बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घर तथा भवनको नक्सा निःशुल्क बनाउदै आँबुखैरेनी गाउँपालिका

घर तथा भवनको नक्सा निःशुल्क बनाउदै आँबुखैरेनी गाउँपालिका


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७९, शुक्रबार

दमौली / गाउँवासीलाई सहज रूपमा सेवा प्रदान गर्न आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने कार्यलाई अगाडि सारेको छ । गत भदौको गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्रका घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने निर्णय गरिएको हो ।

पालिकाले गत मंगलबार २ जनालाई घरको निःशुल्क नक्सा प्रदान गरेको छ । आँबुखैरेनी-३ की मनमाया थापा र अनिता थापाले गाउँपालिकाबाट पहिलो पटक उक्त सेवा लिएका छन् । उनीहरूले घर निर्माणका लागि नक्सा बनाउन गाउँपालिकामा निवेदन दिएकामा गाउँपालिकाले नक्सा निर्माण गरी अध्यक्ष शुक्र चुमान र उपाध्यक्ष दुर्गा अर्यालले हस्तान्तरण गरेका छन् ।

नक्सा पास तथा भवनको मापदण्डमा रही नयाँ बन्ने घर तथा भवनको नक्सा गाउँपालिकाले नै निःशुल्क रूपमा बनाइदिने अध्यक्ष चुमानले बताए । उनले भने, ‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क गर्ने घोषणा गरेबमोजिम हामीले उक्त कार्य अगाडि बढाएका हौं ।’

गाउँपालिकाले तीन तल्लासम्मका लागि निःशुल्क नक्सा बनाइदिनेछ । नक्सा पासका लागि आवश्यक राजस्व भने तिर्नुपर्ने उनले बताए । ‘नक्साका लागि सर्वसाधारण बाहिर कन्सल्टेन्सी धाउनुपर्दैन, पालिकामा आएर सम्पर्क गरेपछि सबै काम गरिदिन्छ’, चुमानले भने, ‘कन्सल्टेन्सीमार्फत नक्सा बनाउँदा कम्तीमा २५/३० हजार रुपैयाँ लाग्छ । निःशुल्क हुने भएपछि सर्वसाधारणको उक्त रकमले अन्य काममा सहयोग पुर्‍याउनेछ ।’

गाउँपालिकाले सुरु गरेको निःशुल्क नक्सा सेवाबाट खुसी भएको आँबुखैरेनी-३ की मनमाया थापा बताउँछिन् । उनले भनिन्, ‘दुई तल्लाको घर बनाउन लागेकी छु । कन्सल्टेन्सीमा नक्सा बनाउन गएको भए ३०/४० हजार रुपैयाँ पर्थ्यो होला, गाउँपालिकाबाट निःशुल्क सेवा पाएकी छु । अब नक्सा बनाउँदा लाग्ने पैसा घर बनाउने क्रममा थपथाप गर्न सहयोग हुने भयो ।’

गाउँवासीलाई सबै सेवा एकै भवनबाट सहज रूपमा उपलब्ध गराउनका लागि गाउँपालिकाले निःशुल्क नक्साको अबधारणा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । उनका अनुसार हालसम्म १० वटा नक्साको निवेदन पर्न गएकोमा २ वटाको काम सकिएको छ भने अन्य प्रक्रियामा छन् ।

भवन ऐन २०५५ को दफा ८ (ग) अनुसारको (ग वर्गका भवनहरू) भुइँतलाको क्षेत्रफल एक हजार वर्गफिटसम्म र उचाइ ३ तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागू हुने गाउँपालिकाले जनाएको छ । नक्सा पास नगरी बनाइएका घर तथा भवनहरूमा यो सेवा सुविधा लागू नहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->