बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्वतको कालञ्जर क्षेत्रमा आउँदै राष्ट्रपति भण्डारी

पर्वतको कालञ्जर क्षेत्रमा आउँदै राष्ट्रपति भण्डारी


  • संजय रेग्मी
  • माघ २८ २०७९, शनिबार

पर्वत/ राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर तथा बराह क्षेत्रमा आउने भएकी छिन् ।

जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रको प्रवद्र्धन तथा प्रचार प्रसारमा सहयोग पुग्ने विश्वासका साथ ती क्षेत्रलाई राष्ट्रपतिबाट अवलोकन गराउन लागिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । पौराणिक महत्व बोकेका तथा गाउँपालिकाको गौरवको क्षेत्रका रूपमा रहेका ती ठाउँमा तीनै तहका सरकारहरूबाट लगानी भइरहेकोले अब पर्यटक आकर्षित गर्नुपर्ने बेला आएको उनले बताए ।

प्रचारप्रसारकै लागि यस अगाडि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको टोली समेत पुगेको कालाञ्जर क्षेत्रको अवलोकन गरेपछि राष्ट्रपति भण्डारी बराह क्षेत्रमा जाने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति भण्डारीले हम्पाल कालाञ्जर क्षेत्रमा निर्माण भइरहेका भौतिक संरचनाको अवलोकन गरेपछि बराह क्षेत्रमा निर्माण भएका दुईवटा मन्दिरहरूको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘गाउँपालिकाभित्र रहेको पौराणिक महत्व बोकेको कालाञ्जर हम्पाल तथा बराह क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई बाहिर झल्काउने प्रयासमा हामीहरू रहेका छौँ । त्यसैका लागि चार महिनाअघिदेखि राष्ट्रपतिलाई निमन्त्रण गरेका थियौ’, अध्यक्ष आचार्य भन्छन्, ‘कालाञ्जर क्षेत्र र त्यहाँ निर्माण हुँदै गरेका भौतिक संरचनाहरूको अवलोकनपछि बराह क्षेत्रमा पुगेर त्यहाँ बनेका दुईवटा मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बराह क्षेत्र मानव बस्ती बसेदेखि नै धार्मिक र ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ ।’ बराह क्षेत्रको धार्मिक महत्त्वलाई बढाउने गरी निर्माण भइरहेका संरचनाहरूमा स्थानीयले पनि ठुलो लगानी गरेका उनले बताए ।

राष्ट्रपति भण्डारी आउने निधो भएपछि गाउँपालिकाले आफ्नो १३४ औँ बैठक नै बराह क्षेत्रमा सम्पन्न गरेको छ । बैठकमा बराह ताल कुल मन्दिर उद्घाटन समारोहको तयारीका विषयमा छलफल भएको छ । स्थानीयबासीसँग छलफल र तयारीको बारेमा निर्णय गर्न सहज हुने भएकाले कार्यक्रम स्थलमा नै पुगेर कार्यपालिका बैठक आयोजना गरिएको हो ।

धार्मिक पर्यटकीय सम्भावना बोकेको बराह ताल परिसरमा घर्ती क्षेत्रीको कुल मन्दिर निर्माण भएको हो । उद्घाटन समारोहको तयारीका लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएका छन् । तालको बीच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् ।

समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरी हिमाल रहेका छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह ताल पर्यटक र पूर्वाधार विकासको पर्खाइमा छ । त्यो क्षेत्रबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ ।

जनै पूर्णिमामा लाग्ने विशेष मेलामा पर्वतसहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट पनि धार्मिक पर्यटकहरु आउने गरेका छन् । मागेको बर पूरा हुने विश्वास गर्ने गरिएको बराह क्षेत्रमा जनै पूर्णिमा बाहेकको समयमा भने पर्यटकहरु जाने गरेका छैनन् । बराह क्षेत्रमा पूजाआजा र भाकल गरेमा सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलता प्राप्त हुने जनविश्वास छ । मनोकामना पूरा भएपछि साँढे, बोका र परेवाको बलि चढाउने चलन छ ।

धार्मिक प्रचारप्रसार गरेर सबै समयमा पर्यटकहरु जाने वातावरण तयार पार्नका लागि नै गाउँपालिकाले राष्ट्रपतिलाई नै ल्याएर त्यो क्षेत्रको प्रचारप्रसारको प्रयास गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->