रंगकर्मी सिर्जना सुब्बाले पहिलोपटक महिनावारी भएको कुरा घरमा ६ महिनासम्म लुकाएर राखिन्। घरमा समेत कसैलाई थाहा दिइनन्। उनलाई लाग्थ्यो, महिनावारी लाज र डरको विषय हो !
मोरङको उर्लाबारीमा जन्मिएकी सिर्जनाले महिनावारीलाई त्यसरी बुझ्नुका पछाडि कारण छ। उनी पहिलोपटक महिनावारी हुनुभन्दा एक वर्ष अगाडिको कुरा हो।
‘स्कुलमा हुँदा एक जना साथीले पहिलोपटक महिनावारी भएको थाहा पाइन,’ उनले त्यो पलको स्मरण गर्दै भनिन्, ‘बेन्चभरि रगत लागेछ। अनि कक्षामा सबैले खासखुस कुरा गरेपछि उसलाई अप्ठ्यारो भएको थियो। त्यसपछि ऊ एक हप्तासम्म पनि कक्षामा आइन।’
यो घटना उनको दिमागमा गहिरो गरी बस्यो। आफू महिनावारी हुँदा यस्तै हुने हो कि भनेर सिर्जना एक वर्षसम्म डराइरहिन्। जब रजस्वला भइन्, उनलाई लाज पनि भयो। ‘महिनावारी भएपछि छोरी ठूली भई भन्थे। घरमा पनि भन्न लाज भयो,’ उनले भनिन्।
लाज र डरकै कारण उनले लुकाइरहिन्। ६ महिनापछि बल्ल आमालाई सुनाइन्। यो पनि उनले आफैं सुनाएकी होइनन्।आमाले उनलाई बेलाबेला ‘तेरो महिनावारी हुनपर्ने बेला भयो त’ भनेर सोधिरहन्थिन्। यसको जवाफमा अरू बेला झुट भन्दै आएकी उनले त्यो दिन भइसक्यो भनिन्।
त्यो बेला उनी कति वर्षकी थिइन्, उनलाई यकिन छैन। ‘५ कक्षामा पढ्थेँ। पहिलोपटक महिनावारी हुँदा स्कुलमै थिएँ,’ उमेरले साढे तीन दशक पार गरेकी सिर्जनाले भनिन्, ‘महिनावारी भएको थाहा पाइहालेँ। अनि सन्चो छैन भनेर खाजा खाने समयभन्दा अगाडि नै घर गएँ।’
त्यति बेला महिनावारी भएँ भनेर स्कुलमा भन्न सक्ने वातावरण थिएन। महिनावारीलाई ठूलो र लाजको कुरा मानिन्थ्यो। समाजले बनाएका यिनै चलनमा सिर्जना पनि हुर्केकी थिइन्। त्यसैले खुसुक्क घर गएर उनले प्याड (टालो) बनाएर लगाउन खोजिन्। सुरूमा त कसरी लगाउने भनेर अलमल परिन्।
‘कपडा कसरी लगाइन्छ भनेर थाहै थिएन,’ उनले भनिन्, ‘ठूलो मान्छ र साथीहरूलाई सोध्न पनि सकिनँ। सफा कपडा लगाउनुपर्छ भन्ने चाहिँ थाहा थियो। अन्दाजको भरमा लगाएँ।’
उनी पहिलोपटक महिनावारी भएको दुई-तीन महिनापछि मात्रै अर्कोपटक महिनावारी भइन्। त्यस बेला उनी आत्तिइनन्। फुपूहरूका कुरा सुनेर पहिलोपटक महिनावारी भएपछि केही समय नहुने र पछि फेरि हुने थाहा पाएकी थिइन्।
‘कति दिनमा महिनावारी हुन्छ भन्ने त आमा र दिदीहरूले कुरा गरेका बेला सुनिन्थ्यो। तर अरू जिज्ञासा सोध्न सकिँदैन थियो,’ उनले भनिन्, ‘कसलाई कत्तिको गाह्रो हुन्छ, किन गाह्रो हुन्छ, गाह्रो हुँदा के गर्नुपर्छ भनेर पनि कुरा हुँदैन थियो।’
अहिले आएर सम्झिँदा यी कुराबारे खुलेर कुरा गर्नुपर्ने थियो भन्ने उनलाई लाग्छ। जति लुकायो, महिनावारी त्यति नै ठूलो र खुलेर कुरा गर्न नहुने विषय रहेछ भनेर मान्छेले सोच्न थाल्छन्।
स्कुलमा शिक्षकले स्वास्थ्य शिक्षा पढाए पनि महिनावारीबारे मात्रै छुट्टै कुरा भएन। स्वास्थ्य र शारीरिक शिक्षाका अरू पाठ पढाउँदा पनि शिक्षकहरू नै लजाएको उनले देखेकी छन्। महिनावारीबारे विस्तृत ज्ञान नदिएकैले धेरै किशोरीले अनावश्यक तनाव र समस्या झेल्नुपर्ने हुन्छ।
‘हामीलाई पहिलोपटक महिनावारी हुँदा के गर्ने कसो गर्ने थाहा हुँदैन थियो,’ उनी भन्छिन्, ‘अहिले यस्तो छैन।अहिले स्कुलदेखि साथीभाइ र परिवारमा पनि खुलेर कुरा हुन थालेको छ। सोध्न सकिएन भने पनि इन्टरनेटमा हेरेर सबै सूचना लिन सकिन्छ।’
