुन्तला ब्यापारीलाई बिक्री गर्ने गरेका स्थानीयले वडाभित्र चिस्यान केन्द्र सञ्चालन भएपछि स्थानीय किसानले राम्रो मुल्यमा सहज बिक्री गर्न पाएका छन् । यसअगाडी मुस्ताङमा उत्पादन भएको ३ टन स्याउ परीक्षणका लागि भण्डारण गरेकोमा सफल भएको सञ्चालक गुरुङको भनाइ छ ।
अहिले भण्डारण गरिएको सुन्तलालाई फागुन–चैत्र महिनामा तेब्बर मुल्यमा बिक्री गर्ने लक्ष्य रहेको छ । केन्द्रमा न्यूनतम प्लस ८ डिग्री तापक्रममा सुन्तला राखिएको छ । सुन्तला, स्याउ र तरकारीको उत्पादन अनुसार तापक्रम हुन्छ । नारच्याङमा वार्षिक ५० लाखभन्दा बढीको सुन्तला उत्पादन हुन्छ भने आलुको समेत पकेट क्षेत्र मानिन्छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुन्छ । जिल्लाका ६ वटै स्थानीय तहको ३ सय ५५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसबर्ष २१ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । जिल्लामा बार्षिक १७ करोड हाराहारीमा सुन्तला विक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।





