पर्वत / बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बाली समेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकहरूबाट आउने गरेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिन समेत बाँझो छोड्ने गरेको देखिन्छ । पर्वतका कृषकहरूले आफ्ना स्थानीय तहहरूलाई बाँदर आतंक नियन्त्रणका लागि केही न केही गरिदिन पटक–पटक अनुरोध गर्दै आएका छन् ।
यही गुनासोको सुनुवाई गर्दै जिल्लाको महाशिला गाउँपालिकाले बाँदर छोपेर अन्यत्रै पठाउने काम पनि गरेको थियो । बाँदर छोप्न सिपालु मान्छे ल्याएर छोपिएका बाँदरलाई राष्ट्रिय निकुञ्जहरूमा पठाएको थियो ।
जिल्लाका धेरै ठाउँहरूमा बाँदर धपाउन कृषकहरू खेतीबाली रुँगेर बसिरहेको अवस्था छ । लगाएको बाली बाँदरले नष्ट पारेपछि धेरै कृषकहरू कृषिबाट विस्थापित हुँदै जाने क्रम बढिरहेको छ । यही परिवेशमा जिल्लाको पैयुँ गाउँपालिकाले भने बाँदर नियन्त्रणका लागि बस्ती आसपासका रुख र झाडी काटेर सफा गर्ने अभियान सुरु गरेको छ ।
बाँदर प्रकोप न्यूनीकरणका साथै बस्ती संरचनाको सुरक्षाका लागि रुख काट्न थालेको बताएको छ । ‘पालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसको नियन्त्रण गर्न रुख काट्न लागिएको हो । बाँदरले बाली खाएर हैरान पारेपछि कृषकहरूले बाँदर नियन्त्रणका लागि अनुरोध गर्नुहुन्छ । बाँदरलाई नियन्त्रणमा राख्ने ठ्याक्कै उपाय पनि त छैन’, गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले भने, ‘बस्ती र खेती योग्य जमिनबाट ८० मिटर वरपरका रुख काट्न थालिएको छ । बाँदरको आतंकले कृषकले उत्पादन गरेका बालीनाली र मान्छेलाई पनि क्षति पुग्ने गरेको छ ।’
बाँदर नियन्त्रण गर्ने उपाय यही नै छ भन्ने नभएकाले कम्तीमा पनि झाडीमा घेरिएका घर वरपरको सरसफाइको लागि रुख काट्ने अभियान थालिएको हो ।
‘पहिले जनसंख्या धेरै थियो । बसाइँसराइ पनि हुँदैनथ्यो । अहिले जन्मदर घटेको छ । बसाइँसराइ निरन्तर बढेको छ । गाउँघर सुनसान बनेका छन् । गाउँमा रहेका केहीले खेतीपाती गरे पनि बाँदर, दुम्सी, चरा, मृगलगायतले खाइदिन्छन’, मल्ल भन्छन्, ‘गाउँ रित्तो भइसक्यो । खेतबारी जङ्गल बनिसके । रुख काटियो भने केही कम हुन सक्छ भनेर यो निर्णय गरेका हौँ ।’ गाउँपालिकाका सात वटै वडाहरूमा बस्ती आसपासका रुखहरू हटाउने छौँ ।’
रुख काट्ने अभियानका लागि गाउँपालिकाले नै प्रत्येक वडामा एक÷एक वटा रुख काट्ने मसिन र १५ दिनका लागि दुई÷दुई जनाको दरले कामदारहरू खटाएको छ ।
गाउँपालिकाले नै निर्णय गरेपछि वडा कार्यलयहरुले पनि निर्णय कार्यान्वयनका लागि रुख काट्ने अभियान तीव्रताका साथ चलाइरहेका छन् । पैयुँ गाउँपालिका–१ टकलाकका वडाध्यक्ष मीनप्रसाद न्यौपानेले गाउँ जङ्गलले ढाकिएर बाँदर लगायतका आक्रामक वन्यजन्तुको जोखिम बढ्दै गइरहेकोले गाउँपालिकाको निर्णय अनुसार तत्कालै बस्ती आसपासका रुखहरू हटाउन थालिएको बताए ।
‘हामीले जंगलका रुख काट्दै छैनौँ । बस्ती र खेतीयोग्य जमिन नजिकका रुखहरू काट्न सुरु गरेको हो । बस्ती वरपरका पुराना रुख भएका कारण बस्तीमा जोखिम पनि बढेको छ’, उनी भन्छन्, ‘बसाइँ सरेर गएका व्यक्तिलाई यताको बारेमा के ख्याल हुने भयो र ? कठिनाइ त यहाँ बसिरहेकाहरूलाई हो । बस्ती पातलिँदै जाने, बस्तीमा बनमा परिवर्तन हुँदै जाने ? अनि गाउँमा रहेका कृषकहरूले कसरी कृषि गरेर खाने ?’





