बागलुङ / प्रगति बहुउदेश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुसंग शनिवार अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी शेयर सदस्यहरुले संस्थालाई पहिलो रोजाईको सहकारी बनाउन जोड दिएका छन् । सञ्चालक सदस्यहरुको नेतृत्वदायी भूमिका र शेयर सदस्यहरुको क्रियाशिलताले छोटो समयमा नै प्रगति सहकारीलाई स्थापित संस्थाको रुपमा परिचय गराउन सफल भएको वताउदै उनीहरुले अबका दिनमा वित्तियरुपमा अनुशासित, सदस्यमैत्री र सवल बनाउदै सवैको पहिलो रोजाई सहकारी बनाउनुपर्ने वताए ।
प्रगति सहकारीका अध्यक्ष कृष्ण प्रसाद (कुमार) पौडेलले संस्थाको कार्य प्रगति प्रस्तुत गर्दै यसले स्थापनाकालमा राखेको लक्ष्य अनुसार नै संस्थालाई शेयर सदस्यहरुको पहिलो रोजाईको सहकारी बनाउन आफुहरु लागि परेको वताए । विभिन्न सहकारीमाथि प्रश्न उठिरहेको भएपनि प्रगति सहकारी वित्तिय र संस्थागत रुपमा स्वस्थ र सवल रहेको वताउदै अध्यक्ष पौडेलले सवैको पहिलो रोजाईको सहकारी बनाउन शेयरसदस्यहरुको भूमिका पनि महत्वपूर्ण रहने वताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष तोयानाथ गौतमले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै शेयर सदस्यहरुसंगको समबन्धलाई निरन्त्तरता दिन र उनीहरुका सुझाव, सल्लाह र गुनासाहरु सुन्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको र यसलाई सवै शेयर सदस्यहरुसंग पुराउन सेवा केन्द्रस्तरमा समेत कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख डा.राम प्रसाद उपाध्याय, संस्थापक अध्यक्ष महादेव सापकोटा, दिपक गौतम, खिम वहादुर कार्की, जीवन शर्मा, गणेश पौडेल, हरिनारायण गौतम, कृष्ण प्रसाद शर्मा, तेज प्रसाद गैरे, घनश्याम सापकोटा, ऋषिराम शर्मा, रामप्रसाद शर्मा लगायतले सहकारीका नीति, विधि, कार्ययोजना लगायतका विषयमा आआफ्ना सुझाव राखेका थिए ।
उनीहरुले शेयर सदस्यमा वृद्धि, बचत संकलनमा वृद्धि, सहकारी शिक्षा सञ्चालन, सदस्यहरुमा नियमित फ्लोअप गर्दै सहकारीले उदेश्य अनुरुप नै काम थप गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन सहकारीका सहसचिव बालकृष्ण शर्माले गरेका थिए ।





