बागलुङ/ लद्यु चलचित्रमार्फत बागलुङका विभिन्न स्थानीय तहमा बालविवाह विरुद्धको सचेतना अभियान सुरु गरिएको छ । जुनतारा मिडिया प्रा. लि. बागलुङले बालविवाह, महिला हिंसाविरुद्ध निर्मित चलचित्र ‘जुना’ स्थानीय तहको समन्वयमा विद्यालयमा पुगेर प्रदर्शन गरी सचेतना फैलाउन थालेको हो ।
जिल्लाको बढी बालविवाह हुने क्षेत्रलाई लक्षित गरी समुदायका व्यक्ति तथा विद्यालयको माथिल्लो कक्षामा अध्ययतरत विद्यार्थी सहभागी बनाएर चलचित्र प्रदर्शन तथा अन्तरक्रिया गर्न थालेको जुनतारा मिडिया प्रालिका सञ्चालक सज्जन कुमार सिंहले जानकारी दिए ।
जिल्लाको तमानखोला गाउँपालिका, बागलुङ नगरपालिकाको वडा–९, ११, १३ र ३, पर्वतको सामाजिक विकास कार्यालय तथा त्यहाँका ६ निजी तथा सामुदायिक विद्यालय र बागलुङका दश सामुदायिक विद्यालयमा चलचित्र प्रदर्शन गरिएको छ ।
कुनै ठाउँमा स्थानीय तह तथा वडा कार्यालयले चलचित्र प्रदर्शनको खर्च व्यवस्थापन गरेका छन् । विद्यालय तहमा विद्यालय प्रशासनले न्युनतम खर्च व्यवस्थापन गरे पश्चात चलचित्र प्रदर्शन गर्दै आएको सञ्चालक सिंहको भनाई छ ।
चलचित्रमा सानो उमेरमा विवाह गर्दा हुने पारिवारिक समस्या, घर सञ्चालन तथा पारिवारिक सम्बन्ध निर्माणका कठिनाई, आफ्नो समस्या व्यक्त गर्न नसक्ने अवस्था तथा प्रजनन अवस्थामा हुने जटिलताको विषय समावेश गरिएको चलचित्रका निर्देशन जीवन सेन्चुरीले बताए ।
‘चलचित्र अति नै सन्देश र सचेतनामुलक छ’ बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनिकुमार केसी ‘लक्ष्मण’ले भने– ‘हाम्रो समाजको यथार्थलाई पर्दामा उतारेको हुँदा बालविवाह नियन्त्रणको लागि पाठयक्रम सरह छ ।’
बागलुङ नगरपालिकाले आगमी पाँच बर्षभित्र नगरपालिकालाई बालमैत्री नगर घोषण गर्ने अभियान सञ्चालन गरेको छ । बालमैत्री नगर घोषणको लागि बालविवाह मुक्त नगर हुनु अनिवार्य मापदण्ड हो । अझै पनि समाजका बालविवाह व्याप्त रहेको हुँदा विद्यालय तहबाटै सचेतना जगाउनु जरुरत रहेको वडाध्यक्ष केसीको भनाई छ ।





