नवलपुर / फागुन ३ गतेदेखि फागुन १३ गतेसम्म नवलपुर उद्योग वाणिज्य संघले सातौं नवलपुर महोत्सव २०७९ आयोजना गरेको छ । यो महोत्सव श्रृंखलाका रुपमा नभइ मुलुककै कान्छो जिल्लाको रुपमा रहेको नवलपुरको सर्वाङ्गीण विकासमा कोशेढुंगा सावित हुने अपेक्षा लिइएको छ । तत्कालिन भौगोलिक र राजनैतिक नक्शामा लुम्विनी अञ्चलमा रहेको सिंगो जिल्ला नवलपरासी संघीयतापश्चात दुई जिल्लामा टुक्रिएपछि नयाँ शिरावाट उठ्न लागेको नवलपुर गण्डकी प्रदेशका लागि पनि महत्वपूर्ण छ ।
अन्तरर्राष्ट्रिय ब्यापार सम्वन्धमा भारततर्फ सीमा नाका जोडिएको गण्डकी प्रदेशको एकमात्र दक्षिणी भन्सार तथा सीमा त्रिवेणी नवलपुरको मात्रै नभएर गण्डकी प्रदेशकै मेरुदण्डको रुपमा मानिएको छ । यहाँ जमिनमा उत्पादन हुने कृषि उपज अन्न, फलफूल, जमिनमुनिका कन्दमूल, अमिलो जातका फलफूल, सुन्तला, दूध तथा माछा–मासुअन्तर्गतका पशुपंक्षी पालन तथा ब्यवसाय, अम्रिसोलगायतका उत्पादन यहाँका प्रमुख आम्दानीका स्रोत र आयआर्जनमा टेवा पु¥याउने क्षेत्रहरु हुन् ।
यहाँ रहेका सामुदायिक तथा मध्यवर्ती वन, धार्मिक वन, मठ–मन्दिर, गुम्वा, मस्जिद, चर्च, विभिन्न धर्म, सम्प्रदाय, समुदायका परम्परागत, मौलिक, धार्मिक, सांस्कृतिक,रितिरिवाज र संस्कृति हाम्रा सामाजिक सम्पत्ति नै हुन् भन्ने ठानेको छु ।

यहाँ रहेका गैंडाकोटदेखि त्रिवेणीसम्मका बहुर्राष्ट्रिय ठूला उद्योग, राष्ट्रिय उद्योग, साना–मझौला–घरेलु उद्योग, सामुदायिक होमस्टे, निजी क्षेत्रका पर्यटकीय–वातावरणीय उद्योग ब्यवसाय, नागरिकका दैनिक जीवनमा आवश्यक पर्ने स्टक, वितरकदेखि सेवामुखी व्यापार–व्यवसायले राष्ट्रियदेखि घरायसी आर्थिक स्थितिमा सामञ्जस्य कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने क्षेत्रका रुपमा लिएको छु ।
विकासका लागि सवैभन्दा महत्वपूर्ण मानिने शिक्षाक्षेत्रलाई यहाँ भुल्न हुदैन । सामुदायिक तथा संस्थागत दुवै क्षेत्रले यहाँको शैक्षिक उन्नययन र दक्ष जनशक्ति उत्पादनमा योगदान पु¥याएका छन् । प्राविधिक धारका शिक्षालयहरु सीमित भएकाले प्राविधिक जनशक्ति निर्माणमा केही चुनौती छ । गाउँगाउँका सहकारीले यहाँको पूँजीलाई परिचालनमा टेवा पु¥याएका छ ।
यसैबीचमा यसअघिका ६ वटा महोत्सवको अनुभव, शिक्षा, अग्रज तथा सामाजिक अगुवाहरुको राय सल्लाह सुझाव र विभिन्न क्षेत्रसँग जोडिएका सरोकारवाला जानकारहरुको सहयोग र सहकार्यमा फागुन ३ देखि १३ गतेसम्म हुन गइरहेको सातौं नवलपुर महोत्सव यिनै सन्दर्भमा केन्द्रित रहेर यहाँका सम्भावनाको उजागर गर्ने र सर्वाङ्गिण विकासमा टेवा पुर्याउने उदेश्य राखिएको हुदा महोत्सव भब्यताका साथ सफल पार्नुहुनेछ भन्ने अपेक्षा साथ आग्रह गर्दछु ।
बैकुण्ठप्रसाद अर्याल
अध्यक्ष
नवलपुर उद्योग वाणिज्य संघ, नवलपुर





