पोखरा / जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको संयोजनमा गीताञ्जली साहित्य परिवार र विश्व हिन्दू महासंघ कास्कीको आयोजनामा एकता रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।
३०१ औं राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा विगतका वर्ष जस्तै मंगलवार बिहान उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै एकता दिवस मूल समारोह समितिका संयोजक शंकर खरालले जनस्तरको आवाजकै कारण सरकारले कटौती गरेको एकता दिवसको विदालाई पुनः सुरु गरेको बताए ।
लोकनृत्य कलाकार संघ कास्कीकी सल्लाहकार बबिता गुरुङले हरेक व्यक्तिले आ–आफ्ना ठाउँबाट इतिहासलाई मेटिन नदिनका लागि पहल गर्न आवश्यक रहेको बताइन् ।स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले पुस २७ को बिदा झिक्ने र राख्ने शृङ्खलाबाट सबैले पाठ सिक्नुपर्ने धारणा राखे । ३०१ औं राष्ट्रिय एकता दिवस मूल समारोहकी प्रचार संयोजक पार्वता पौडेलले पृथ्वीनारायण शाहका दिव्य उपदेशलाई सबैले मनन् गर्न गरे आम नेपालीमा संवृद्धि आउने बताइन् ।
कार्यक्रममा गीताञ्जली साहित्य परिवारका पूर्व अध्यक्ष शिवप्रसाद गौतम, समाजसेवी जगन्नाथ कोइराला, एकबहादुर केसी, हरिचन्द्र आचार्यले एकता दिवसका बारे आफ्ना धारणा राखेका थिए । एकता रचनावाचन नाम दिइएको कार्यक्रममा साहित्यकार मदन भण्डारी, अल्पविराम पोखरेली, छविलाल आचार्य, चन्द्रावती वाग्ले, शोभाकान्त गौडेल, बलराम तिमिल्सिना, वसन्त चालिसे, लक्ष्मण पौडेल, रुद्रबहादुर थापा, धर्मराज अल्पायु, नरेन्द्र रानाभाटलगायतले रचना वाचन गरेका थिए ।
गीताञ्जली साहित्य परिवारका अध्यक्ष रामनाथ अधिकारी संगीले विगतका केही वर्षदेखि विभिन्न संघसंस्थाको सहकार्यमा त्रिदिवसीय एकता दिवस विशेष कार्यक्रम आयोजना हुँदै आएको बताए ।





