शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुतलीबजारको एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

पुतलीबजारको एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०७९, शुक्रबार

स्याङ्जा /जिल्लाको पुतलीबजार नगरपालिका-१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ।

व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन्। जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने किसान १० नं वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहेका मुक्ति अधिकारीले जानकारी दिइन्।

‘वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम ५० लाखसम्म आम्दानी गर्नुहुन्छ’, उनले भनिन्।

पाँच-सात लाखदेखि १५-२० लाख आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ। किसानले बगैँचा नै ठेक्कामा दिने वा आफँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन्। कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेती गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन्।

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थपेका छन्। अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उनको भनाइ छ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुँदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउँछन्। प्रतिकेजी ५५ बाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी ९० मा बिक्री भइरहेको छ।

अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो। तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन्। जिल्लामा यस वर्ष एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->