बागलुङ/ स्वरोजगारीका माध्यामबाट महिलाहरुको आयस्तर बृद्धिका लागि बागलुङको नारायणस्थानमा सात दिने मौसमी तथा बेमौसमी तरकारी उत्पादन तालिम सञ्चालन गरिएको छ । नारायणस्थानका ३२ जना महिलाहरुको सहभागितामा तालिम सञ्चालन गरिएको हो ।
आफ्नै माटोमा तरकारीको उत्पादन गरेर घरखर्च चलाउन र आम्दानी गर्ने वातावरण बनाउनका लागि तालिम आयोजना गरिएको थियो । ‘सक्षम महिला समानान्तर पाईला’ कार्यक्रमअन्तर्गत शिक्षा विज्ञान प्रविधि मन्त्रालय र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा संगम तालिम तथा परामर्श केन्द्र बागलुङको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिमको समन्वय वडा कार्यालय बागलुङ नगरपालिका–१४ ले गरेको थियो । तालिमको समापन गर्दै वडाध्यक्ष चक्रबहादुुर खत्रीले आफ्नै करेसाबारीबाटै प्रसस्त आम्दानी गर्न सकिने बताए । मौसमी उत्पादन मात्रै गर्ने र बेमौसममा घरायसी प्रयोजनका लागि समेत तरकारी किन्नुपर्ने वातावरणको अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।
संगम तालिम तथा परामर्श केन्द्र बागलुङका अध्यक्ष दिपक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य चन्द्रा सुनार र सुनिता श्रेष्ठले बोलेका थिए । अनिता तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिमको सातैदिन हेम शर्मा तिवारीले प्रशिक्षण गरेका थिए ।





