पर्वत / जिल्लाको पैयुँ गाउँपालिकाले कृषकहरूलाई व्यावसायिक बनाउन विभिन्न कार्यक्रमका लागि साढे ३७ लाख रुपैयाँ अनुदानमा उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत रहेर कृषक/कृषि फर्म/कृषक समूह/कृषि सहकारी संस्थाका लागि लगानी गर्न लागिएको हो । कृषकहरूको मागमा आधारित रहेर साना सिंचाइ मर्मत कार्यक्रम, कृषि यान्त्रिकीकरण वितरण, साझेदारीमा टनेल वितरण, पशुपालन व्यवसाय प्रवद्र्धन र छाडा चौपाया व्यवस्थापन कार्यक्रमका लागि उक्त लगानी गर्न लागिएको हो ।
साना सिंचाइ मर्मत कार्यक्रममा १४ लाख रुपैयाँ अनुदान दिन लागिएको छ । एउटा मर्मत कार्यक्रमका लागि दुई लाख रुपैयाँका दरले सात वटा कार्यक्रमको लागि यो अनुदान दिन लागिएको हो । यो कार्यक्रम लिने कृषक वा कृषक समूहले १० प्रतिशत लगानी बेहोर्नुपर्ने छ । यस्तै ५० प्रतिशत साझेदारीमा कृषि यान्त्रिकीकरण वितरण कार्यक्रमका लागि १० रुपैयाँ अनुदान दिइने छ । गाउँपालिकाभित्रका ३५ जनाका लागि यो अनुदान उपलब्ध गराइने र त्यसले व्यावसायिक कृषिका लागि आधुनिक उपकरण खरिद गर्नुपर्नेछ । गाउँपालिकाले उपलब्ध गराउने रकम ५० प्रतिशत हुने र बाँकी ५० प्रतिशत कृषकले ब्यहोर्नपर्ने छ ।
अध्यक्ष मल्लका अनुसार गाउँपालिकाले ७५ प्रतिशत लगानी गर्ने गरी तीन लाख रुपैयाँ बराबरका टनेल वितरण गर्न लागिएको छ । टनेलभित्र गरिने खेतीलाई प्रवद्र्धन गर्ने र उनीहरूलाई व्यावसायिक कृषक गराउने गरी ७५ वटा टनेल वितरण गरिने छ । यसमा हुने लगानीमध्येको २५ प्रतिशत भने कृषक स्वयंले लगानी गर्नुपर्ने गाउँपालिकाले सर्त राखेको छ । यस्तै पशुपालन व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत २८ जना कृषकहरूका लागि अनुदान उपलब्ध गराउन लागिएको छ ।
व्यावसायिक रूपमा पशुपालन गर्दै गाउँपालिकालाई पशुपालनमा आत्मनिर्भर बनाउन प्रयास गरिरहेका कृषकहरूमध्येबाट यो अनुदान रकम उपलब्ध गराइने छ । यो कार्यक्रमअन्तर्गत पूर्वाधार निर्माणका लागि गाउँपालिकाले कुल लगानीको १० प्रतिशत र कृषक वा फर्मले ९० प्रतिशत बेहोर्नुपर्ने भनिएको छ । तर पूर्वाधार बाहेकका अन्य लगानीमा भने गाउँपालिकाले ५० प्रतिशत र कृषक वा फर्मले ५० प्रतिशत लगानी बेहोर्नुपर्ने सर्त राखिएको छ । यसका लागि कुल १० लाख रुपैयाँ लगानी गरिने छ ।
गाउँपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि समेत कार्यक्रम अगाडि बढाउन लागेको छ । पशुपक्षी फर्म, कृषक समूह वा कृषि सहकारी संस्था सहभागी हुन पाउने यो कार्यक्रम अहिलेका लागि एउटा मात्रै सञ्चालन गर्न लागिएको छ भने यसका लागि ५० हजार रुपैयाँ अनुदान गाउँपालिकाले दिनेछ । पूर्वाधार निर्माण गर्ने भएमा १० प्रतिशत कृषकले बेहोर्नुपर्ने र व्यवस्थापनका अन्य काम भएमा ५० प्रतिशत लगानी कृषकका तर्फबाट लगानी हुनुपर्ने भनिएको छ ।
अध्यक्ष मल्लले गाउँपालिकाले कृषकहरूलाई व्यावसायिक रूपमा कृषि कर्ममा लाग्ने प्रेरणा दिन तथा लगानीको समस्यामा रहेका कृषकहरूलाई सघाउनको लागि यी कार्यक्रमहरूको लागि अनुदान दिन लागिएको हो । ‘कति कृषकहरू कृषिमा केही न केही गर्ने विचारमा रहे पनि लगानीको अभावमा समस्यामा परिरहेको अवस्था पनि देखिएको छ । केही प्रतिशत उहाँले र केही हामीले लगानी गरे कृषि कर्म सञ्चालनमा आउँछन’, उनले भने, ‘हामीले कृषिलाई प्राथमिकतामा राख्दै आएका छौँ । हामी आत्मनिर्भर रहने मुख्य क्षेत्र भनेकै कृषि भएकाले तत्कालका लागि यो अनुदान उपलब्ध गराउन लागिएको हो ।’





