बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्य सुरक्षा बढाउन जलजलामा ‘मोबाइल भिडियो एक्स–रे सेवा’

स्वास्थ्य सुरक्षा बढाउन जलजलामा ‘मोबाइल भिडियो एक्स–रे सेवा’


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०७९, बुधबार

पर्वत / पोखरा–मुस्ताङ सडक खण्डमा पर्छ पर्वतको जलजला गाउँपालिका। बागलुङ सदरमुकाम बागलुङ बजार, म्याग्दी सदरमुकाम बेनी बजारको नजिकमा पर्ने जलजलाबाट सदरमुकाम कुश्मा बजार आउनका लागि केही टाढा हुन्छ ।

म्याग्दी र बागलुङ नजिक भए पनि स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनका लागि अधिकांशले आफ्नै जिल्लाको अस्पतालमा पुगेर स्वास्थ्य सेवा लिने गरेका छन् । कडा खालको बिरामी भएमा जिल्लामा उपचार नहुँदा जलजलावासीहरू सिधै पोखरा र काठमाडौँ जाने गरेका छन् । सामान्य खालको उपचार सेवा गाउँमा रहेका स्वास्थ्य संस्थाहरूबाट नै पाइन्छ ।

तर भिडियो एक्स–रे सेवा लिनुपर्ने बिरामीलाई भने समस्या हुने गरेको थियो । गाउँपालिकाभरमा नै भिडियो एक्स–रे सेवा नहुँदा गर्भवती महिला, पेट सम्बन्धी समस्या भएका तथा यो सेवा लिनुपर्ने अवस्थाका व्यक्तिहरू समस्यामा पर्दै आएका थिए । भिडियो एक्स–रे गर्नका लागि मात्रै पोखरा पुग्दा धरै खर्च हुने तथा बेनी बजार छाडेर सदरमुकाममा रहेको अस्पतालमा आइपुग्न पनि टाढा हुने अवस्थामा उनीहरू छन् ।

गाउँपालिकालेबासीले लामो समयदेखि स्थानीय स्तरमा नै भिडियो एक्स–रे सेवा पाउने आसा राख्दै आएकोमा अब भने उनीहरूको माग पूरा भएको छ । गाउँपालिकाले हालै मात्र वडा नं. ३ मल्लाजमा रहेको स्वास्थ्य चौकीबाट ग्रामीण भिडियो एक्स–रे सेवा सुरु गरेपछि स्वास्थ्यको पहुँचमा वृद्धि भएको गाउँपालिकाका अध्यक्ष राजु आचार्य बताउँछन् ।

‘जस्तो की गर्भवतीले बेला बेलामा गर्भको अवस्थाका बारेमा जाँचेको हुनुपर्छ । त्यही सेवा लिनका लागि सदरमुकाम आउजाउ गर्न यहाँबाट टाढा पर्ने । पोखरा जाँदा एकै पटकमा कम्तीमा पनि १०÷११ हजार खर्च भइहाल्छ’, उनले भने, ‘समृद्धिका लागि स्वास्थ्य अपरिहार्य छ । नागरिक स्वस्थ भए पो काम गरेर खालान ! परनिर्भर व्यक्तिका लागि स्रोत जुट्ला । अहिले कम्तीमा पनि पालिकाको एक ठाउँबाट सेवा दिन सके पनि राम्रो हो भनेर सुरु गरेका छौँ ।’ सेवाको शुभारम्भ गर्दै अध्यक्ष आचार्यले समुदायमा रहेका गर्भवती महिलाले भोग्नुपरेको समस्या समाधान गर्न ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गरिएको उल्लेख गरे ।

भिडियो एक्स–रे मा प्रयोग भएका उपकरणहरू ‘पोर्टेवल’ (एक ठाउँबाट अर्को ठाउँमा सजिलै लिएर जान सकिने) भएकाले यो सेवा एउटा स्वास्थ्य संस्थामा मात्रै सीमित हुने छैन । गाउँपालिकामा अन्य वडामा रहेका स्वास्थ्य चौकीहरूमा पनि समय तालिका अनुसार पुगेर सेवा प्रवाह गरिने स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज आचार्य बताउँछन् ।

‘भिडियो एक्स–रे सेवाको आवश्यकता परेकाहरूलाई यो सेवा उपलब्ध गराउन त सकिन्छ नै ! तर पनि गर्भवतीको गर्भावस्थाका बारेमा परीक्षण गरी आमा र बच्चाको अवस्थालाई सुरक्षित र बलियो पार्नको लागि सेवा सुरु गरिएको हो’, उनले भने, ‘पालिकाभित्रका स्वास्थ्य चौकी र इकाई गरी १६ स्थानमा यो सेवा दिइने छ । गर्भावस्थाको अवधिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भए पनि हेलचक्र्याइँ र जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्थाका कारण सेवा लिन नसकेकाहरूलाई यसले सजिलो हुने छ ।’

विभिन्न समस्याका कारण गर्भ जाँच नगर्दा आमा र बच्चाको स्वास्थ्य अवस्था जोखिममा पर्ने, सुत्केरीका बखत ज्यान नै जोखिममा रहने लगायतका समस्या आउन नदिन प्राथमिकताका साथ भिडियो एक्स–रे सेवा गरेको गाउँपालिकाले बताएको छ । तालिम प्राप्त दुई जना जनशक्ति परिचालन गरिएकाले शल्यक्रिया गर्नुपर्ने, शिशुको स्वास्थ्य अवस्था ठिक नभएको लगायतका जटिल समस्या देखिए गाउँपालिकाले आवश्यक सहयोग गर्ने भनेको छ । ‘वान हर्ट वर्ल्ड वाइड’ परियोजना र स्वास्थ्य कार्यालयसँग साझेदारी गरेर गाउँपालिकाले उपकरण किनेको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखामा रहेको तथ्याङ्क अनुसार जलजलामा वार्षिक करिब एक सय जना बच्चाहरू जन्मिने गरेको देखिएको छ । यी बच्चालाई जन्म दिने आमाहरूले कम्तीमा चार पटक गर्भ परीक्षण गरेको हुनुपर्ने नियम छ । चौथो महिना, छैटौँ महिना, आठौँ महिना र नवौँ महिनामा गर्भ परीक्षण गर्नुपर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->