पर्वत / मुटुमा समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङका मनोज रेग्मीलाई प्रवासी नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।
नाग्लीवाङको लुप्राङ स्थित आरुकटेरा घर भई जनकल्याण माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत १४ वर्षीय रेग्मीको घरको आर्थिक अवस्था दयनीय रहेको उपचारमा समस्या देखिएपछि आर्थिक सहयोगका लागि अपिल गरिएको थियो । शहीद गंगालाल हृदय रोग अस्पताल काठमाण्डौँको सल्लाह अनुसार यही माघ २३ गते मनोजको मुटुको शल्यक्रिया गर्न लागिएको छ । नाग्लीवाङका वडाध्यक्ष हरिविकास जिसीका अनुसार मनोजको घरको आर्थिक अवस्था कमजोर रहेका कारण परिवारको खर्चले मात्रै शल्यक्रिया गर्न असम्भव देखिएपछि आर्थिक सहयोगको अपिल गरिएको थियो ।
उनको शल्यक्रियाका लागि अहिलेसम्म ११ लाख ३१ हजार नौ सय ३६ रुपैयाँ सङ्कलन भएको छ । रोजगारीको सिलसिलामा हाल अमेरिकामा रहँदै आएका खिमबहादुर रेग्मीको पहलमा सङ्कलन भएको तीन लाख बाह्र हजार पाँच सय २० रुपैयाँ मनोजकी आमा मायालाई हस्तान्तरण गरिएको छ । रोजगारीको सिलसिलामा जापान रहँदै आएका गाउँले तथा बाहिरका व्यक्तिले तीन लाख एक हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन् ।
हाल बेल्जियममा रहँदै आएका गाउँलेहरूको पहलमा सङ्कलन भएको दुई लाख ६१ हजार १५३ रुपैयाँ पनि मनोजको परिवारलाई हस्तान्तरण गरिएको छ । रोजगारीकै सिलसिलामा हाल लन्डनमा रहेका सन्दीप रेग्मी लगायतका सहयोगीहरूको पहलमा ६६ हजार चार सय ५३ रुपैयाँ संकलन भएको छ। उक्त रकम पनि मनोजकी आमा मायालाई हस्तान्तरण गरिसकिएको वडाध्यक्ष जिसीले बताए ।
यस्तै रोजगारीकै सिलसिलामा हाल पोर्चुगलमा रहेका नाग्लीवाङबासीको पहलमा एक लाख ४४ हजार ८५९, स्वीट्जरल्याण्डबाट १० हजार र जिवन्धर रेग्मीबाट ३३ हजार ४८१ रुपैयाँ संकलन भएको छ ।





