बागलुङ / गुहेँली यूनिक सञ्चार सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम काठेखोला-२ भीमापोखरामा सम्पन्न गरेको छ । शुक्रबार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा रहेको मुख्य कार्यालयमा सहकारी शिक्षा तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
सहकारीको वास्तविक अबस्थाका बिषयमा शेयर सदस्यहरुलाई जानकारी गराउने, बित्तिय साक्षरता सञ्चालन गर्ने र शेयर सदस्यहरुलाई सहकारीप्रति जिम्मेबार बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको सहकारीका अध्यक्ष खिमबहादुर कार्कीले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहजिकरण गरेका थिए । जिसीले बचत गर्ने बानीको बिकास गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । सहकारीको मेरुदण्ड शेयर सदस्यनै भएको भन्दै जिसीले सहकारी कस्तो बनाउने जिम्मेबारी समेत सदस्यहरुमा निहित हुने बताए ।
कार्यक्रमको उदघाटन गर्दै काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष बिद्यापति शर्माले सहकारी संस्थाहरु शेयर सदस्यका साथी र बिकासका सारथी भएको बताए । वडाध्यक्ष शर्माले उत्पादनमा जोडिन सहकारी र शेयर सदस्यहरुलाई आग्रह गरे ।
कार्यक्रममा सहकारीका सल्लाहकारहरु पत्रकार हरिनारायण गौतम, सहकारी अभियान्त दिपक गौतम र शिक्षक चन्द्रमणि उपाध्याय लगायतले सहकारीको महत्व र शेयर सदस्यको जिम्मेवारीका वारेमा बोलेका थिए । खिमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहकारीका कोषाध्यक्ष गिता हमालले र सञ्चालन सचिव सूर्यबहादुर थापाले गरेका थिए । संस्थाका प्रबन्धक प्रसाद थापाले संस्थाको गतिविधि, आगामी कार्ययोजना र शेयर सदस्यको भूमिकाको वारेमा जानकारी गराएका थिए ।





