पर्वत / कुनै बेलामा पर्वत हुँदै मुस्ताङ पुग्ने पर्यटकहरूलाई आफू पर्वत सदरमुकाम कुश्मा बजार हुँदै मुस्ताङ पुगेँ भन्ने पनि थाहा हुने थिएन । सम्भावना रहेर पनि पर्यटनका लागि आवश्यक पूर्वाधारको विकास हुन नसक्दा पर्यटकहरु पर्वत नझरी पोखरा–मुस्ताङ आउजाउ गर्थे ।
तर, पवित्र कालीगण्डकी नदीमाथि बनेको बन्जी जम्पले पर्वतको पर्यटनलाई चहलपहलमा ल्यायो । पछि बनेको सुपर म्यान शैलीको जीपलाईनले पनि पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । पछिल्लो समय पर्वत सदरमुकाम कुश्मा बजारका स्तरीय होटलहरुमा पर्यटकहरूको चहलपहल राम्रो बन्दै गइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत आवागमन बढ्दै गएपछि पर्वतमा अब अझै स्तरीय र सुविधायुक्त होटेलको आवश्यकता रहँदै आएको थियो ।
यही आवश्यकताकाबिच पर्वतका प्रवासी नेपालीहरूको लगानीमा सुविधा सम्पन्न ‘तारे’ होटेल निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजको दुबइमा सम्पन्न भएको भेला तथा साधारण सभामा पर्वतको पर्यटन विकासका लागि तारे स्तरको होटेल बनाउने घोषणा गरिएको हो । पर्वतेलीहरुको मात्रै लगानीमा बन्ने चार वा पाँचतारे स्तरको होटेल कुस्मा आसपास रहने समाजका संस्थापक महासचिव गुणराज शर्माले बताए ।
मुलुककै पर्यटनको राजधानी पोखरा नजिक रहेको पर्वतको कुस्मामा र साबिकको धौलागिरि अञ्चलका मुस्ताङ, बागलुङ र म्याग्दीमा आउने आन्तरिक र बाह्य पर्यटकले सुविधा सम्पन्न होटेलको अभावमा पोखरा नै फर्कँदै आएका छन् । पर्वत सहितका जिल्लामा आउने पर्यटकलाई सुविधा सम्पन्न होटेल खोज्न पोखरा जान नपरोस् भनेर होटेल निर्माण गर्ने योजना अघि बढाइएको अन्तर्राष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक पुरन गिरी बताउँछन् ।
‘घुम्न आउने पर्यटक होटेल खोज्न पोखरा नै फर्कनु पर्ने अहिलेको अवस्थालाई अन्त्य गर्न आवश्यक देखियो’, अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष समेत रहनुभएका गिरी भन्छन्, ‘प्रवासमा रहेका सबै पर्वतेलीहरुको सामूहिक लगानीमा सुविधा सम्पन्न होटेल निर्माण गर्ने अभियान थालिसकेका छौँ । युरोप, अमेरिका, अष्ट्रेलिया, जापान जस्ता मुलुकमा मात्रै होइन कोरिया, मलेसिया र खाडीका मुलुकमा रहेका हरेक पर्वतेलीहरुका लागि होटेलमा लगानी गर्ने वातावरण सुनिश्चित हुने छ ।’
कुस्मामा विश्वकै अग्लो दाबी गरिएको स्विङ, दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो दाबी गरिएको जीपलाइन लगायतका सहासिक खेलहरू सञ्चालन भइरहेका छन् । कुस्मामा नै नेपालमा नै पहिलो पटक ह्युमन स्विङ सर्ट खेल पनि सञ्चालनको अन्तिम तयारीमा छ । नेपालकै अग्लो शिव पार्वतीको मूर्ति पनि निर्माणको चरणमा छ। मध्यपहाडी लोक मार्गको स्तरोन्नतिपछि अहिले आन्तरिक र बाह्य पर्यटक समेत ठुलो सङ्ख्यामा आइरहेका छन् ।
उत्तरमा तिब्बतको सिमाना कोरल्ला नाका र दक्षिणमा भारतको सिमाना सुनौली जोड्ने कालीगण्डकी कोरिडोर समेत कालोपत्रे भइरहेको छ । भविष्यमा भारतीय पर्यटक मुस्ताङ, मुक्तिनाथ जाने तथा तिब्बतका बौद्धमार्गीहरु बौद्ध जन्मस्थल लुम्बिनी जाने क्रममा पर्वत नै ट्रान्जिट प्वाइन्ट बन्ने सम्भावना छ । यसले गर्दा पर्यटन क्षेत्रमा गरेको लगानीले मुनाफा पनि राम्रो दिने र पर्वतको पर्यटन विकासका लागि ठुलै टेवा पुग्ने विश्वासमा लगानीकर्ता देखिएका छन् । पर्वत जिल्लाको पर्यटन क्षेत्रमा प्रवासमा रहेका पर्वतेलीहरुको लगानी भित्र्याउने पहिलो प्रयासको रूपमा यो अभियान थालिएको गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यले बताउँछन् ।
दुबई भेलामा अन्तर्राष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक पुरन गिरीको प्रस्तावमा प्रवासीहरूले समर्थन जनाउँदै लगानीको प्रतिबद्धता समेत जनाएका छन् । समाजका अध्यक्ष झलक केसीले सबै प्रवासी पर्वतेलीहरुलाई लगानी गर्न आह्वान गरेका छन् ।





