आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

किन हराउँदै छन् रैथाने भोटे कुकुरहरू ?

किन हराउँदै छन् रैथाने भोटे कुकुरहरू ?


  • दिवस गुरूङ
  • माघ २१ २०७९, शनिबार

करिब ४ हजार मिटर उक्लेपछि बागलुङको बुकी भन्ने ठाउँमा पुगिन्छ। ढोरपाटनको माथिल्लो भागमा यो बुकी भन्ने ठाउँ छ।

यहाँ अझै पनि ढोरपाटन उपत्यकाका स्थानीयहरू हरेक वर्ष गाईवस्तु ल्याएर गोठ बसाल्छन्। वैशाख जेठ महिनामा उक्लेका उनीहरू असोजतिर ढोरपाटन झर्छन्।

गाउँलेहरूले वस्तुभाउसँगै गोठमा अजंगका कुकुरहरू पालेका हुन्छन्। बाक्ला भुत्लाले ढाकिएको अजंगको शरीर, लामा लामा लत्रिएका कान, हेर्दै आक्रमक देखिने।

भेगै थर्कमान हुने यिनीहरूको भुकाइ अझ खास सुनिन्छ।

यी सामान्य कुकुर भने हैनन्। नेपालको रैथाने प्रजातिका भोटे कुकुर हुन् यी। विश्वमा नेपाल चिनाउने सगरमाथा, बुद्ध, वीर गोर्खालीसँगै यसलाई पनि साथमै उभ्याउँदा अनर्थ नलाग्ला। कारण नेपालको पहिचान बोकेको छ, भोटे कुकुरले।

लाग्छ, गोठ मात्र नभई सिंगो खर्ककै रेखदेख गर्ने जिम्मा तिनै कुकुरहरूको हो।

त्यहीँ खर्कमा भेटिन्छन् सन्देश थापा।

उनी ढोरपाटनबाट दुई दिन हिँडेर यहाँसम्म आइपुगेका थिए। यो वर्ष मात्र हैन, उनी हरेक वर्ष हिँडेरै यहाँसम्मको यात्रा तय गर्छन्। घुम्न, डुल्न वा फुर्सदमा समय बिताउन यहाँ आएका भने होइनन् सन्देश।

खर्क उक्लनुको कारण सुन्दा सबैलाई अचम्म लाग्छ।

हो, यहाँ भेटिने भोटे कुकुरको प्रेमले उनलाई हरेक वर्ष यहाँसम्म डोहोर्याउँछ। केही वर्षदेखि निरन्तर भोटे कुकुरको अध्ययन, प्रजनन र संरक्षणमा तल्लीन एक पात्र उनी हुन् भन्दा फरक पर्दैन।

खर्कका हरेक गोठ–गोठ चर्हाछन् उनी। उनको कौशलता भनौं, आक्रमक र रिसाहा उपमाले चिनिने भोटे कुकुरसँग उनी एकैछिनमा झ्यामिहाल्छन्। तिनलाई फकाइफुलाइ जुकाको औषधी खुवाउँछन्। रमाइरमाइ कुकुरहरू पनि उनीसँग निस्फिक्री खेल्छन्, उफ्रन्छन् अनि घण्टौं भुल्छन्।

उनी यसैमा रमाउन थालेकोे धेरै वर्ष भयो।

नेपाली रैथाने भोटे कुकुरको संरक्षणकै निम्ति यो जीवन बरदान साबित लाग्छ उनलाई।

भोटे कुकुरसँगको प्रेम कम्ति रोचक छैन सन्देशको। हामीले सोध्यौं, उनले कुराकानीको पोयो फुकाए।

घर उनको पाखाथर गाउँ, ढोरपाटन। उनको बाल्यकाल ढोरपाटन कै फाँटमा हाँस्दै र खेल्दै, बुकी उक्लदै र लेकका गोठहरू चहार्दै बित्यो। वैशाख जेठ महिनामा हजुरबालाई पछ्याउँदै उनका पैतालाले पनि ढोरपाटन माथि बुकी यात्रा तय गर्थे। उनी कहिले हजुरबासँगै घाँसपात बटुल्न लेकतिर जान्थे त कहिले गाईभैँसी चराउन पाटनतिर कुद्थे। अनि उनीसँग साथैमा हुन्थे भोटे कुकुरहरू।

