बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विद्रोही नेताबाट ‘होलटाइमर’ कृषकमा बदलिएका कृष्ण थापा

विद्रोही नेताबाट ‘होलटाइमर’ कृषकमा बदलिएका कृष्ण थापा

जन्मथलो सर्कुवामा सुन्तला स्याहार्दै बसेपनि राजनीतिमा पुनरागमन भने उनको अन्तस्करणको चाहना हो ।


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७९, शुक्रबार

बागलुङ/ बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको बेग्लै पहिचान छ । अझ २०६२/०६३ ताका त राजमोका जिल्लाकै ठूलो राजनीतिक शक्ति थियो । त्यही शक्तिको नेतृत्व गर्थे, कृष्ण थापा ।

उनको नेतृत्वपछि राजमोको संगठन कमजोर भएको छ । राजमोका जुझारु कार्यकर्ता अहिले एमालेदेखि अन्य दलमा पुगेका छन् । थापा भने अहिले न राजमोमा छन्, न अन्य दलमा । बरु गाउँ फर्केर सुन्तला खेतीमा लागेका छन् । आजकल उनी जैमिनी नगरपालिका वडा नं. ४ को सर्कुवा गाउँमा सुन्तलाको स्याहार गरिरहेका भेटिन्छन् । अहिले त उनले राजनीतिका कुरा गर्न पनि छाडिसकेका छन् । बरु टिप्पणी गरेर आफ्नै दलका कमी–कमजोरीमा प्रहार गर्न थालेका छन् ।

२०७४ सालमा वाम गठबन्धनको तर्फबाट उनी गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भए । उनले बागलुङ क्षेत्र नं. १ को २ बाट प्रत्यक्ष निर्वाचन जितेका थिए । तर, बीचैमा गण्डकी प्रदेश सरकार फेरिंदा उनको भूमिकाबाट पार्टी कारवाहीमा परेर थापा घर फर्कनुप¥यो । पार्टीले लगाएको ह्वीप उल्लंघन गरेको आरोपमा दुइ वर्षअघि पार्टीबाट निस्कासन परेपछि उनी गाउँ फर्केका थिए । आफ्नै पार्टीले कारवाही गरेपछि राजनीतिक शुन्यतामा बसेको उनले बताएका छन् । पार्टीको कारवाहीलाई पनि उनले अस्वभाविक मानेका छैनन् ।

बरु, कारवाहीको एउटा प्रक्रिया पूरा भएपछि आफ्नो भूमिका देखाउने, बोल्ने र केही गरेर देखाउने बताएका छन् । सामाजिक संजालमार्फत् आफूले गरेको भविष्यवाणी मिल्दै गएको लेख्न थालेका छन् । भन्छन्, ‘जे हुन्छ भनेको थिएँ, त्यही हुँदै गएको छ ।’ कांग्रेससहितको तत्कालीन गठबन्धनको विरोध गरेका थापाले चित्रबहादुर केसीको जितलाई पनि तिखो प्रहार गरिरहेका छन् ।

राजमोले कारवाही गरेपछि यसअघिको गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री छनोटको पहिलो चरणमा उनी तथष्ट बसे भने दोस्रो पटक सहभागी हुन पाएनन् । तत्कालीन कांग्रेससहितको गठबन्धनलाई पनि सहयोग गरेनन् । पार्टी निष्कासनविरुद्ध थापाले सर्वोच्चको ढोका ढक्ढक्याए । तर, सर्वोच्चको फैसला अझै आएको छैन ।

छुट्टै निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेकोले अब सर्वोच्चको फैसला पनि औचित्यहीन हुने उनको तर्क छ । पटक–पटक सरेको पेशी अब चैतमा पुगेको छ । त्यतिबेला उनको पक्षमा फैसला भएपनि औचित्य समाप्त हुन्छ । उनको रिटमा प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश कुमार चुडालको एकल इजलासले पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो । तर, पार्टीले पुनः कारवाही गरेपछि उनी प्रदेशसभा जान पाएनन् । उनको मुद्दामा दल त्यागसम्बन्धी बहस अझै विचाराधीन छ । उनले न्यायालयको पनि धज्जी उडेको टिप्पणी गरेका छन् ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्य भएकोमा पनि थापा असन्तुष्ट छन् । राजनीतिको सहज यात्रा हुँदा यो क्षेत्रमा केसी नभइ थापा नै उम्मेदवार बन्न सक्ने संभावना थियो । त्यसैले पनि तत्कालीन गठबन्धनप्रति उनी थप आक्रोसित थिए । उनको आक्रोसको फाइदा एमालेले लिएको थियो । तर, परिणाममा भने एमाले सफल भएन । यद्यपि, अझैपनि एमालेका नेता कार्यकर्ता उनको विद्रोहबाट फाइदा लिने दाउमा छन् ।

राजनीतिक सक्रियता नभएको मौकामा थापाले कृषि क्रान्ति गर्न लागेका छन् । ८ रोपनी बारीमा सुन्तला र तरकारी लगाएर उनले व्यावसायिक उत्पादन थालिसकेका छन् । भन्छन्, ‘राजनीतिमा अगाडि बढ्न पनि आर्थिक उन्नति आवश्यक छ ।’ उनले पार्टी राजनीतिमा फर्कन कारवाही सकिने समयसम्म कुर्न आग्रह गरे ।

केही वर्षअघि लगाएका सुन्तलाबाट यो वर्ष ५० हजार कमाइ गर्न भ्याएको थापाले बताए ।
पुराना केही बोटमा फलेका सुन्तला बिक्री गरेर केही पैसा कमाएका थापाले राजमोले अहिले लिएको नीतिबाट माथि उठ्नुपर्ने बताए । राजमोले ‘होल टाइमर’ भन्दै धेरै कार्यकर्तालाई केही काम गर्न नदिएको उनको आरोप छ । ‘होल टाइमर भन्यो, काम पनि गरिएन, अहिले आर्थिक कारणले भविष्य अन्यौल हुने भयो,’ उनले भने, ‘धेरै साथीहरुको आर्थिक अवस्था कमजोर भएको छ ।’ उनले अब कृषिबाटै कमाइ गरेर आर्थिक समृद्धिसहितको राजनीति गर्ने बताए ।

उनले बारीमा झण्डै ४ सय सुन्तलाका विरुवा थपेका छन् । एकदुई वर्षमा ती सुन्तला फल्दा वार्षिक ४ लाख कमाइ गर्न सकिने उनको आंकलन छ । प्लाष्टिक टनेल बनाएर तरकारी खेती पनि थालेका छन् । यो पेशाले केही वर्षमै समुन्नति ल्याउने उनले दाबी गरे ।

अहिलेसम्म उनले फलफूल र तरकारी उत्पादनका लागि कसैको सहयोग पनि लिएका छैनन् । बरु आफ्नै खर्चमा हरेक वर्ष बिरुवा थप्दै गएका छन् । ताजा तरकारी पनि लगाएका छन् । छिमेकी एकदुई जना साथी खोजेर आफै खनजोत गर्छन् । उत्पादनलाई कुश्मीसेरा बजारसहित बागलुङमा बिक्रीका लागि पठाउने गरेको उनले बताए ।

‘उत्पादन बढ्दै गयो भने बुटवलसम्म पुग्छ,’ उनले भने, ‘गाउँलाई नै सुन्तला पर्यटनको क्षेत्र बनाउने योजना छ ।’ उनले राजनीतिक मोर्चाबाट बिमुख पारिए पनि कृषि र पर्यटनको माध्यमबाट जीवन अगाडि बढाउने चाहना लुकाएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->