नवलपुर/ गैँडाकोटमा आइतबारदेखि चैत्र १ गतेसम्म चल्ने प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९ को उद्घाटन भएको छ । संघीय सांसद डा. शशांक कोइरालाले गैंडाकोट २ स्थित नारायणी नदी किनारमा आयोजित मेलाको उद्घाटन गरे ।
प्रदेश राजधानी पोखरा हुँदाहुँदै पनि पहिलो पटक प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाका लागि नवलपुर छनोट गरिन्ु नवलपुरका लागि खुसीको विषय रहेको सांसद कोइरालाको भनाइ थियो ।गण्डकीका बाँकी १० जिल्लाका मानिसहरुको स्थानान्तरण गर्ने थलो समेतका परिचित रहेकाले यो जिल्लासँग गण्डकी प्रदेशका सवै जिल्लाको भाइचारा सम्बन्ध रहेको कोइरालाले बताए ।नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको मेलाको सहकार्य गैँडाकोट उद्योग वाणिज्य संघले गरेको छ भने गण्डकी प्रदेशभित्र रहेका २१ वटै उद्योग वाणिज्य संघको समन्वय रहेको छ ।
मेला संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जिवकुमार कोइरालाले समग्र गण्डकीको आर्थिक उत्थानको लागि निजी क्षेत्रले आटेको बृहत र महत्वाकांक्षी महाअभियान रहेको बताए । गण्डकीको कान्छो जिल्ला नवलपुर जिल्लाले सिंगो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य रहेका कारण व्यवसाय पर्वद्धनका लागि नवलपुर छनोट गरिएको बताए ।
सिंगो गण्डकीलाई मेलामार्फत जोड्न तथा प्रवद्र्धन गर्नका लागि गरिएको यो प्रयत्न आफैमा महत्वपूर्ण रहेको गैँडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका सह संयोजक अमृत भट्टचनको भनाइ छ ।
मौसमका हिसाबले अनुपयुक्त समय लागेपनि महोत्सवमा ८० हजार टिकट बिक्री हुने आयोजकको विश्वास रहेको छ । महोत्सवमा सर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । मेलामा करिब ३ सय वटा स्टलहरु रहेका छन् ।
मेलाको आकर्षणका रुपमा औद्योगिक तथा व्यापारमेला, हस्तकला, कृषि मेला, पुष्प मेला, अटो प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् । मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम र बालउद्यान पनि समावेश गरिएको छ ।
मेलाबाट अनुमानितरु. १ करोड ६० लाख आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको भने अनुमानित रु. १ करोड २५ लाख खर्च हुने जनाएको छ ।मेला उद्घाटन पूर्व भृकुटीचोकदेखी विभिन्न झाँकी र ब्यानर सहित निस्किएको शोभायात्रा र्याली मेलास्थलमा प्रवेश गरी औपचारिक उद्घाटन समारोहमा परिणत भएको थियो ।