दिनभर गाईवस्तुलाई चराएर साँझ सकुशल गोठ फर्काउने जिम्मा भोटे कुकुर र उनको हुन्थ्यो। दिन, हप्ता मात्र नभई महिनौं दिन उनी लेकमै हराउथे। प्रकृतिको काखमा धीतमरून्जेल हराउन जो कोहीले कहाँ पाउँछन् र? थोरै भाग्यमानी मध्ये उनी एक थिए।

उमेरसँगै पढाइका लागि उनी पाल्पा र पोखरासम्म पुगे। पढाइ अघि बढाउदै लगे।

उमेर छिप्पिँदै गए पनि बाल्यकालका यादहरू बिर्सन कहाँ सकिन्छ र ?

उनले पनि बिर्सन सकेनन्।

स्कुल छुट्टी भयो कि लेकतिर उक्लिहाल्थे। कलेजमा कक्षा उक्लदैँ गर्दा पनि उनले लेक उक्लिन बिर्सेनन्।

समयसँगै सबथोक परिवर्तन हुँदै गयो। बाल्यकालमा दर्जनौँ गोठालाहरू गाईवस्तु धपाउँदै लेक उक्लदाको त्यो रौनक आज छैन भने पनि हुन्छ।

लेक उक्लने गोठालाहरू घटे। गोठमा बाँधिने गाईवस्तुका संख्या पनि घटे। अनि सँगै घटे सुरक्षाका लागि पालिने भोटे कुकुरहरू।

गोठैपिच्छे भेटिने भोटे कुकुरहरू आजभोलि मुस्किलले देखिन्छन्। त्यो पनि प्रायः ठिमाहा र काठे मात्र भेटिन्छन्। खाट्टी भोटे कुकुर त औंलामा गन्न सकिन्छ।

उनी हप्ता दिन ढोरपाटनका विभिन्न लेकहरू चहार्दा भोटे कुकुरको संख्या नाजुक देखेँ।

यहीँ गतिमा संख्या घट्दै जाने हो भने केही दशकमा नेपालबाटै रैथाने भोटे कुकुर लोप हुुन्छ’ उनले एकलाप गरे। उनी एक्लै रन्थनिए।

भोटे कुकुर लोप हुनबाट कसरी बचाउने होला ?

एक्लै जुक्ति लगाए। हजार उपाय खोज्दा पनि नपाएपछि आफैं कस्सिन्छु भनेर उनी लागि परे। अनि त उनी भोटे कुकुरको संसारमा जोडिए।

भोटे कुकुरको अनुसन्धान, प्रजनन र संरक्षणमा उनी एक्ला थिए। एक्लै लागिरहेकै थिए।

भोटे कुकुर जोगाउन सन्देशको लगाव देखेर उनको अभियानका अर्का सारथी थपिए पोखराका विजय पौडेल। उनी वैदेशिक रोजगारका शिलशिलामा जापान पुगेर भर्खर देश फर्किएका थिए। सन्देशलाई पनि ढुंगा खोज्दा देउतै मिलेजस्तो भयो। दुवैको अथक मिहिनेत, प्रयास र लगानीमा थुप्रै सपनाहरू जन्मिए अनि सँगै जन्मियो ‘भोटे कुकुर क्यानल न्याटिभ तिब्बतियन मास्टिफ ब्रिडिङ्ग सेन्टर’ ।

विभिन्न प्रजातिका देशी विदेशी जातका कुकुरको प्रजनन र बिक्रीका लागि नेपालका विभिन्न ठाउँमा थुप्रै क्यानल हाउस र पेट सपहरू सञ्चालन नभएका हैनन् तर अरूभन्दा यो सेन्टर धेरै पक्षमा फरक र विशेष पनि छ।

‘अन्य क्यानल हाउसहरू विभिन्न प्रजातिका कुकुरको प्रजनन र बिक्री गर्छन् भने हाम्रो यो सेन्टर मात्र नेपाली भोटे कुकुरको लागि खोलिएको सेन्टर हो। भोटे कुकुरबाहेक अन्य कुनै ब्रिडको कुकुरको प्रजनन र बिक्री हाम्रोमा हुँदैन। हाम्रो नितान्त प्रयास भनेकै नेपाली रैथाने भोटे कुकुरको संरक्षण गर्नु हो,’ विजयले सुनाए।

