
पोखरा / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्रीले भोलि आइतबार उद्घाटन गर्ने भएका छन् । भब्य कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षको अवसरमा उद्घाटन गर्न लागिएको हो।
पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ। उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ। समारोहमा जनसहभागिता गराइने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। प्रचारप्रसारका लागि सहरका विभिन्न स्थानमा स्वागत गेट राखिएका छन्।
महानगर प्रमुख आचार्यले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन समारोह पोखराका लागि उत्सव हो। पोखरेलीको साथ र सहयोगबाट लामो प्रतिक्षापछि निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउने छौं, बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा आग्रह गरेका छौं।’
पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक भेषभूषासहितको र्यालीको आयोजना गरिने जनाएको छ।
त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए। अर्का परिकल्पनाकार इञ्जिनियर पदमबहादुर खत्री देश बाहिर रहेकाले उपस्थित गराउन नसकेको र उनीहरूलाई महानगरकोतर्फबाट नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतमले विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन महानगरले अपनत्व लिएकोमा पोखरा विमानस्थलले पोखराको मात्र नभई देशकै समुन्नतिको ढोको खोल्ने बताए।
निर्देशक गौतमका अनुसार विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानका लागि चासो दिएको बताए। अन्तर्राष्ट्रिय उडानका लागि केही समय लाग्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टासम्म सञ्चालनको लक्ष्य राखिएको उनले बताए।
‘कति ‘विजेनश’ प्राप्त हुन्छ त्यसका आधारमा विमानस्थल सञ्चालन गर्ने हो। हामी सन् २०२३ फेब्रुअरीदेखि दैनिक १८ घण्टासम्म सञ्चालन गर्न सकिन्छ भन्नेमा छौं,’ उनले भने।
नेपालको निजि विमान सञ्चालक कम्पनी बुद्ध एयरले विमानस्थल उद्घाटनका दिनमा भारतको बनारससम्म उडानका लागि देशभित्र सबै प्रक्रिया पूरा गरे पनि भारतबाट अनुमति प्राप्त नभएकाले पहिलो दिन अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमले वताए ।
मित्रराष्ट्र चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो। सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ।
वि.सं. २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो। जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरू भई अहिले समपन्न भएको हो।





