पर्वत / जिल्लाको जलजला गाउँपालिकाले नागरिकले लिनुपर्ने सेवालाई सहज बनाउन वडा–वडामा नै पुगेर घुम्ती शिविर सञ्चालन गर्न सुरु गरेको छ।
गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यताको अन्त्य गर्न तथा नागरिकलाई सेवा प्रदानमा सहज बनाउन शिविर अभियान सञ्चालन गरेर सेवा दिन थालिएको हो। गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार गाउँपालिकामा आएर सेवा लिँदा नागरिकले धेरै यात्रा गर्नुपर्ने तथा उनीहरूको समय धेरै खर्च हुने भएकाले शिविर अभियान सुरु गरिएको हो।
गाउँपालिकाको कार्यालयबाट खटिएर गएका कर्मचारीहरू गाउँपालिकाका नौ वटा वडामा पुग्ने र गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने विभिन्न सेवाहरू शिविरबाटै उपलब्ध गराउने छन्। शिविरमा सम्पत्ति तथा भूमि कर, सम्बन्धित वडाका योजना सम्झौता गर्ने, अपाङ्गता परिचयपत्र वितरण तथा निवेदन सङ्कलन, व्यवसाय नवीकरण, ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई जाडो छल्ने न्यानो कपडा (ब्लाङकेट) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका सेवाहरू प्रदान भइरहेका छन्।
शिविर अभियानको पहिलो दिन सोमबार वडा नं. २ र ३ माझफाँटका वडा कार्यालयबाट सेवा प्रवाह गरिएको छ। सामान्य प्रकारको सेवा लिनका लागि पनि लामो दूरीमा जिपको यात्रा गरेर गाउँपालिकाको केन्द्रमा आउँदा नागरिकलाई सास्ती हुने भएकाले जनतालाई सहज होस् भनेर शिविर सञ्चालन गरिएको अध्यक्ष आचार्यले बताए। ‘गाउँपालिकाको केन्द्र नजिकै रहेका सेवाग्राहीलाई समस्या नहोला। तर सेवा लिनकै माथि माथिबाट बेसीमा आउनुपर्ने अवस्थामा नागरिकलाई सास्ती हुन्छ नै।
गाडीमा आउँदा खर्च हुने, उहाँहरूको पूरै दिन जाने अवस्था छ’, उनले भने, ‘सबै प्रकारका सेवा दिने गरी कर्मचारी र जनप्रतिनिधिहरू शिविरमा भेला भएपछि एकै दिनमा सयौँ जनालाई सेवा दिन सकिन्छ। हाम्रो काम नै जनताको अवस्थामा सकेसम्म सजिलो पार्ने हो, उहाँहरूलाई सघाउने हो।’ गत पुस १४ गते बसेको कार्यपालिकाको बैठक अनुसार शिविर सुरु भएको आचार्यले बताए।
भूमि कर तिर्नकै लागि वडा नं. ३ को कार्यालयमा पुगेका स्थानीय ६८ वर्षिय मथुरा बरुवालले दैलोमै आएको सेवाले आफूहरूलाई सजिलो भएको बताए। ‘माझफाँटबाट लामाखेत पुग्न त कठिन हुन्छ नि।
गाडीमा जाऊ गाडीमा आऊ। तिर्नुपर्ने कर भन्दा गाडीको भाडा धेरै जान्थ्यो’, उनले भने, ‘अब सधैँभरि यसरी नै वडाबाट काम गरिदिए हाम्लाई किन गाह्रो हुन्थ्यो र? गाउँकै छोरा नातिले जितेपछि हामीलाई त सजिलो हुनै पर्छ।’
अहिले चिसोको समयमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई श्वासप्रश्वास, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या देखिने भएकाले शिविर सँगसँगै न्यानो कपडा वितरण गर्ने काम पनि भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले बताए। शिविर सञ्चालन अवधिभर नै न्यानो कपडा वितरण गरिने भएकाले कति जनालाई सहयोग गरिन्छ भन्ने यकिन सुरुमै नहुने उनको भनाई छ। शिविर सञ्चालनको बेलामा गाउँपालिकावासीले राखेको अपेक्षा पनि बुझेर आइने भएकाले जनताको अपेक्षा संकलन गरेर सोही अनुसारका योजना तयार पार्नका लागि पनि शिविर महत्त्वपूर्ण रहेको अधिकृत सुवेदीको भनाइ छ।