सेन्टरबारे थप प्रकाश पार्दै सन्देश थप्छन्, ‘विदेशी प्रजातिका कुकुरहरूले नेपालमा प्राथमिकता पाउँदा नेपालकै रैथाने प्रजाति संरक्षणबिहीन अवस्थामा छ । यति मात्र नभई कालान्तरमा यो प्रजाति नै लोप हुने अवस्था सिर्जना नहोला भन्न सकिन्न । हामी दुईको यो सानो प्रयासले ठूलै परिवर्तन नआए पनि परिवर्तनको सानो झिल्को ल्याउनेमा हामी विश्वस्त छौं ।’

सपनालाई यर्थाथमा परिणत गर्न त्यति सजिलो भने थिएन।

विजयलाई सम्झना छ, सुरूवातमा पर्याप्त लगानी र पर्याप्त सीप नहुँदाको ठक्कर। सपनालाई यर्थाथतामा बदल्न त्यति सजिलो कहाँ हुनु? ‘सेन्टर सञ्चालनमा आवश्यक प्राविधिक, प्रशासनिक ज्ञान सिक्न हामी न्याटिभ तिब्बतियन मास्टिफसँग आवद्ध विभिन्न नेपाली तथा विदेशी व्यक्तित्वहरू अन्तरक्रिया गर्यौं। निर्मलपोखरीमा अवस्थित मेरै घरसँग जोडिएको जग्गालाई सेन्टर सञ्चालनका लागि छुट्यायौं,’ उनी थप्छन्, ‘वरपर तारवार लगाउन र कम्पार्टमेन्ट बनाउन आवश्यक सामाग्री किन्न ऋण नै काढ्यौं।’

सेन्टर निमार्णको खाका तयार भएपछि मुख्य काम थियो भोटे कुकुरहरू खोज्ने, बटुल्ने र सेन्टरमा ल्याउने।

भोटे कुकुर खोज्नु त्यति सजिलो काम होइन। भोटे कुकुर खोज्न सन्देश बागलुङ, रोल्पादेखि रूकुमका गोरेटोहरू नापे। मुस्ताङ, डोल्पा र जुम्लातिरका गाउँहरूमा फोन घुमाए तर भोटे कुकुर भेटिने ती ठाउँहरूमा बिउ नै मासिएको गोठालाहरूले जवाफमा फर्काउथे।
यता विजय भने कुकुर खोज्नै पूर्वका इलाम, पाँचथरदेखि ताप्लेजुङ फन्को मारिसकेका थिए।

ठिमाहा र काठे कुकुरहरू प्रशस्त मात्रामा भेटिन्थे। तर नेपालमै सीमित संख्यामा खुम्चिएको रैथाने भोटे कुकुर पाउन ‘फलामको चिउरा चपाउनु’ सरह हुन्थ्यो।

भेटिएका भोटे कुकुरहरू पनि प्रायः उमेर गएकाहरू हुन्थे जसले धेरैमा एक दुई पटक मात्र प्रजनन गर्न सक्थे। दुर्गम गाउँहरूमा आकलझुकल कतै डागो मात्र भेटिन्थे त कतै माउ मात्र। गोठालाहरूले हाडनाता नपर्ने गरी बूढो बिउलाई छनोट गरी राम्रो प्रजनन गराउन नसक्दा युवा अवस्थामा छाउरा छाउरीहरूका बनावट सामान्य किसिमको मात्र पाइन्थ्यो। त्यसैले तिनै बूढा कुकुरहरूमा अझै बाँकी रहेको शुद्ध जिन पछिल्ला पुस्ताहरूमा जोगाईराख्ने उद्धेश्यले नै यो ब्रिडिङ सेन्टर जन्मिएको थियो।

