बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नक्कली रक्सी छ्याप छ्याप्ती, अभियुक्तको पुरानै धन्दा !

नक्कली रक्सी छ्याप छ्याप्ती, अभियुक्तको पुरानै धन्दा !


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०७९, आइतबार
बरामद भएका नक्कली मदिरा। तस्बिर : नेपाल प्रहरी

काठमाडौं / ललितपुरको टीकाथलीमा डबल ब्ल्याकदेखि खुकुरी रमसम्म नक्कली उत्पादन हुने गरेको भेटिएको छ । मदिराका बजार प्रतिनिधिले मौज्दात कम हुँदाहुँदै पनि विभिन्न ब्रान्डका मदिरा बजारमा बिक्री भइरहेको देखेपछि यसको खोजी सुरू भएको थियो ।

त्यहीक्रममा ललितपुरको कुपन्डोलस्थित ‘नेक्स्ट टेस्ट लिक्वेर स्टोर’ बाट विभिन्न ब्रान्डका केही रक्सी किनेर हेर्दा त्यो नक्कली पाइएपछि प्रहरीकहाँ सूचना पुगेको थियो । नक्कली रक्सी उत्पादन गरेको आरोपमा गत भदौमा पक्राउ परेर छुटेका व्यक्तिहरुले नै फेरि त्यस्तै फ्याक्ट्री सञ्चालन गरेका हुन् ।

गत भदौ १० गते काठमाडौं प्रहरी परिसरले नक्कली रक्सी उत्पादन गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेको थियो। त्यतिबेला भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा फ्याक्ट्री सञ्चालन गरेका थिए।

तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा छाडेपछि उनीहरु पुनः नक्कली रक्सी उत्पादनमा लागेको पाइएको छ। उनीहरुले ललितपुरको टीकाथलीमा नक्कली रक्सी उत्पादन गरिरहेको फेला परेको छ।

उनीहरुले उत्पादन गरेका यस्ता नक्कली रक्सी बेचविखन गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक गाउँपालिका ३ का निरज उप्रेती, स्याङ्जा गल्याङ ९ की धर्मी गौडेल र सिन्धुलीको तीनपाटन २ का गणेशबहादुर राना मगर रहेका छन्।

काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली रक्सी उत्पादन गरी कालोबजारी हुने गरेको पाइएको छ। काठमाडौं र ललितिपुरबाट ठूलो परीणाममा यस्ता रक्सी बरामद भएको छ।

कुपण्डोलस्थित निरज उप्रेतीले सञ्चालन गरेको नेक्स्ट टेस्ट लिकर स्टोरमा खानतलासी गर्दा प्रहरीले नक्कली खुकुरी रम फेला पारेको थियो। यस्ता नक्कली रक्सी टिकाथलीमा बनाउने गरेको खुलेपछि महाशाखाले टिकाथलीस्थित मदिरा बनाउने भट्टिमा महाशाखाको टोलीले छापा मारेको थियो।

त्यहाँबाट नक्कली मदिरा, मदिरा बनाउने केमिकल, विभिन्न ब्राण्डका रक्सीका खाली बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवम् प्याकेजिङ गर्ने मेसिन लगायतका सामाग्री प्रहरीले बरामद गरेको महाशाखा प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए।

अनुसन्धानकै क्रममा काठमाडौंको मित्रनगरस्थित धर्मी पौडेलले सञ्चालन गरेको एसटी लिकर स्टोरमा पनि प्रहरीले छापा मारेको छ। त्यहाँ खानतलासी गर्दा गुणस्तरहीन नक्कली खुकुरी रम रुस्लान भोड्का ब्राण्डका मदिरासमेत बेचबिखनका लागि राखिएको फेला पारेको छ।

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए।

नक्कली रक्सी उत्पादन गर्ने विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरी वली, मनोज खत्री, गौरव तामाङ, गापिकृष्ण श्रेष्ठ लगायत भने फरार छन्।

उनीहरुले टिकाथलीमा जस्ताको टहरो भाडामा लिई नक्कली रक्सी उत्पादन गरेर कालोबजारी गरेको प्रहरीको भनाई छ।

उनीहरुले नक्कली रक्सी बजारभाउ भन्दा सस्तोमा बेचविखन गर्ने गरेको खुलेको छ। उनीहरुलाई पहिले पनि प्रहरीले यही कसुरमा पक्राउ गरेको थियो। तर छुटेपछि पनि यही धन्दा गरेको खुलेको छ।

गत भदौमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो। तर सामान्य कारबाही गरेर छाड्दा पूरानै धन्दामा संलग्न भएका हुन्।

गोल्डेन वक, ८४ भोड्का, मुग्लाङ, एपल, खुकुरी रम, रुस्लान भोड्का बरामद भएको छ। अन्य रक्सीका खालि बोतल समेत प्रहरीले बरामद गरेको छ।

यसअघि काठमाडौं प्रहरीले पक्राउ गर्दा भगवान बस्नेत एक लाख धरौटीमा र बाँकी ४ जना ५० हजार रुपैयाँका दरले धरौटी बुझाएर छुटेका थिए।
जिल्ला प्रशासन कार्यालयले असोज ४ गते उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->