पर्वत / पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको एक परिवारले आफ्नो परिवारका स्वर्गीय सदस्यको स्मृतिमा स्थानीय दुईवटा विद्यालयमा सात लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।
नेपाली कांग्रेस पर्वतका पूर्व सभापति समेत रहेका नेता नवराज गुरुङले आफ्नै गाउँका दुई विद्यालयहरूमा अक्षयकोषको स्थापना गरेका हुन् । २०२५ सालमा दिवंगत भएका बुबा चन्द्रबहादुर गुरुङ र २०६४ सालमा दिवंगत भएकी आमा राधादेवी गुरुङको स्मृतिमा स्थापना भएको संस्था ‘राधाचन्द्र स्मृति प्रतिष्ठान’ को तर्फबाट अक्षयकोष स्थापना गरिएको प्रतिष्ठानका सहसचिव प्रितम गुरुङले बताए ।
उनका अनुसार काफलचौर माध्यमिक विद्यालयमा पाँच लाख एक सय ११ रुपैयाँको तथा सूर्यप्रकाश माध्यमिक विद्यालयमा दुई लाख एक सय रुपैयाँ मूल राशी रहेको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषबाट प्राप्त हुने ब्याजले वार्षिक रूपमा विद्यार्थीहरुलाई पुरस्कृत गरिने छ । ‘
प्रतिष्ठानले १५ औँ स्मृति दिवसको अवसर पारेर दुर्लुङमा नै आयोजना गरेको स्मृति सभाका अवसरमा ती अक्षयकोषहरूको घोषणा गरिएको हो। काफलचौर माविमा चन्द्रबहादुरको नाममा र सूर्यप्रकाश मा.वि.मा राधादेवीको नाममा अक्षयकोष राखिएको हो ।
सोही कार्यक्रममा ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरूलाई दोसल्ला र सम्मान सहित सम्मान गरिएको छ । अक्षयकोष स्थापना गरिएका विद्यालयबाट २०७८ सालको एसईईपरीक्षामा उत्कृष्ट नतिजा ल्याएका पाँच जना विद्यार्थीहरूलाई पनि सम्मान गरिएको प्रतिष्ठानका सहसचिव प्रितम गुरुङले बताए ।





