बागलुङ/ लेखक खगेन्द्र संग्रौलाको जीवनीमा आधारित ‘एक बागी’ पुस्तकमाथि संग्रौला र उक्त पुस्तकका लेखक उज्वल प्रसाईंसँग पाठकहरुको बिमर्श कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नयाँ विश्व अनलाइनले आयोजना गरेको कार्यक्रममा संग्रौलाले राजनीति, साहित्य र दैनिकीमा पनि बिद्रोही भएर गरेका अभिव्यक्ति, लेख रचना लगायतमा पाठकले जिज्ञाशा राखेका थिए । सहभागीले संग्रौलाको लेख, व्यङग्य र अभिव्यक्तिबाट राज्यले सिक्न नसकेको बताए ।
आम नागरिकको आबाज उठाउने लेखकका शब्दबाट राज्य उत्तरदायी बन्नुपर्ने, बेथितिबाट माथि उठ्न सक्नुपर्ने धारणा अधिकांश सहभागीको थियो । संग्रौलाले भने राजनीति गर्जन भएको र साहित्य नरम दबाव भएको बताए । राजनीति, सत्ता र गर्जनले साहित्यको भावना बुझ्न नसक्दा राज्यमा बेथिति आएको धारणा राखे ।
‘साहित्यले राजनीतिलाई दिशानिर्देश गर्नुपर्ने त हो, तर राजनीतिले मुलनीतिको अहंम् पालेको छ’, उनले भने, ‘मुलनीति बनाउनेले सबैको चाहना र सुझाव मान्नुपर्छ ।’ राजनीति, नेता र नेतृत्वले आम नागरिकको भावना बुझ्नुको साँटो निरंकुशता लाद्न खोज्दा दलहरुको अस्तित्व कमजोर भएको पनि उनको भनाइ थियो ।
कार्यक्रममा ‘एक बागी’का लेखक उज्वल प्रसार्इंले एउटा भुईँमान्छेको जीवनी लेख्न पाएकोमा खुसी व्यक्त गरे । ‘जीवनी राजा महाराजा, शासक र सम्राटहरुको लेखिन्छ, मैले त एक आममानिस, भुईंमानिस र साधारण मानिसको जीवनी लेख्न पाए’ प्रसाईले भने, ‘संग्रौलाले नेपालको राजनीतिक परिवर्तनको योगदान, साहित्य तथा नागरिकको आवाज बुलन्द पार्न खेलेको भूमिका यहाँ लेखिएको छ ।’ संग्रौलाको जीवनमा भएका गतिविधि, उनले लेखेका लेखरचना र अभिव्यक्तिबाट उनको जीवनी बनेको प्रसार्इंले बताए ।
उक्त अबसरमा पाठकहरुले प्रसाईंको लेखनशैलीको प्रशंसा गरेका थिए भने लेखन उत्साहमाथी जिज्ञाशा राखेका थिए । संग्रौलाको विद्रोही स्वभाव र उनले पाएको प्रेरणाको श्रोतबारे पनि धेरैको जिज्ञासा थियो ।
सहभागीको जिज्ञासामा संग्रौलाले आफ्नै घर परिवार, समाज र परिवेशले बिद्रोही बनाएको बताए । उनले अझै पनि नागरिकको आवाज बोल्ने काममा लेखिरहने प्रतिवद्धता जनाएका थिए । संग्रौलाका सयौं लेखर रचनाका साथै अनुवाद गरिएका धेरै पुस्तकसमेत प्रकाशित छन् । नयाँ विश्व अनलाइनका सम्पादक मुकेशराज भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।