जनजाति समुदायमा जन्मिएकी सिर्जना घरकी जेठी छोरी हुन्। उनका दुई भाइ छन्। महिनावारी हुँदा उनको समुदायमा बार्ने र छोइछामा कडा थिएन। सांस्कृतिक भिन्नताका कारण यस्तो भएको उनी अनुमान गर्छिन्।
‘महिनावारी सामान्य कुरा होइन। हामी सृष्टि चलाइरहेका छौं। तर सँगै यो एकदमै सामान्य रूपमा लिनुपर्ने कुरा हो,’ उनी भन्छिन्, ‘महिनावारीकै कारण केहीमा बाधा हुन हुँदैन।’
महिनावारी भएको बेला गह्रुँगो काम गर्न मुश्किल हुन्छ। अहिलेजस्तो सहज जमाना नभएकाले पहिले बार्ने चलन लगाइएको अनुमान उनी गर्छिन्। तर अहिले पनि बार्ने नाममा छोइछिटो गर्ने, बोटबिरूवादेखि खानेकुरासम्म छुन नहुने, जुनसुकै अवस्थामा नुहाउनै पर्ने र योसँग जोडिएका अरू कुचलनलाई निरन्तरता दिन नहुने उनको भनाइ छ।
‘बोटबिरूवालाई छोयो भने कुहिन्छ, फल झर्छ भन्ने भ्रम छ,’ उनले भनिन्, ‘खै हामीले छोयौं त। केही भएन।’
सामान्य बेलाभन्दा महिनावारी बेला सरसफाइमा अलिकति बढी ध्यान भने पुर्याउनुपर्छ। महिनावारी भएका महिलाहरू यसमा आफैं सजग हुन्छन्।
सिर्जनालाई महिनावारी बेला शारीरिक रूपमा अलि कठिन हुन्छ। मुडमा पनि असर परिरहेको हुन्। झिँजो लाग्छ, नरिसाउने कुरा पनि रिसाउँछिन्। पहिले किन यस्तो भएको होला भन्ने उनलाई थाहा थिएन। पछि भने उनले ‘पिएमएस’ बारे थाहा पाइन्।
पिएमएस (प्रि–मेन्सट्रुअल सिन्ड्रम) भनेको महिनावारीअघि हुने सामान्य प्राकृतिक परिवर्तन हो। महिनावारी हुनुभन्दा एक वा दुई साताअघि देखिने शारीरिक र भावनात्मक परिवर्तनका लक्षणलाई ‘पिएमएस’ भनिन्छ। अनुहारमा दाग वा डन्डिफोर आउनु, थकाइ लाग्नु, निन्द्रा बिग्रिनु, शरीर दुख्नु, चिडचिडापन बढ्नु र मुड परिवर्तन हुनु महिनावारीअघिका सामान्य लक्षण हुन्। यी लक्षण हरेक महिलामा भिन्न हुन्छन्। सबैलाई हुन्छ भन्ने छैन, तर धेरैजसो महिलामा देखिन्छ। कसैमा सामान्य होला, कसैमा जटिल।
रंगमञ्चमा सक्रिय सिर्जनालाई कामकै क्रममा कहिलेकाहीँ असहज हुन्छ। ‘अभ्यास गर्दा कसैलाई गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘भूमिकाअनुसार अभ्यास गर्दा कुनै बेला आरामै गर्न नपाइने हुन्छ।’
यस्तोमा उनीहरू महिनावारीबारे कुरा गर्छन्। कसैलाई गाह्रो भइरहेको छ भने साधारण अभ्यासमा मात्र सक्रिय हुन्छन्। साह्रै मुश्किल भए आराम गर्न पाउँछन् ।
समाज र सोच बदलिँदै गए पनि ठूलो संख्याले अझै महिनावारीलाई हाउगुजी मानेको उनको अनुभव छ। तरिका फरक भए पनि सहरबजारमा पनि छाउपडी बसिन्छ। परिवर्तन आफूबाटै सुरू गर्नुपर्ने उनको भनाइ छ।
‘परिवर्तन अरू कसैको आश गरेर हुने कुरा होइन, आफैंले सुरू गर्नुपर्छ,’ उनले भनिन्, ‘छोरीको पालामा होला, नातिनीको पालामा होला भनेर पर्खेर बस्नु हामी मूर्ख भएर बस्नु हो।’
महिनावारीबारे सहज र सजिलो वातावरण बनाउन स्कुले शिक्षादेखि नै पहल थाल्नुपर्ने उनी सुझाउँछिन्। कलिलै उमेरदेखि केटा र केटी दुवैलाई महिनावारी महत्वपूर्ण तर सामान्य प्राकृतिक प्रक्रिया हो, महिलाहरूलाई यस्तो बेला मुश्किल हुन सक्छ लगायतबारे जानकारी दिन जरूरी भएको उनी बताउँछिन् ।