भोटे कुकुर भेटिहाले पनि अर्को चुनौती हुन्थ्यो, गोठालालाई उनीहरूको भोटे कुकुर संरक्षणसम्बन्धी योजना बुझाउनु। आफ्नै परिवारको सदस्य झै हुर्काएका कुकुर बेच्न उनीहरू हतपत्त मान्दैनथे। अन्ततः महंगो मुल्य हालेरै कुकुर सेन्टरमा ल्याउथे। ल्याएका कुकुरहरू केही एक वर्ष नबित्दै बिते। बाँकी उमेर छिपिएकै भएपनि शुद्ध नस्लका कुकुरले एक पटक मात्र प्रजनन गराउन सकेकोमा उनीहरू सन्तुष्ट हुन्थे।

सन्देशलाई इमान्दारिता, कर्तव्यनिष्ठ र बफदारिताको पर्याय लाग्छ कुकुर। अझ यी गुणहरू उनी बढी भोटे कुकुरमा भेट्छन्। केही वर्षअघि उनी र साथीको संयुक्त लगानीमा पोखरामा सञ्चालित सेन्टर नाफा कमाउने उदेश्यले भन्दा पनि विशुद्ध भोटे कुकुरको अध्ययन, प्रजनन र यसको संरक्षणमा केन्द्रित सेन्टर हो।

‘यो हाम्रो सानो प्रयाससहितको सुरूवाती पाइला मात्र हो। थोरै लगानी, कम जनशक्ति र सीमित स्रोतसाधनमा छोटो समयमै उल्लेखनीय नतिजाहरू आउन नसकेपनि यसमा हामी सन्तुष्ट छौं,’ सन्देश सुनाउँछन्, ‘विस्तारै यसलाई भोटे कुकुर अनुसन्धान एवं अध्ययन केन्द्र बनाउने महत्वाकांक्षी सपना हामीले बुनेका छौं ।’

आजकाल मान्छेभन्दा बढी समय उनी कुकुरसँगै ब्यतित गर्छन्। कहिले सेन्टरमा कुकुरलाई नुहाउँदै र सरसफाई गर्दै गरेका भेटिन्छन्, कहिले भोटे कुकुरको अवस्था बुझ्न बागलुङ र रूकुमका ग्रामीण भेडीखर्कहरू चहारिरहन्छन्।

यता भोटे कुकुर संरक्षणका लागि जनचेतना फैलाउन पनि भ्याएकै छन्।

यतिमा मात्र सीमित हुँदैनन् उनीहरू । भोटे कुकुरको विगतको इतिहास खोतल्दै यसको प्रजनन र संरक्षण कार्यका लाग्न मानिसहरूलाई समेत हौस्याउँछन्।

सुन्दा अचम्म लाग्ला !

यस सेन्टरमा प्रजनन भएका र विक्रीमा रहेका हरेक कुकुरको आफ्नै जन्मदाता प्रमाणपत्र पनि हुन्छ। विक्रीमा रहेका हरेक कुकुरका नाता प्रमाण पनि पेश गरिन्छ। विजय थप्छन्, ‘हामी चाहन्छौं कि हाम्रो सेन्टरमा प्रजनन भएका कुकुरहरू सबै शुद्ध भोटे कुकुर नै हुन्।’

किन हराउँदै छन् रैथाने भोटे कुकुरहरू ?

केही वर्षअघि ग्रामीण भेगका तगारो कुरिरहेका भोटे कुकुर आजकाल किन भेटिनन्?

विशेषगरी हिमाली र पहाडी भेगहरूका गाउँ र भेडी गोठालाका साथी बनेका यी कुकुरहरू लेकहरूमा भेडी गोठहरू रित्तिदै गएसँगै घट्दै छन् ।

विजय भन्छन्, ‘गाईभैँसीको प्रजननका लागि डागो लगाउन लगिएझैँ माउ कुकुरलाई पनि हाड नाता नपर्ने डागो लगाईनु पर्दछ। तर आफ्नै खेती किसानी र वस्तुपालनमा व्यस्त किसान र गोठालाहरूलाई यसको महत्व कसले बताउँलान्? वास्वतमै भोटे कुकुरको संरक्षणका लागि तिनै गाउँलेहरूलाई हाड नाता नपर्ने माउँ र डागोबीच प्रजनन बारे प्रेरित गर्न आवश्यक देखिन्छ।’

