म्याग्दी / जिल्लाको सदरमुकाम बेनी बजारमा एउटा नयाँ होटल थपिएको छ, ‘गण्डकी होटल एण्ड रेष्टुरेन्ट’। कालीगण्डकीको किनारमा शुभारम्भ भएको होटलबाट तल नदीमा सलल राफ्टिङ गरेको दृश्य पनि देखिन्छ। होटल र राफ्टिङ दुवैको सञ्चालन सामाजिक कार्यकर्ता गमबहादुर पुनले गरेका हुन्।
‘चिमखोलेको माया हजुरलाई’ भन्ने सन्देशसहित पर्यटनकर्ममा होमिएका हुन् उनी। यसका लागि उनले १५ लाख रुपैयाँ लगानी गरेका छन्। राफ्टिङ चाहिँ एउटा कम्पनीको समन्वयमा सञ्चालन गर्दै आएका हुन्। राफ्टिङका मुख्य गाइड होम पुन हुन् भने सेफ्टी कायकिङ गाइडका रुपमा सन्तोष गिरि क्रियाशील छन्।
गमबहादुरले भाडाको घरलाई होटलमा रुपान्तरण गरेका हुन्। यसमा अट्याच बाथरुमसहितका ४ ओटा र अन्य सामान्य कोठामा एकै पटक २५ जना बास बस्न सक्छन्।

‘हामी हाम्रै गाउँ चिमखोलाको सिजनअनुसारका खाद्यान्न र तरकारीका परिकार पनि खुवाउँछौंं’, उनले भने, ‘आत्मीय वातावरणमा खाना र बासको सुविधा मिलाउँछौं।’ श्रीमती दूधकुमारी र छोराछोरी मिलेर उनले पारिवारिक वातावरणमा होटल सञ्चालन गर्दै आएका छन्। खाना पकाउन भने एक कर्मचारी राखेका छन्।
प्रख्यात तीर्थ गलेश्वरधाम नजिकबाट कालीगण्डकी र म्याग्दी नदीको दोभानसम्म करिब २.५ किलोमिटर राफ्टिङ गरेको प्रति व्यक्ति १२ सय रुपैयाँ तिर्नु पर्छ। यसमा गाडी भाडा, जलयात्रा र हल्का खाजा सुविधा हुन्छ। करिब ४५ मिनेटमा जल यात्रा पुरा हुने उनले बताए।
पर्यटन कर्ममा जुटेका गमबहादुर राजनीतिमा पनि सक्रिय छन्। उनले विगतमा वैदेशिक रोजगारीको सिलसिलामा २५ महिना दुबईमा श्रम गरेका थिए। उताबाट फर्केर सामाजिक काममा सक्रिय हुँदै आएका छन्।

पुन भन्छन. ‘पाहुनालाई गाउँघरको अर्गानिक खाना खुवाउन हामीले होटल खोलेका हौं भने पर्यटनमा नयाँ प्रोडक्ट थप्न कालीगण्डकीमा राफ्टिङ सुरु गरेका छौं। हामी आशावादी छौं। हाम्रो अभियानले म्याग्दीको पर्यटनलाई टेवा पुर्याउने छ।’
‘पर्यटकलाई बेनीमा भुल्याउन नयाँ प्रोडक्टका रुपमा राफ्टिङ सुरु गरेका हौं’, उनले भने, ‘बेनीलाई नै केन्द्रविन्दु बनाएर म्याग्दी, मुस्ताङ र बागलुङमा पदयात्रा तथा टुर गराउने प्याकेज पनि बनाउने योजना छ।’ स्थानीय युवा उद्यमी एवं म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्यले पुस १७ गते यो होटल शुभारम्भ गरेका थिए।





