बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पालो लगाएर सडक कुर्दै चुवाबासी

पालो लगाएर सडक कुर्दै चुवाबासी

गुणस्तरीय निर्माणको लागि खबरदारी गर्नको लागि कुरुवा ।


  • संजय रेग्मी
  • माघ २५ २०७९, बुधबार

पर्वत / जिल्लाको कुश्मा नगरपालिका–८ चुवाका लक्ष्मण पौडेल, नीरव क्षेत्री, ज्ञानबहादुर केसी, कुलप्रसाद पोखरेल पछिल्लो एक महिनायता निर्माणाधीन सडकमा नै भेटिन्छन् । कुश्मा नगरपालिका–३ दुर्लुङ सोती सडक खण्डअन्तर्गत चुवामा रहेको स्वास्थ्य चौकीदेखि चुवामै रहेको मध्यपहाडी लोकमार्ग जोड्ने सडकको ढलान कार्य चलिरहेको छ ।

यी युवाहरू कहिले आलोपालो गरेर त कहिले समूहमै बसेर ढलानको काम भइरहेको ठाउँमा भइरहेका हरेक कामको नियमित रूपमा अवलोकन गरिरहेका छन्। उनीहरूको यो कामलाई ‘गुणस्तरका लागि युवाको लौरे पालो’ को रूपमा हेरिएको छ । उनीहरूको साथमा लौरे पालो नभए पनि उनीहरूले दैनिक रूपमा गरिरहेको अवलोकनको काम ‘लौरे पालो’ जस्तो नै छ । उनीहरूले निभाएको ‘वाच डग’ को
भूमिकाले काम फटाफट र गुणस्तरीय भएको छ ।

विगतमा भएका सार्वजनिक निर्माणका काम सम्पन्न भएको एक÷डेढ वर्षमै भत्किने र उप्किने गरेपछि निर्माण पक्षलाई खबरदारी गरेर गुणस्तरीय निर्माणको लागि आफूहरूले नियमित रूपमा निर्माणको काम हेरिरहेको लक्ष्मण बताउँछन् । पूर्वाधार कार्यालयमार्फत आएको ३५ लाख रुपैयाँले सडक ढलानको काम भएको र उपभोक्ता समितिमार्फत काम गर्नका लागि पुन २० लाख रुपैयाँ बजेट आएको उनको भनाई छ ।

‘मिक्स्चरमा हेर्नुपर्छ। ढलान गर्ने बेलामा छ इन्च पुग्यो की नाइँ ? रड बाँधेको छ की छैन ? त्यो रड पहिले भने अनुसार १० कै होइन हेर्नुपर्छ । आँखा झिमिक्क गरे त बिग्रने जोखिम हुन्छ । जिल्लावासीहरूमा हामीले दिन खोजेको सन्देश के हो भने उही बजेटले पनि यत्तिको गुणस्तरको काम गर्न सकिँदो रहेछ’, शर्मा भन्छन्, ‘हामीले ध्यान दिँदा साथ त्यसको गुणस्तरमा २०÷२५ प्रतिशत वृद्धि हुने रहेछ त। सबै सजग भएपछि आफ्ना घर छेउमा निर्माण भइरहेका काममा ध्यान दिऔँ । अहिले निर्माण गरेको कुराले २०/२५ वर्ष चल्यो भने त हामीले सरकार र निर्माण कम्पनीलाई सरापेर बस्नु पर्दैन ।’

एउटा काम गरेपछि डेढ दुई वर्ष पनि नटिक्नुले राज्यको रकमको दोहन भइरहेको भन्दै चुवाका युवाहरूले सार्वजनिक निर्माणका कामहरू पनि आफूहरूको व्यक्तिगत सम्पत्तिको महत्त्वकै बराबरको रहेका उनले बताए । नागरिकले आफ्नो घरको छेवैमा भइरहेको सार्वजनिक कामलाई बेवास्ता गरेर बरु घरमा सुतेर बस्ने प्रवृत्तिले ठेकेदारहरूले पनि काम लापरबाही गरिरहेको शर्माको भनाइ छ ।

नागरिकले विकासका काममा कम चासो दिएर घर सम्हाल्न मात्रै नलागेर सार्वजनिक सम्पत्तिलाई आफ्नै पसिनाबाट बनेका संरचनाका रूपमा लिनुपर्ने सबैको दायित्व रहेको अर्का युवा नीरव क्षेत्री बताउँछन् । ‘यस अगाडिका संरचना निर्माणमा गुणस्तरीय काम नभएकोले बिहानदेखि बेलुकासम्म खटेर काम गरिरहेका छौँ। गाउँमा सक्रिय रहँदै आएका युवाहरूले गरिरहेका छौँ । सडकमा नाली र ढलानको काम भइरहेको छ । जुन तरिकाले काम गर्ने भनिएको छ सोही अनुसार भएको हुनुपर्छ’, क्षेत्री भन्छन्, ‘बिहानदेखि बेलुकासम्म टुक्रुक्क बस्ने हो । काम बलियो हुनुपर्छ भनेर हामी लागिपरेका छौँ । करिब २० दिनदेखि काम भइरहेको छ हामी यी सबै दिनमा लगातार बस्दै आएका छौँ। पहिले गरेको ठाउँमा एक वर्षमै नाली गयो। ढलान पनि उप्किएर गयो । गुणस्तरहीन कामले हामी नागरिकले दुःख पायौँ । विगतकै अवस्था दोहोरिन नदिन हामी युवाहरू मिलेर लौरे पालो लाए झैँ गरेर निर्माण स्थलमा खटिएका हुन्छौँ ।’

चुवाका वडाध्यक्ष सुरेन्द्र केसीले युवाहरूको कामले सडक निर्माणको काम समयमै सकिनुका साथै तोकिएको परिमाण र गुणस्तर अनुसार नै सडक निर्माण भएको बताउँछन् । उनीहरूले जस्तै हरेक टोल हुँदै जिल्ला र देशैभरका नागरिकहरू खटिएर निर्माणको काममा चासो दिन सके निर्माण पूरा भइसक्दा भत्किएर सकिने पूर्वाधार हेरेर बस्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ । बिस्तारै वडाका अरू नागरिकले पनि यो सिको गरेर आफ्ना ठाउँमा भइरहेका कामलाई गुणस्तरीय बनाउन जागरूक बन्नेमा आफू आशावादी रहेको उनले बताए ।

एउटै योजनाका लागि बिहानदेखि बेलुकासम्म प्रत्यक्ष रूपमा कुरेरै बस्नुपर्ने भएकाले समयको व्यवस्थापन गर्न चुनौती छ । साना योजनाका लागि पनि कम्तीमा डेढ÷दुई महिना लाग्ने भएकाले आफ्ना घर धन्दाका काम छाडेर हेरेर बस्ने फुर्सद मिलाउन कठीन हुन्छ । गाउँमा योजनाहरू निरन्तर आइरहेका हुने तर काम हेरेर बस्ने सक्रिय व्यक्ति थोरै हुँदा सबै ठाउँमा ध्यान कठिन हुने चुवाका युवा बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->