अन्य प्रजातिका कुकुरहरूले वर्षमै दुई तीन पटक प्रजनन गर्दा भोटे कुकुरको प्रजनन भने वर्षमा मात्रा एक पटक हुन्छ। यस कारणले पनि भोटे कुकुरको संख्या अरूभन्दा कम नै हुन्छ। यति मात्रा नभई प्रायः यी कुकुरहरू उच्च हिमाली र पहाडी विकट भेगहरूमा पाइन्छन् । राम्रो खानपान, उचित स्याहारसुसार र सुरक्षाका अभावमा तिनीहरू गुज्रिरहेका हुन्छन्।

यता शहरमै ल्याएर तिनीहरूको प्रजनन, बिक्रीवितरण र संरक्षण कार्य आफैँमा चुनौतीको विषय बन्दछ। हिमाली हावापानीमा हुर्कने यी कुकुरहरू सहरको गर्मी, खानपान र वातावरणमा आयु तुलनात्मक रूपमा कम हुन्छ। त्यसैले यी कुकुरहरूलाई उनीहरूकै बासस्थानमा प्रजनन गराउने व्यवस्था अति सान्दर्भिक बन्दछ।

हाम्रो नेपाली समाजमा छोरीलाई अवहेलना गर्ने परम्परा त जगडिएरै बसेको छ नै। यहीँ नियति कुकुरले पनि भोग्नुपर्दछ। जन्मिएका छाउरालाई पाल्ने र छाउरीलाई चाँहि जन्मिनेबित्तिकै मारिदिने चलन अझै पनि चल्तीमा छ। प्रायः छाउरा पाल्न चाहने तर त्यहीँ छाउरा पाउने छाउरी पाल्न पन्छिने भएकाले यो प्रजातिको अस्तित्व नै धरापमा परेको छ। त्यसैले लोपोन्मुख भोटे कुकुरको जगेर्ना गर्न छाउरी नै पाल्न सुझाव र आग्रह गर्छन् सन्देश।

वास्तवमा भाले कुकुरभन्दा पोथी कुकुरले नै राम्रो सुरक्षाको कर्तव्य निर्वाह गरेको अनुभवहरू सुनाउँदै उनी थप्छन्, ‘साच्चै नै भाले जातका कुकुरहरू घर छाडेर पोथी कुकुर खोज्दै गाउँ शहर, वनजंगल महिनौ भोकभोकै डुलेका हामीले देख्न सक्छौं। तुलनात्मक रूपमा भाले कुकुरहरू पोथी कुकुरभन्दा बढी रिसाहा र घमन्ड स्वभावका हुन्छन्। तिनीहरू झगडालु स्वभावका भएकाले कति चोटपटक लागेर घाइते हुन्छन् त कतिले अकालमै ज्यान गुमाउँछन्। यता शान्त स्वभावका पोथी कुकुरहरू भने इमान्दारपुर्वक आफ्ना सुरक्षाका जिम्मेवारीहरू बहन गर्छन्। यसकारण पनि भालेभन्दा पोथी कुकुर पाल्दा मालिकलाई पनि सुरक्षाको प्रत्याभुति हुन्छ भने यसले भोटे कुकुर संरक्षणमा पनि ठूलो योगदान पुर्याउँछ।’

हरेक विषयसँग थुप्रै अन्धविश्वास र भ्रमहरू जगडिएर बसेका हुन्छन्। रैथाने भोटे कुकुर संरक्षणलाई ओझेलमा पार्ने यस्तै थुप्रै अन्धविश्वासहरू जनमानसमा अझै विद्यमान छन्। बाइस नङ्ग्रे कुकुरको माग त्यसमध्ये एक हो। आममानिसको गलत बुझाइ छ, बाइस नङ्ग्रे कुकुर एकदम बलियो, अब्बल दर्जाको र बाघसँग पनि भिड्न सक्छ। जुन बुझाइ सरासर गलत हो। वास्तवमा बाइस नङ्ग्रे गुण र यसको बानीव्यवहारसँग कुनै सम्बन्ध नै हुँदैन। मानिसहरू बाइस नङ्ग्रे भनेपछि ठिमाहा र अन्य ब्रिडका कुकुरलाई पनि चर्को मूल्य तिर्न तयार हुन्छन्।

