म्याग्दी/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन् । गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै अव कृषिमा आत्मनिर्भर हुने गफ मात्रै गरेर नहुने बताए ।
१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव, माघेसक्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेलाको समापन समारोहमा शनिबार बोल्दै मुख्यमन्त्री अधिकारीले माटो अनुकुल उत्पादन गरी आयात प्रतिस्थापन गर्न सकिने प्रसस्तै सम्भावना भएकाले प्रदेश सरकारले निजी क्षेत्रसँग समेत सहकार्य गरी योजना बनाउने बताए ।
‘म्याग्दीमा उत्पादन हुने बस्तु पोखराबाट ल्याउनुपर्ने अवस्थाको अव अन्त्य हुनुपर्छ,‘अब सबैले कुराभन्दा काम गरेर देखाउने समय आएको छ’ मुख्यमन्त्री अधिकारीले भने ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक म्याग्दीमा आएका अधिकारीले कालिगण्डकी नदीको शिलालाई भारतको अयोध्यासम्म पु¥याउने कार्यले धार्मिक पर्यटनलाई प्रर्बधन गर्ने बताए । उनले गण्डकी प्रदेशको लाइफलाइन मानिएको कालीगण्डकी कोरिडोर अन्तरगत उत्तर–दक्षिण जोड्ने सडकखण्डको स्तरोन्नती, कोरोला नाका सञ्चालनमा आएपछि आर्थिक गतिविधिका धेरै सम्भावना भएकाले पर्यटन क्षेत्रमा सक्रिय भएकालाई अहिले नै होटल बन्द नगर्न अनुरोध गरे ।
‘हामीसँग सम्भावना धेरै छ, कालिगण्डकीमा सुन भेटिन्छ,मैले प्रत्यक्ष धेरैपटक सुन चाल्दै गरेको देखेको छु’ मुख्यमन्त्री अधिकारीले भने । उनले कृषि, पर्यटन र जलविद्युत मुख्य आधार भएकाले अब प्रदेश सरकारले जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजना बनाउने बताए ।
मुख्यमन्त्री अधिकारीले अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शैयाको भवनलाई तत्काल सुरू गर्न समेत ठेकेदारलाई निर्देशन दिए । ‘ठेकेदारको लापरवाहीले जनतालाई असर गरिरहेको छ,‘जिल्ला अस्पताललाई गुणस्तरीय सेवाका लागि आवश्यक सबै सहयोग गर्छु’ मुख्यमन्त्री अधिकारीले भने ।





