पोखरा /पोखरा प्रज्ञा प्रतिष्ठानको टोली बंंगलादेशको राजधानी ढाका पुगेको छ । ढाकामा आयोजना हुने ‘नेपाल–बंगलादेश आर्ट एण्ड कल्चरल फेस्टिभल २०२३’ मा भाग लिन प्रतिष्ठानको टोली सोमबार ढाका पुगेको हो ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालको नेतृत्वमा गएको कलाकार सहितको टोलीमा प्रकाश ज्ञवाली, दीलिप गायक, जीवन दाहाल, मोतिराज पोखरेल, जसुमाया गुरुङ, संगीता साई खड्गी, राजबहादुर गुरुङ, कुशन गायक, सरिता गायक, सानबहादुर गुरुङ, सुजन थापा मगर, इश्वरी राना र सजिना गुरुङ रहेका छन् ।
बंलादेशस्थित नेपाली दूतावास र बंगलादेश–नेपाल मैत्री संघको संयुक्त आयोजनमा कार्यक्रम हुन लागेको हो । बंगलादेश शिल्पकला एकेडेमी ढाकामा आयोजना हुने यो फेस्टिभल मार्च १४ देखि मार्च १८ सम्म चल्नेछ । फेस्टिभलमा पोखरा प्रज्ञा प्रतिष्ठानको टिमले सोरठी, झ्याउरे, कौरा नृत्य, लोक गीत, सुगम गीत र राष्ट्रिय गीत प्रस्तुत गर्ने टोलीका सदस्य प्राज्ञ प्रकाश ज्ञवालीले जानकारी दिए । यसैगरी संयुक्त कवि गोष्ठी, आर्ट एक्जिविसन कार्यक्रममा समेत टोलीले सहभागीता जनाउनेछ । टोलीमा काठमाडौंबाट ललितकला तर्फका ६ जना प्राज्ञ समेत सहभागी छ्न । आर्ट एक्जिविसनतर्फ उनीहरुको प्रस्तुति रहनेछ ।
नेपाल र बंगलादेशबीचको कुटनितिक सम्बन्ध स्थापना भएको ५० वर्षको पुगेको अवसरमा यो कार्यक्रम आयोजना गरिएको पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले बताए । यस अगाडि सन् २०१३ मा अलिमिया वाङ्मय प्रतिष्ठानको तर्फबाट ढकाल सहितको एक टोली नेपाली राजदुतवासकै निमन्त्रणामा सहभागी बनेको थियो । बंगलादेशको टिमलाई समेत धेरै पटक पोखरामा स्वागत गरिएको कुलपति ढकालले बताए । यस्ता कार्यक्रमले एकअर्का देशको कला संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर मिल्ने उनको भनाई छ । ‘बंगलादेशसँगको सम्बन्ध पहिलेदेखि नै थियो, हामीले बंगलादेशको टिमलाई पोखरामा धेरै पटक स्वागत पनि गरेका छौं, यस्ता कार्यक्रले एक अर्का देशको कला संस्कृतीलाई बुझ्ने अवसर मिल्छ’, ढकालले भने । ढाकामा पुगेको नेपाली टिमलाई आयोजकहरुले विमानस्थलमा स्वागत गरेका थिए । सोमबार बंगलादेश पुगेको टोली शनिबार नेपाल फर्कने टोलीका एक सदस्य राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव समेत रहेका प्राज्ञ जीवन दाहालले जनाए ।