पुच्छर बाया फर्किए शुभ र दाया फर्किए अशुभ भन्ने अन्धविश्वास अझै पनि जीवन्त छ। जसकारण गुणस्तरीय भोटे कुकुरहरू मानिसको रोजाइमा कम पर्दछन्। यस्तै गलत र भ्रामक जानकारीहरू विभिन्न अनलाइन मिडियाहरूले पनि फैलाइरहेका हुन्छन्।

भोटे कुकुरका छाउराछाउरीलाई कान समातेर उचाल्दै शुद्ध नश्लको हो होइन छुट्टाउने अर्को अन्धविश्वास अझै जीवन्त छ। कान समातेर उचाल्दा कुकुरले कुनै आवाज ननिकाले शुद्ध र आवाज निकालेमा काठे मानिने र त्यहीँअनुसार मूल्य निर्धारण गर्छन् जुन सरासर गलत हो। शरीरको सबै भार कानमा पर्ने हुनाले वास्तवमा कुकुर पीडाले कराएको हुन्छ।

भोटे कुकुर पाल्नै छाडे

कुकुर मानिसहरूको पुर्खौदेखिको नजिकको साथी हो। आजको समयमा कुकुर कोही बाध्यताले पाल्छन् त कोही रहरले। गाउँघरतिर जनधन र वस्तुभाउँको सुरक्षाका लागि पालिने कुकर शहरतिर सोख र रहरले पाल्छन्। यता महंगा विदेशी ब्रान्डेड कुकुरहरू पाल्ने फेशन नेपालमा चलेको पनि धेरै भएको छैन। नेपाली रैथाने कुकुरलाई लत्याएर हजारौं मूल्यदेखि लाखौं मूल्यको विदेशी कुकुर विशेषगरी सहरियाहरू पाल्छन्।

विदेशी ब्रान्डका कुकुरहरू जति महंगा छन् त्यति नै खर्चिलो छ, यसको खानपान, औषधी र सुरक्षाको खर्च। विदेशी कुकुरलाई विदेशी महंगो खान्की नै चाहिन्छ। नियमित औषधी र भ्याक्सिन लगाउदा पनि तिनीहरू तन्दुरूस्त र लायक हुँदैनन्। यता नेपाली रैथाने कुकुरहरू पाल्दा भने कम खर्चिलो पर्न जान्छ।

हात्ती, गोही, सर्प लगायत विभिन्न जीवजन्तुका अध्ययन, अनुसन्धान र प्रजननका लागि सरकारकै प्रयासमा थुप्रै अध्ययन तथा प्रजनन केन्द्रहरू देशका विभिन्न ठाउँमा सञ्चालनमा छन्। यतिमात्र नभएर स–साना कीराफट्याङ्ग्रादेखि चराचुरूङ्गीसम्म र स–साना जडीबुटीदेखि ठूल्ठूला रूखविरूवाको खोज र अनुसन्धानका लागि सरकारी तथा गैरसरकारी संस्थाहरूको प्रयासहरू प्रशंसनीय छन् तर नेपालकै रैथाने भोटे कुकुरको विषयमा भने चासो शून्य देखिन्छ।

कस्तो विडम्बना यो देशमा ! हात्ती, बाघ, भालुदेखि चराचुरूङ्गी र पुतलीसम्मको खानपान, रहनसहन, बासस्थानदेखि प्रजननसम्मको खोज अनुसन्धान गरेर थुप्रै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खोजपत्रहरू प्रकाशित भएका छन्। तर नेपालकै रैथाने भोटे कुकुरको विषयमा भने अझै सुरूवातसमेत भएको देखिन्न। नेपाली भोटे कुकुरलाई संरक्षण गर्दै यसलाई विश्व बजारमा ब्रान्डिङ गर्नुपर्ने खाँचो छ।

भोटे कुकुरको नै संरक्षण किन गर्ने ?

