नवलपुर/ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहाले प्रदेश लाइफलाइनका रुपमा मानिएको त्रिवेणी–कोरोला नाका छिट्टै जोडिने जिकिर गरेका छन् । उत्तरतर्फको कोरोला नाकाको उत्तरी भन्सार व्यवस्थापनका लागि गण्डकी सरकारले पहलकदमी लिएको पनि बताए ।
गृहजिल्ला नवलपुरको कावासोतीमा आयोजित सातौ नवलपुर महोत्सवको पाँचौ दिनको मञ्चीय कार्यक्रमको उद्घाटनका क्रममा मन्त्री गाहाले भारतसँग जोडिएको छोटी भन्सारका रुपमा रहेको त्रिवेणीलाई अरु भन्सार सरहको ठूलो भन्सार सरह स्थापना गरेझंै मुस्ताङको कोरोला भन्सार छिट्टै स्थापना गर्न गण्डकी प्रदेश सरकार लागेको बताएका हुन् ।
गाहाले नवलपुर कान्छो जिल्लाका रुपमा रहे पनि धार्मिक, पर्यटन, कृषि, उद्योग, ब्यापारका दृष्टिले अरु जिल्लाभन्दा अब्बल रहेको जिकिर गरे । गण्डकीका बाँकी १० जिल्ला पाल्न सक्ने अन्न उत्पादन गर्न सक्ने जिल्लाका रुपमा नवलपुर रहेको मन्त्री गाहाको भनाइ थियो ।
उनले यहाँ उत्पादन भएका बस्तु र महोत्सवका माध्यमबाट अरु जिल्लालाई उत्साहित पार्नुपर्ने जिम्मेवारी नवलपुरको भएको पनि बताए ।
व्यापारका हिसावमा ठूलो मित्रराष्ट्र भारतसँग जोडिएको नाका नवलपुरमा भएकाले व्यापारीहरुसँग समन्वय गरेर व्यापार बढाउन सकिने गाहाको धारणा थियो ।
मन्त्री गाहाले प्रदेशमा मात्रै नभएर देशकै मध्यभागमा रहेको जिल्ला भएका कारण जिल्लाको पहिचान स्थापित गर्न जरुरी रहेको तर्क गरे ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माले जिल्लाको समग्र विकास र पहिचानको लागि कृषि, पर्यटन र उद्योगलाई ब्यवस्थित ढंगले उठाउँदै पहिचान बनाउन लाग्नुपर्ने बताए ।
जिसस प्रमुख बिश्वकर्माले प्रचुर सम्भावना नै सम्भावना भएको प्रदेशकै एक जिल्ला नवलपुरको संमृद्धि र विकासको आधार यहाँको कृषि र पशुपालन भएको बताए । उनले यसलाई ब्यवसायिक हिसावले अगाडी बढाउन लाग्नुपर्नेतर्फ लाग्नुपर्ने औल्याए ।
महोत्सवमा स्थानीय उत्पादन, बस्तु र उद्यम प्रवर्दनात्मक स्टल, अन्य राष्ट्रिय अन्तराष्ट्रिय उत्पादनका स्टल, मौलिक सास्कृतिक प्रदर्शनी, फनपार्क, बाल उद्यान लगायतका व्यापारिक–मनोरञ्जनात्मक गतिविधिहरु समावेश छन् । यस्तै, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति, विभिन्न विधाका प्रतियोगितात्मक प्रतिस्पर्धाका दैनिक गतिविधि भइराखेका छन् ।
यस्तै, गण्डकी प्रदेशका मित्र जिल्लाका उद्योग वाणिज्य संघ, गण्डकी प्रदेश महासंघका पदाधिकारी–प्रतिनिधिसहितको टोलीले महोत्सव अवलोकन र आतिथ्यता ग्रहण गरेका छन् ।
फागुन ३ गतेदेखि सुरु भएको महोत्सव कावासोती ८ स्थित टुबोर्ग खेल मैदानमा फागुन १३ गतेसम्म लाग्नेछ ।





