नवलपुर / बैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको पैसाले यहाँका विपन्न समुदायलाई जाडोमा ओढ्नका लागि सिरक वितरण गरिएको छ । गैडाकोट नगरपालिका-१७ का वडा अध्यक्ष गोपी कँडेलले जापान र अस्टेलियामा रहेका आफन्तवाट सहयोग जुटाएर ६४ घरपरिवार विपन्न समुदायका परिवारलाई बिहीबार सिरक बाँडेका हुन् ।
अस्ट्रेलियामा र जापानमा रहेका चन्दा भुसाल र सारदा सापकोटा दुई बहिनी र स्थानीय नरिश्वर सापकोटाले सहयोग गरेका हुन् । सुकुम्बासी टोलका ६४ घरपरिवारलाई एक/एक वटा सिरक बाँडिएको हो ।
एक लाख मूल्य बराबरको सिरक दिने भुसाल र सापकोटा कँडेलका बहिनी हुन् । बोटे, माझी, मुसहर र दलित समुदाय कठ्यांग्रिँदो जाडोमा ओढ्न सुविधा पुगोस् भनेर आफ्नै बहिनीलाई गरेको आग्रहअनुसार बिहीबार आफैंले ती समुदायका हरेक घरपरिवारलाई सिरक बाँडेको वडाध्यक्ष कँडेलले जानकारी दिए ।
आफू हुर्केको गाउँका विपन्न समुदायलाई कपडा दिएर सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी लागेको सहयोगी चन्दा भुसालले सुनाइन् । अर्का सहयोगी नरिश्वर सापकोटा (हाल जापान) पनि स्थानिय बासिन्दा हुन् ।
वडा नम्बर १७ को झराही खोला किनार र नारायणी नदी किनारमा ती समुदायको बसोबास रहेको छ । एक साताअघि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको १२ वटा कम्बल पनि त्यहाँका विपन्नलाई बाँडिएको थियो ।