साथी, अभिभावक त कहिले सहयोगीको भूमिका निवार्ह गर्ने भोटे कुकुर नेपालको एक मात्र रैथाने प्रजातिमा पर्दछ। त्यसैले यसको प्रजनन, बिक्रीवितरण र संरक्षण गर्दै विश्व बजारमा ब्रान्डिङ गर्दा नेपालको नाम र नेपालीको पहिचान सँगै जोडिएर आउँछ। यता यो कुनै फेन्सी प्रजातिको कुकुर हैन। शहरतिर सोखले पाल्नेहरू धेरै भएपनि गाउँघरतिर यसको छुट्टै महत्व अझै छ। गाउँघरमा खेतीबाली, जनधन र वस्तुभाउको सुरक्षाका लागि यसको भूमिका अतुलनीय रहन्छ। भोटे कुकुरको पयार्य हुन्, इमान्दारिता, बफदारिता र कर्तव्यनिष्ठ। घर, फार्म वा अफिस सुरक्षाका लागि मासिक हजारौं तिरेर गार्डले गर्ने सुरक्षाको काम भोटे कुकुर एक्लैले गर्न सक्दछ।

किन महंगो छ भोटे कुकुरको मूल्य ?

अहिलेको वर्तमान परिपेक्षमा एकै ठाउँमा गुणस्तरीय डागो र माउ कुकुर भेट्न मुस्किल छ। हाडनाताबीच प्रजनन गर्दा गुणस्तर खस्कँदो छ। वयस्क र लायक भोटे कुकुरहरू कम मात्रामा भेटिन्छन्। त्यसैले उमेर छिपिएका माउ र डागो प्रजननका लागि सेन्टरमा ल्याउन उनीहरू बाध्य छन्। राम्रै लगानी गरेर ल्याएका ती कुकुरहरूले कति प्रजनन नै गर्न सक्दैनन् त कतिले बढीमा एक दुई वर्ष मात्र प्रतिफल दिन्छन्। हिमाली भेगको चिसो हावापानीमा रम्ने यी कुकुरलाई शहरमा सुहाउँदोे कृतिम वातावरण निमार्ण गर्दा थप खर्चिलो बन्छ।  उचित खानपान, स्वास्थ्य र सुरक्षाको प्रबन्ध गर्दागर्दै पनि कति रोग लागेर मर्छन्। पर्याप्त रेखदेख र स्याहारसुसारका बावजुदका कति प्रजनन नै हुँदैनन् त कति जन्मिएका छाउराछाउरी नै अकालमै मर्छन्।

यो जातको अर्को प्राकृतिक विशेषता भनेकै एक वर्षमा मात्र एक पटक प्रजनन हुनु हो। यता छाउरीभन्दा छाउराको बढी माग हुने पनि गर्दछ। यी विविध कारणले गर्दा भोटे कुकुरको मूल्य आकसिएको छ। त्यसैले सञ्चालनमा रहेका प्रजनन केन्द्रहरूलाई उचित हौसला र साथ दिदैँ सरकार पक्षबाट नै भोटे कुकुरको अध्ययन, अनुसन्धान र प्रजननमा तदारूकता आवश्यक छ। 

सानो र सरल प्रयास

दुई साथीको संयुक्त सीप, लगानी र प्रयासले सञ्चालनमा आएको यस सेन्टर ३ वर्ष लागिसकेको छ। सेन्टरमा १५ देखि २० वटा भोटे कुकुरहरू पालिएका छन्। माउ कुकुरहरूले छाउराछाउरी पाइसकेका छन्। लाखौं लगानी गरिसक्दा पनि अन्य प्रजातिका कुकुरको तुलनामा यसबाट भने मनग्य आम्दानी भएको छैन।

तैपनि दुवै जना आफ्ना मिहिनेत र परिश्रममा सन्तुष्ट छन् । सरकारी निकाय एवं विभिन्न संघ संस्थाबाट साथ सहयोग र हौसलाको अपेक्षारत छन् दुवै । उनीहरूको प्रयासले पक्कै आम मानिसमा भोटे कुकुरप्रति स्थानीयमा चेतना ल्याउनेछ।

निदाएको सरकार कति बेर त निदाउँला? यी दुई युवाको झकझकावटले कुनै दिन अवश्य ब्युँझिने छ निदाइरहेको सरकार। अनि खुल्नेछ रैथाने भोटे कुकुर संरक्षण गर्ने चेतना।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->