बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ज्येष्ठ नागरिकका लागि गाउँपालिकाको धार्मिक यात्रा

ज्येष्ठ नागरिकका लागि गाउँपालिकाको धार्मिक यात्रा


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७९, बुधबार

मुस्ताङ/ घरपझोङ गाउँपालिकाद्वारा पाँचवटै वडाका ज्येष्ठ नागरिकका लागि आजदेखि धार्मिक अवलोकन भ्रमण सुरु गरिएको छ । करिब छ दिनका लागि तय गरिएको उक्त भ्रमण विशेष गरी ६० वर्षभन्दा माथिका पुरुष ज्येष्ठ नागरिकका लागि रहेको हो ।

गाउँपालिकाभित्र रहेका पाँचवटै वडाका ज्येष्ठ नागरिकलाई धार्मिकस्थल र पर्यटकीय क्षेत्रमा भ्रमण गराउने उद्देश्यसहित करिब एक सय ५० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई पोखरा, लुम्बिनी, मनकामना र चितवनको सौराहासम्म भ्रमण गराइने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।

ज्येष्ठ नागरिक भएका कारण बाटोमा समस्या नहोस् भनेर प्रत्येक वडाबाट एक/एकजना वडा संयोजक र स्वास्थ्यकर्मीलाई खटाइएको अध्यक्ष लालचनले बताए । प्रत्येक वर्ष गाउँपालिकाको बजेटबाट कर्मचारी र जनप्रतिनिधि भ्रमणमा जाने प्रचलनलाई तोड्दै यस वर्ष भने ज्येष्ठ नागरिकको सम्मानका लागि धार्मिकस्थल भ्रमण लैजाने निर्र्णय भएको उनले जानकारी दिए ।

उनले भने, “गन्तव्य एउटै भए पनि सहज वातावरण मिलाउन प्रत्येक वडाबाट वडाध्यक्षलाई सहजीकरणको जिम्मा दिइएको छ ।” ज्येष्ठ नागरिकका लागि भनेर यस धार्मिक भ्रमणमा पाँचवटै वडाका लागि रु १५ लाख बजेट छुट्याइएको छ । विशेषगरी धार्मिकस्थल भ्रमणार्थ लुम्बिनीमा मात्रै करिब दुई दिन बिताउने समय तालिका रहेको अध्यक्ष लालचनले बताए ।

ज्येष्ठ नागरिक र त्यसमाथि पनि सबैजना बौद्ध धर्मावलम्बी भएकाले लुम्बिनीलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए । उनले भने, “उमेर गएका वृद्धहरु पटकपटक घुमफिर गर्न नपाउने भएकाले यस वर्ष उनहरुलाई महत्वका साथ हेरिएको हो ।” पहिलोपटक गाउँपालिकाले आयोजना गरेको यो धार्मिक अवलोकन भ्रमण साँच्चिकै महत्वपूर्ण रहेको बताइएको छ । यो भ्रमण ज्येष्ठ नागरिकको सम्मान होस् भन्नकै लागि आयोजना गरिएको घरपझोङ–३ का वडाअध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताए ।

चालू आव २०७९/८० को गाउँसभाबाट ज्येष्ठ नागरिकका लागि सम्मान गर्न धार्मिक अवलोकन भ्रमण आयोजना गर्नुपर्छ भन्ने कुरा उठेपछि यो कार्यक्रम तय गरिएको अध्यक्ष थकालीले बताए । उनले भने, “यस पटक ६० वर्षमाथिका वृद्ध पुरुष ज्येष्ठ नागरिकलाई भ्रमण गराइन्छ, अर्को वर्ष ६० वर्षभन्दा माथिका वृद्धा महिला ज्येष्ठ नागरिकलाई देशका अन्य महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलमा भ्रमण गराइनेछ ।”

थकालीका अनुसार यस किसिमको कार्यक्रमले उमेर पुगेका ज्येष्ठ नागरिकलाई राम्रो सन्देश दिनाका साथै उमेर छँदै उहाँहरुले गाउँपालिकालाई दिएको योगदानको कदर हुने थकालीको जिकिर छ । जोमसोमबाट तय भएको ज्येष्ठ नागरिक धार्मिक अवलोकन भ्रमणमा कतिपय वयोवृद्धसमेत रहेका छन् । पचासी वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकसमेत भ्रमणमा सहभागी भएकाले लुम्बिनी र त्यस आसपासका पर्यटकीय क्षेत्र रोज्नु परेको अध्यक्ष थकालीले बताए ।

बिहान ८ बजे घरपझोङ–२ सामग्रीबाट सुरु भएको ज्येष्ठ नागरिक धार्मिकस्थल अवलोकन भ्रमणमा गाउँपालिकाका अध्यक्ष लालचनले भ्रमणमा सहभागी ज्येष्ठ नागरिकलाई खादा लगाएर बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->