पर्वत/ सामान्यतः छात्रवृत्ति भन्नाले अध्ययनको अवस्थामा जीवन निर्वाहका लागि विद्यार्थीहरूलाई दिइने रकम भन्ने बुझिन्छ। त्यो रकमबाट विद्यार्थीहरूले शैक्षिक सामग्रीदेखि पोसाक वा आफूलाई आवश्यक परेको ठाउँमा खर्च गर्छन् । छात्रवृत्तिमा त्यति ठूलो रकम भने हुँदैन।
वर्तमान अवस्थामा नेपाल सरकारले विद्यालय तहमा अध्ययनरत छात्राहरूलाई तथा दलित समुदायका छात्र र छात्रा दुवैलाई वार्षिक चार सय रुपैयाँका दरले दिने गरेको छ। यस्तै पिएमटी फाराम भरेपछि छनोटमा परेका विद्यार्थीहरुले पनि छात्रवृत्ति पाउँदै आएका छन्। स्थानीय तहहरूले आ–आफ्नै मापदण्ड तोकेर लक्षित विद्यार्थीको लागि छात्रवृत्तिका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।
पर्वत जिल्लाको दक्षिण क्षेत्रमा रहेको पैयुँ गाउँपालिकामा रहेको एक क्याम्पसले भने निजी लगानीमा दुई लाख रुपैयाँसम्मको छात्रवृत्ति सुविधा प्रदान गर्दै आइरहेको छ। यो छात्रवृत्ति रकम पैयुँ गाउँपालिका–४ पैयुँ हटियामा रहेको हुवास बहुमुखी क्याम्पसले दिने गरेको हो। क्याम्पस प्रमुख देवीप्रसाद काफ्लेका अनुसार साबिकको धौलागिरि अञ्चलमा पर्ने चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङभित्र उत्कृष्ट अंकसहित उत्तीर्ण हुने आफ्ना क्याम्पसका एकजना विद्यार्थीलाई नगद दुई लाख रुपैयाँसम्म दिइने छ। अमेरिका बस्दै आएका क्याम्पसका प्रमुख संरक्षक राजेन्द्र श्रेष्ठ र उनीकी श्रीमती अञ्जनाबाट प्राप्त हुने आर्थिक सहयोगबाट ठूलो धन राशीको छात्रवृत्ति क्याम्पसले दिने गरेको हो।
पैयुँ गाउँपालिका–४ हुवास घर भएका श्रेष्ठ दम्पतीले बीबीएस प्रथम वर्षदेखि चौथो वर्षसम्म नियमित उत्तीर्ण हुने तीन जना विद्यार्थीहरूलाई पनि एक÷एक लाख रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्। त्यस्तै चार वर्षको अध्ययन अव िभित्र आंशिक रूपमै भए पनि बीबीएस उत्तीर्ण हुने पाँच जना विद्यार्थीलाई ४० हजार रुपैयाँका दरले छात्रवृत्ति रकम प्रदान गर्ने गरिएको छ। श्रेष्ठ दम्पतीले नै बीबीएस प्रथम वर्षमा भर्ना हुने १० जना विद्यार्थीहरूको भर्ना शुल्क समेत क्याम्पसलाई उपलब्ध गराउँदै आएका छन्।
क्याम्पसलाई पैयुँ गाउँपालिका–६ सरौँखोला घर भई हाल जापानमा बस्दै आएका गोपी भुसालले विद्यार्थी प्रोत्साहन स्वरूप बीबीएस प्रथम वर्षमा भर्ना हुने २० जना विद्यार्थीलाई भर्ना शुल्क प्रदान गदै आएका छन्। उनले ती विद्यार्थीहरूका लागि आवश्यक पर्ने पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरू समेत उपलब्ध गराउँदै आएका छन्। त्यस्तै हुवास घर भइ हाल जापानमा बस्दै आएका हिमलाल भट्टराईले बीबीएस प्रथम र द्धितीय वर्षमा नियमित रूपमा उत्तीर्ण भई प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गदै आएका छन्। हुवास नै घर भइ हाल अमेरिकामा बस्दै आएका अर्जुन किशोर न्यौपानेले बीबीएस तृतीय वर्षमा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ दिने गरेका छन्। हुवास घर भइअमेरिकामा बस्दै आएका सरोज श्रेष्ठले क्याम्पसको पोसाक र खेलकुदका सामग्री खरिदका लागि वर्षेनी रकम उपलब्ध गराउने गरेका छन्।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकप्रसाद श्रेष्ठका अनुसार दाताहरूको सहयोगले आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीहरु प्रोत्साहन मिलेको छ ।स्थानीय अगुवाहरूको सक्रियतामा २०७० सालमा स्थापना भएको क्याम्पसमा हाल ८५ जना विद्यार्थीहरू अध्ययनरत छन्। हाल व्यवस्थापन संकायमा मात्रै अध्यापन गर्ने गरेको क्याम्पसले जिल्लाको दक्षिणी क्षेत्रलाई समेट्दै आएको छ।





