नवलपुर / फागुन ३ गतेदेखि फागुन १३ गतेसम्म नवलपुर उद्योग वाणिज्य संघद्धारा आयोजित सातौं नवलपुर महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ ।
यो महोत्सव विगतका महोत्सवको अनुभवलाई आत्मसाथ गर्दै थप सृजनात्मक रचनात्मक बनाउनेतर्फ हामी अग्रसर छौं । मेला महोत्सव भन्ने वित्तिकै अर्थ संकलनका लागि गरिएको भन्ने भ्रम हटाउने गरी हाम्रा गतिविधि हुनेछन् । हामीले स्थानीय उत्पादन, व्यवसायलाई महत्व दिएका छौं ।
जिल्लाका आठै पालिकामा रहेका ३ वटासम्म स्थानीय उत्पादन तथा उद्यमीका बस्तुहरु प्रदर्शनी र विक्रीका लागि निशुल्क स्टल प्रवन्ध गरिएको छ । यसो भनिरहँदा होम ग्राउण्ड भएकाले कावासोतीका ५ वटा स्टल आइसकेका छन् । यस्तै विभिन्न जातजाति, समुदायका मौलिक घर, पोशाक सहितका सांस्कृतिक झाँकी, विद्यार्थीद्धारा निर्मित प्रयोगात्मक प्रदर्शनी, स्वास्थ्य कक्ष, पर्यटकीय गतिविधि जानकारीका लागि सूचना तथा प्रदर्शनी कक्ष लगायतलाई महत्व दिइएको छ ।

यता, मञ्चीय समारोहमा प्रस्तुत हुने सांस्कृतिक विभागमा दैनिक एक वा एकभन्दा बढी स्थानीय कला–संस्कृतिको प्रस्तुति, नवलपुर डान्स आइडल मार्फत् प्रतिभाको खोजी, आमा समूहबीचको सृजनात्मक र मनोरञ्जनात्मक रत्यौली प्रतियोगिता, विद्यार्थीबीच बक्तृत्वकला प्रतियोगिता लगायत महोत्सव प्रचारप्रसार लक्षित टिकटक प्रतियोगिता एवं राष्ट्रिय तथा स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुतिका साथै विभिन्न क्षेत्रका व्यक्ति अतिथि महानुभावका मन्तब्य भनाइ रहनेछन् । महोत्सवमा अद्भूत बालक देशान्त अधिकारीको दर्शन अर्को आकर्षण समेत रहेको छ ।
महोत्सव अवलोकन गर्न आउने आगन्तुकको मनोरञ्जनको रोजाई विभिन्न खेलमा रमाएर भरपुर मनोरञ्जन लिने चाहनालाई मध्यनजर गर्दै विभिन्न मनोरञ्जनात्मक खेलका उद्यानहरु रहनेछन् ।
स्थानीय उत्पादनबाट बनेका खाना खाजाका स्टल प्रदर्शनी, विभिन्न हस्तकला, शिल्पकला, अटो, मोवाइल्स, भान्सादेखि अत्यावश्यक घरायशी सामानहरुको सस्तो स्टल प्रदर्शनी रहनेछन् ।
म्होत्सबलाई सभ्य रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन तथा प्रहरी निकायसँग समन्वय गरिएको छ । खाद्य शुद्धता र मूल्य निगरानीका लागि प्रशासनका साथै उद्योग पर्यटन कार्यालयको बेलाबेलामा अनुगमन हुनेछ । सातौं नवलपुर महोत्सव नवलपुर उद्योग वाणिज्य संघले आयोजना गरेपनि सम्पूर्ण जिल्लावासीकै उत्सव भएको समेत अवगत गराउन चाहन्छु ।
सागर पोख्रेल
महासचिव एवं प्रवक्ता
नवलपुर उद्योग वाणिज्य संघ, नवलपुर





